जोहानेसबर्गको आवासीय भवनमा आगलागी, कम्तीमा ७० जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा एउटा भवनमा भएको आगलागीमा कम्तीमा ७३ जना मानिसहरूको मृत्यु भएको छ। घटनामा थप ५० जना घाइते भएका छन्।
आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले हताहत हुनेको सङ्ख्या पुष्टि गर्दै भवनमा खोजी र उद्धार कार्य भइरहेको बीबीसीलाई बताए।
पाँच तल्ले उक्त भवनमा आगलागी हुनुको कारण अझैसम्म खुल्न नसकेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति सिरिल रामापोसाले आगलागीको घटनालाई दुखान्त घटना भनेका छन्।
“यो प्रकोपबाट प्रभावित भएका हरेक व्यक्तिहरूप्रति हाम्रो समवेदना छ,” इस्टर्न केप प्रान्तको भ्रमणमा रहेका उनले भनेका छन्।
आपत्कालीन सेवाले बताए अनुसार जोहानेसबर्गको मध्य भागमा रहेको उक्त भवनमा दिउँसो १:३० बजे आगो सल्किएको थियो।
अधिकारीहरूका अनुसार अग्नि नियन्त्रकहरूले भवनमा रहेका केही मानिसहरूलाई उद्धार गरेको बताएका छन्। उनीहरूका अनुसार भवनबाट बाहिर निस्कन नसकेका मानिसहरूको उद्धार चलिरहँदा मृतकको सङ्ख्या पनि बढ्ने क्रममा देखिएको छ।

तस्बिर स्रोत, Getty Images
आपत्कालीन सेवाका अधिकारीहरूले उक्त घरमा थपिएका अस्थायी संरचना र भग्नावशेषको थुप्रोका कारण उद्धार कार्यमा कठिनाइ भएको बताएका छन्।
अफ्रिका टेलिभिजन च्यानलका अनुसार उक्त आगलागीमा परेर मृत्यु भएका मानिसहरूको शव पहिचान गर्न नसकिने गरी जलेको पाइएको छ।
भवनको स्वामित्व नगरको
उक्त भवनमा बस्ने अधिकांश मानिसहरू बसोबासको कागजपत्र नभएका आप्रवासी भएको विवरणहरू आएका छन्।
जोहानेसबर्गको आपत्कालीन सेवाका एक जना प्रवक्ताले प्रयोगविहीन अवस्थामा छाडिएको उक्त भवनमा पछिल्लो समय घरबारविहीन अवस्थामा रहेका मानिसहरू बस्ने गरेको बताएका छन्।
उक्त भवन स्थानीय नगरको रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
भवन एउटा गैर सरकारी संस्थालाई भाडामा दिइएको थियो। तर आगलागीपछि घटनास्थलमा उक्त संस्थाका अधिकारीहरू उपस्थित नभएको बताइएको छ।
अधिकारीहरूले गरिब र जोखिमको अवस्थामा रहेका मानिसहरूलाई माफिया समूहले भवनहरू कब्जा गरेर त्यसमा खचाखच राख्ने गरेको आरोप लगाएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








