इजरेली हमलाबीच सोमवारयता लेबननमा नब्बे हजार मानिस विस्थापित: राष्ट्रसङ्घ

लेबनन

तस्बिर स्रोत, Getty Images

संयुक्त राष्ट्रसङ्घले सोमवारयता लेबननमा ९० हजारभन्दा बढी मानिस विस्थपित भएका जनाएको छ।

इजरेली सेनाले दक्षिणी लेबनन र बेक्का क्षेत्रमा "व्यापक" हमलाहरूको नयाँ लहर सुरु गर्ने जनाइरहँदा राष्ट्रसङ्घको तथ्याङ्क सार्वजनिक भएको हो।

लेबननको स्वास्थ्य मन्त्रालयले बुधवारको इजरेली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ।

इरान समर्थित हिज्बुल्लाहले आफूले इजरेली "आक्रमण" रोकिरहेको र प्यालेस्टाइनसँग ऐक्यबद्धता रहेको जनाएको छ। इजरेलले भने हिज्बुल्लाहको खतरा हटाउने उद्देश्य राखिएको जनाएको छ।

गत अक्टोबर ८ तारिखयता इजरेल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरेलमा ६०,००० मानिस विस्थापित भएका छन्।

इजरेलले लेबननमा हिजबुल्लाहविरुद्धको कारबाहीमा सेनाका थप दुई रिजर्भ ब्रिगेड परिचालन गर्न लागिएको जनाएको छ।

इजरेलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताए।

इजरेलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरेलमा जबाफी आक्रमण गरिरहेको छ।

यसअघि बुधवार नै हिजबुल्लाहले तेल अभिवलाई लक्ष्यित गरी प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्रलाई इजरेलले विफल पारिदिएको थियो।

जेरुसेलमबाट बीबीसी सम्वाददाता योलान्ड नेल भन्छिन्, "जस्तालाई तस्तै भन्ने किसिमले जबाफी कारबाहीहरूको आदानप्रदान भइरहेको देख्न सकिन्छ। यसले निकै खतरनाक स्थिति पैदा गर्न सक्छ। ध्यान दिनुपर्ने कुरा के हो भने पछिल्ला तीन दिन एघार महिनादेखिको सङ्घर्षमा सबैभन्दा तीव्र रह्यो, जुन गाजा युद्धको साथसाथै भइरहेको छ र इजरेलले अधिक ध्यानाकर्षित गरेको छ। हिजबुल्लाहले गाजामा युद्धविराम नहुँदासम्म कारबाही जारी राख्ने जनाएको छ।"

विस्थापित मानिस

तस्बिर स्रोत, EPA

इजरेलको निसाना

इजरेली डिफेन्स फोर्सेस आईडीएफले हिजबुल्लाहका ६० गुप्तचर निर्देशनालयलाई निसाना बनाइएको जनाएको छ।

जबुल्लाहबाट पैदा हुन सक्ने खतराबाट पार पाउनु आफ्नो लक्ष्य रहेको इजरेलको भनाइ छ।

लेबनानमा पछिल्ला केही दिनका घटनामा महिला र बालबालिकासहित छ सयभन्दा बढीको ज्यान गएको छ।

घाइतेहरूको सङ्ख्या धेरै हुँदा त्यहाँका अस्पताहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन्।

लेबननको विदेश मन्त्रालयले दक्षिणी लेबननबाट पाँच लाख मानिसहरू घर छाडेर भागेको जनाएको छ।

ब्रिटेनका प्रधानमन्त्रीले लेबननमा रहेका ब्रिटिस नागरिकलाई तुरुन्त लेबनन छाड्न भनेका छन्।

त्यस्तै अमेरिका, क्यानडा, फ्रान्स र जापानसहितका अन्य देशहरूले पनि आआफ्ना नागरिकलाई लेबननबाट निस्कन भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।