साइकलमा संसार घुम्ने पहिलो व्यक्तिको यात्राका रोचक प्रसङ्गहरू

तस्बिर स्रोत, Corbis/Getty Images
जुल भर्नले आफ्नो प्रसिद्ध उपन्यास "अराउन्ड द वर्ल्ड इन एइटी डेज" प्रकाशित गरेको एक दशकपछि एक ब्रिटिश यात्री विश्वभ्रमण गर्ने लक्ष्यसाथ निस्के।
यद्यपि रेल र जहाजबाट यात्रा गर्ने पुस्तकको पात्रभन्दा फरक टमस स्टीभन्सले साइकल प्रयोग गर्ने निर्णय गरे।
उनको यात्रा सन् १८८४ मा सुरु भई दुई वर्षभन्दा लामो समयसम्म चल्यो। घर फर्केपछि उनले "अराउन्ड द वर्ल्ड अन अ साइकल" नामक पुस्तक लेखे।
विश्वव्यापी रूपमा व्यापक ध्यान आकर्षित गरेको यस पुस्तकमा उनले उत्तर अमेरिकी महादेश, युरोप र एशियाभरि आफ्नो यात्रामा देखेका कुराहरूको विस्तृत रूपमा वर्णन गरेका छन्।
पहिलो गन्तव्य- उत्तर अमेरिका
इङ्ग्ल्यान्डमा जन्मेका स्टीभन्स सन् १८७१ मा १७ वर्षका थिए। त्यस उमेरमा उनी अमेरिकामा बस्न थालेका थिए।
खेलाडी नभए पनि साइकल चलाउनमा उनको गहिरो रुचि थियो, जुन उतिबेला कुलीन सोख मानिन्थ्यो।
अमेरिकी लेखक र फिल्म निर्माता रोबर्ट इजन्बर्गका अनुसार स्टीभन्स यति लोकप्रिय हुनुको कारण "आम मानिसका रूपमा उनी एक संयोगवश अगाडि बढिरहने र यसलाई सम्भव बनाउन हरबखत प्रेरित गर्ने व्यक्ति हुनु थियो।"
सुरुमा स्टीभन्सको लक्ष्य उत्तर अमेरिकी महादेश पार गर्नु थियो। अनि उनले पाँच महिनामा सान फ्रान्सिस्कोबाट बोस्टनसम्म साइकल चलाएर त्यसो गरे।
उक्त यात्रापछि एक लोकप्रिय साइक्लिङ म्यागजीनले स्टीभन्सलाई प्रायोजन गर्ने प्रस्ताव राख्यो र उनले विश्वभर आफ्नो यात्रा विस्तार गर्ने निर्णय गरे।
सन् १८८४ को एप्रिलमा उनले शिकागोबाट इङ्ग्ल्यान्डसम्मको यात्रा गरे। युरोप पार गरेपछि उनले टर्की, इरान, भारत, चीन र जापान हुँदै साइकल चलाए।
स्टीभन्सको साइकल आजको भन्दा निकै फरक थियो। यो 'द पेनी फार्दिङ' भनिने भारी मोडल थियो, जसमा अगाडिको पाङ्ग्रा निकै ठूलो र पछाडिको पाङ्ग्रा निकै सानो हुन्थ्यो।
उनले आफ्नो भित्री वस्त्र, बन्दुक, पालका रूपमा पनि प्रयोग गरिने एउटा कपडा र अतिरिक्त टायरजस्ता थोरै मात्र सामान बोकेको विवरणहरूमा उल्लेख गरिएको छ।

तस्बिर स्रोत, Prisma/UIG/Getty Images
इस्तान्बुलको समय
सन् १८८५ को गर्मी याममा स्टीभन्स इस्तान्बुल पुगेर उनले उक्त सहरको ऐतिहासिक क्षेत्र गलाटाको एक होटेलमा रमजानभरि एक महिना बिताए।
इस्तान्बुललाई उनले त्यहाँका मानिस, सडक र फ्याशनको विविधताका आधारमा विश्वको "सबैभन्दा कस्मोपोलिटन सहरहरूमध्ये एक" भनेर वर्णन गरेका छन्।
उनले उक्त सहरका जीवन्त रात्रिदृश्यहरू वर्णन गर्ने क्रममा सडकछेउका कफीहाउसहरू र हातमा बत्ती लिएर हिँडेका मानिसहरूबारे लेखेका थिए।
उनले ट्राम र फेरीहरूमा अलग्गै डिब्बामा महिलाहरूले आफ्नो बुर्का उतारेर धूमपान गर्ने गरेकोबारे पनि लेखे।
स्टीभन्सले उक्त सहर भ्रमण गर्नका लागि एउटा मार्गचित्र पनि निर्माण गरे। यसले उनकै यात्रा कार्यक्रम पछ्यायो :
"इस्तान्बुलमा पथप्रदर्शकसँग गरिने दिउँसोको घमाइलो यात्राले पुरातन वस्तुहरूको सङ्ग्रहालय, आइया सोफिआ मस्जिद, कस्ट्यूम म्यूजीअम, १,००१ स्तम्भहरू, सुल्तान माह्मुटको चिहान, विश्वप्रसिद्ध ग्र्यान्ड बजार, पिजन मस्क, द टावर अफ गलाटा र सुल्तान सुलेमान प्रथमको चिहानलाई समेटेको छ।"
उनका लेखहरूमा सुफी नृत्य र सहरका सम्पन्न परिवारहरूको वासस्थानको बारेमा पनि कुरा गरिएको थियो।
उनको रमजान भ्रमणले अटोमन साम्राज्यको वास्तुकला र मस्जिदका मिनारमा झुन्डिएका उत्सवका बत्तीहरूको प्रशंसा गरेको छ।

तस्बिर स्रोत, Abdullah Freres/Buyenlarge/Getty Images
बाटोमा स्टीभन्स तत्कालीन सुल्तान अब्दुल हमिद द्वितीयको फौजसम्म पुगेका थिए। उनलाई अचेल टर्कीको इतिहासमा सबैभन्दा विभाजनकारी व्यक्तिमध्येमा मानिन्छ।
"सुल्तानको मुहार हेर्ने मेरो उद्देश्य पूरा भयो; तर यो केवल एक क्षणिक झलक हो।"
टर्कीको अग्रणी औद्योगिक क्षेत्रहरूमध्ये एक इज्मिटको खाडीमा उनले "साँझमा सेतो रङले रङ्गिएका गाउँहरूले निकै सुन्दर दृश्य बनाउने" भनेर लेखेका छन्।
मध्य एनाटोलिआ क्षेत्रका सडकमा उनले घुमन्ते कुर्दिश शिविरस्थल देखे। त्यहाँको समुदायले प्रस्तुत गरेको उदारताले उनलाई प्रभावित पार्यो।
आफूलाई स्वागत गर्ने कुर्दिश समुदायका प्रमुखलाई उनले "हुक्का पिउने एक सम्मानित शेख" भनेर वर्णन गरेका छन्।

तस्बिर स्रोत, ullstein bild via Getty Images
उनले आफूलाई खुवाउन खोजिएको खाना र सोधखोजबिनै आफ्ना लागि बनाइएको खाटबारे पनि लेखेका छन्।
स्टीभन्सको विवरणमा एक आर्मीनियाली पादरीले उनको यात्राको लागि बाइबल उपहार दिएको कुरा पनि समावेश छ।
थप पूर्वतर्फको यात्रा
इरानको तेहरानमा स्टीभन्सले शाह, नासेर अल-दीनको पाहुनाका रूपमा केही समय बिताए।
तेहरानको बाहिरी भागमा उनी 'जोरोस्ट्रियन टावर्स अफ साइलन्स' प्रशंसाका लागि रोकिए। सो एक प्राचीन स्थलमा मृतकहरूलाई गिद्धहरूले खानका लागि छोडिन्थ्यो। तिनलाई गाड्दा माटो अपवित्र हुने विश्वास गरिन्थ्यो।
उनले उल्लेख गरेअनुसार जोरोस्टरको ज्वाला केही समयअघि नै निभाइसकिएको थियो र ती 'टावर'हरू प्राचीन धर्मको अवशेषका रूपमा उभिएका थिए। कुनै बेला त्यहाँ अनन्त ज्वालाहरू "दिनरात इन्धनका भरमा" बलिरहेका हुन्थे।

तस्बिर स्रोत, EDUCATION IMAGES/ GETTY IMAGES
इरानपछि स्टीभन्स अफगानिस्तानतिर लागे। यद्यपि उनी उक्त देशमा प्रवेश गर्न सकेनन्।
त्यसैले पानीजहाजबाट क्यास्पियन सागर पार गरेर बाकु पुगे, जुन आज अजरबैजानको राजधानी छ। त्यहाँबाट रेल चढेर आधुनिक जोर्जाको बटूमी गए।
त्यसपछि उनी पानीजहाजबाट भारतीय सहर कोलकाता आइपुगे।
भारतबारे उनले लेखेका लेखहरूमा ताजमहल स्मारकको निकै प्रशंसा गरिएको छ।
यद्यपि उनले त्यहाँको गर्मीको बारेमा गुनासो पनि गरेका छन्। त्यहाँ उनले दृश्यहरू र रङ्गहरू उनको त्यसबेलासम्मको यात्राको सुन्दर पक्ष रहेको उल्लेख गरे। त्यहाँबाट उनी हङकङ र त्यसपछि चीन गए।
उनको यात्राको अन्तिम गन्तव्य जापानको योकोहामा थियो।
त्यहाँ स्टीभन्सले आफूले भेटेका गाउँलेहरूलाई "सुसंस्कृत" र "हर्षित" भनेर वर्णन गरेका छन्। उनले "उनीहरू अन्य कुनै पनि राष्ट्रभन्दा खुसीसाथ बाँच्ने जान्ने मानिसहरूमा पर्छन्" भनी लेखेका छन्।
उनी त्यहाँका बालबालिकाको सिकाइप्रतिको प्रेम देखेर पनि छक्क परे।
यहीँ उनले सन् १८८६ मा आफ्नो यात्रा पूरा गरे। उक्त यात्रा कुल दुई वर्ष आठ महिना चलेको थियो।
आफ्नै गणनाअनुसार उनले २२,००० किलोमिटर साइकल चलाएका थिए र त्यसैले उनी साइकलबाट विश्वभ्रमण पूरा गर्ने पहिलो व्यक्ति बनेका थिए।
उनले पहिले आफ्नो क्रमबद्ध यात्रा टिपोटहरू एक पत्रिकामा प्रकाशित गरे र त्यसपछि सन् १८८७ मा पुस्तकको स्वरूप दिए।
'ओरिएन्टलिजमको प्रभाव' र आलोचना
स्टीभन्सले आफूले भेटेका समुदायहरूको प्रशंसा गरे तापनि त्यस अवधिका चलनचल्तीका धारणा पनि प्रयोग गरेका छन्।
उनले प्रायः आफूले भेटेका मानिसहरूलाई "अर्धसभ्य", "फोहोर" र "अज्ञानी" भनेर वर्णन गरेका पाइन्छन्।
टर्कीको सिभसको भ्रमण गरेपछि उनले लेखेका छन् : "औसत आर्मेनियाली गाउँलेको मस्तिष्कको विशेषता निकै गहिरो, व्यापक अज्ञानता र नैतिक उदासीनता छ।"
स्टीभन्सको टर्की यात्राको अध्ययन गरिरहेका टर्कीका लेखक आयदान सेलिकका अनुसार उनी त्यस बेलाका धेरै यात्रीहरूजस्तै एक "ओरेन्टलिस्ट" थिए, अर्थात् उनी पूर्वीय संस्कृति र मानिसहरूलाई रूढीवादी दृष्टिबाट हेर्ने गर्थे।
यद्यपि, लेखक रोबर्ट इजन्बर्गको विश्वासमा स्टीभन्सको दृष्टिकोण उनको यात्रा अगाडि बढ्दै जाँदा परिवर्तन हुन थालेको थियो : "उनी अवश्य पनि कडा सांस्कृतिक दृष्टिकोणबाट बोलिरहेका छन्," इजन्बर्ग भन्छन्।
"तर जब उनी ताजमहल पुग्छन् र साँच्चै यसको प्रशंसा गर्छन्, तब उनी त्यहाँको वास्तुकला र कलाबाट यति प्रभावित हुन्छन् कि एक पटक पनि उनी यसलाई अरू कुनै कुरासँग तुलना गर्दैनन्। उनी यसबाट यति मोहित हुन्छन्।"

तस्बिर स्रोत, Around the World on a Bicycle
साइकलमा संसार घुम्ने पहिलो व्यक्तिका रूपमा स्टीभन्सका कथाहरू इङ्ग्ल्यान्ड र अमेरिकामा अत्यधिक खोजी गरिएका थिए।
विद्वान्हरूका अनुसार उनका विवरणले त्यस बेला धेरै अमेरिकीहरूले बाँकी संसारलाई हेर्ने तरिकालाई देखाएको थियो।
स्टीभन्सको जीवन युवा अमेरिकी साहसिक यात्री विलिअम साक्ट्लीबन र टमस एलनका लागि प्रेरणा बन्यो। पछि उनीहरूले साइकलबाटै इस्तान्बुल यात्रा गरेका थिए।
सेलिकको विश्वासमा यी सबै कुराभन्दा फरक स्टीभन्सको सबैभन्दा महत्त्वपूर्ण विरासत दुईपाङ्ग्रे यात्राको लोकप्रियतामा उनले दिएको महत्त्वपूर्ण योगदान हो। उनी त्यसलाई एक प्रकारको "साइकल क्रान्ति" भनेर वर्णन गर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








