नेपाल यूएईलाई हराएर पाँचौँ स्थानमा उक्लियो

भीम सार्की

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, भीम सार्कीले नेपालका लागि सर्वाधिक ७० रन बनाए

यूएईमा आयोजित आईसीसी विश्वकप लीग-२ को त्रिकोणात्मक शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ।

भीम सार्कीले जीवनको उत्कृष्ट इनिङ्स खेलेपछि तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीको बलिङमा खतरामा परिसकेको इनिङ्स उकास्दै नेपालले यूएईविरुद्ध जित हात पारेको हो।

यसअघि नेपालले पपुवा न्यूगिनीलाई दुवै खेलमा पराजित गरेको थियो भने यूएईसँगको एउटा खेलमा हार बेहोर्नुपरेको थियो।

यो परिणामसँगै नेपाल लीग-२ को अङ्कतालिकामा यूएईलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ।

बत्तीस खेलपछि नेपालको ३२ अङ्क पुगेको छ भने यूएईसँग ३१ मात्र छ।

रेड लाइन
रेड लाइन

यो त्रिकोणात्मक शृङ्खलामा यूएई दुवै खेलमा पपुवा न्यूगिनीसँग पराजित भएको थियो।

नेपालले पहिलो ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २२९ रन जोडेको थियो। जवाफमा यूएई १८७ रनमा रोकियो।

कुल ३६ खेलमध्ये २४ मा जित हात पारेको स्कटल्यान्ड ५० अङ्कसहित लीग विजेता बनिसकेको छ।

त्यस्तै ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ।

गत वर्ष नेपालसँग भएका दुईवटा खेलमा यूएईले नेपाललाई हराएको थियो।

रेड लाइन
रेड लाइन

भीम सार्की चम्किए

क्रिकेट

तस्बिर स्रोत, CAN

निकै धरमराएको अवस्थामा रहेको नेपालको इनिङ्सलाई भीम सार्कीले उकासेका हुन्।

नेपालले एक समय ६८ रनमा पाँच विकेट गुमाइसकेको खतरनाक अवस्थामा पुगिसकेको थियो।

यस्तोमा भीम सार्कीले ९९ बलमा सात चौकाको मद्दतमा ७० रन बनाएर नेपालको पारी सम्हाले।

उनको यो पहिलो अर्धशतक र उत्कृष्ट इनिङ्स हो।

सार्कीले 'प्लेअर अफ त म्याच' को उपाधि हात पारे।

उनलाई सन्दीप लामिछानेले महत्वपूर्ण साझेदारी गरेका थिए। यी दुईले छैटौँ विकेटका लागि ५६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

४० बल खेलेका लामिछानेले एक चौकासहित २७ रनको योगदान दिए।

प्रारम्भमा ९ ओभरको बीचमा नेपालले ओपनर ज्ञानेन्द्र मल्ल (११ रन) , आशिफ शेख (६ रन) लाई गुमाइसकेको थियो।

कप्तान रोहित पौडेल (१ रन) र दीपेन्द्र सिंह ऐरी (४ रन)ले सोमवार पनि यूएईविरुद्ध खेल्न सकेनन्।

कुशल मल्लले ३२ बलमा ३२ रन बनाए।

सन्दीप लामिछाने आउट भएपछि आरिफ शेखले नेपाली इनिङ्स उकास्न अर्को महत्वपूर्ण प्रदर्शन गरे।

उनले ५६ बलमा ४३ रन बनाए। त्यस्तै करण केसीले १७ रन बनाए भने कुशल भुर्तेलको स्थानमा आएका प्रतिश जिसीले ११ रन जोडेका थिए।

नेपाल विश्वकप क्वालिफाइअरमा पुग्ने सम्भावना कति?

एक महिनाभित्र खेलिएका दुईवटा त्रिकोणात्मक शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप क्रिकेटको क्वालिफाइअरसम्म पुग्ने सम्भावना जीवितै राखेको छ।

लीगमा शीर्ष तीन स्थानमा रहने टोलीहरूले सोझै क्वालिफाइअरमा प्रवेश पाउँछन्। पहिलो र दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमानले उक्त प्रतियोगिताका लागि आफ्नो स्थान सुरक्षित पारिसकेका छन्।

लीगमा सबै ३६ वटै खेल खेलिसकेको नामिबिया अहिलेसम्म अङ्कतालिकामा तेस्रो र संयुक्त राज्य अमेरिका चौथो स्थानमा छन्। नेपाल र यूएईले अझै चार-चारवटा खेल खेल्न बाँकी छ।

नेपाल तेस्रो स्थानमा पुग्ने सम्भावना कायम छ। त्यसका लागि नेपालले चारवटै खेल जित्नुपर्नेछ। यूएईले चारवटै खेल जित्यो भने उसको १८ खेलबाट ३९ अङ्क हुनेछ। नामिबियाले कुल ३६ खेलमध्ये १९ खेलमा जित हात पारेको थियो। समान अङ्क भए पनि त्यस अवस्थामा एउटा बढी खेल बढी जितेको हुनाले नामिबिया नै तेस्रो हुनेछ।

भारतमा हुने क्रिकेट विश्वकप २०२३ मा १० वटा देशका राष्ट्रिय टोलीहरू सहभागी हुनेछन्। आईसीसीका अनुसार तीमध्ये आठवटा टोली क्रिकेट विश्वकप सुपर लीगबाट छानिनेछन् भने बाँकी दुई टोली क्वालिफाइअरबाट पुग्नेछन्।

क्वालिफाइअरमा लीग-२ का शीर्ष तीन टोली र सुपर लीगको पुछारमा रहेका पाँच टोली सहभागी हुनेछन्।

यही सातादेखि फेरि काठमाण्डूमा अर्को त्रिकोणात्मक शृङ्खला सुरु हुन लागेको छ। कीर्तिपुर मैदानमा हुने खेलहरूको नतिजाले नेपालको ओडीआई मान्यता र क्वालिफाइअरमा प्रवेश पाउने सम्भावनाको छिनोफानो गर्नेछ।

ओडीआई मान्यता पाउन नेपाल पाँच स्थानभित्र पर्नैपर्ने हुन्छ। त्यसका लागि बाँकी चार खेलमध्ये दुई वटामा नेपाल विजयी हुनुपर्नेछ।

बाँकी खेल कहिले?

  • मार्च ९ः नेपाल र पपुवा न्यूगिनी
  • मार्च १०ः यूएई र पपुवा न्यूगिनी
  • मार्च १२ः नेपाल र यूएई
  • मार्च १३ः नेपाल र पपुवा न्यूगिनी
  • मार्च १५ः पपुवा न्यूगिनी र यूएई
  • मार्च १६ः नेपाल र यूएई