बर्खामा पनि आगलागीका घटना बढ्दो

बढ्दो वन डढेलो नियन्त्रणबारे प्राधिकरणका प्रमुख दिनेशप्रसाद भट्टसहितका सरोकारवालाहरू छलफलमा

तस्बिर स्रोत, NDRRNA

    • Author, विनिता दाहाल
    • Role, संवाददाता, बीबीसी न्यूज नेपाली

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वर्षको तुलनामा यसपटक देशमा अत्यधिक वर्षा हुने मनसुनको अवधिमा पनि उल्लेख्य सङ्ख्यामा आगलागीका घटना भएको जनाएको छ।

विज्ञहरूले मनसुनका बेलामा पनि आगलागीका घटनाहरू बढ्ने क्रम देखिइरहँदा भविष्यमा निम्तिने थप जोखिम न्यूनीकरणका लागि अहिलेदेखि नै काम गरिनुपर्ने बताएका छन्।

आगलागीका घटना आउँदा वर्षहरूमा अझै बढ्न सक्ने भन्दै त्यसतर्फ दीर्घकालीन र तत्कालीन कदम चाल्ने विषयमा काम भइरहेको वन मन्त्रालयले जनाएको छ।

प्राधिकरणका अनुसार गत वर्ष जेठ २८ गतेबाट सुरु भएको मनसुनमा साउन ६ गतेसम्मको अवधिमा २५६ वटा आगलागीका घटना भएका थिए।

यो वर्ष भने जेठ १५ गतेबाट सुरु भएको मनसुनमा साउन ६ गतेसम्म ४१८ वटा घटना भएका छन्।

"यसबाट विगतको भन्दा बढेको ट्रेन्ड देखिन्छ। मनसुनका बेला पनि घटना बढ्नु दुःखद हो," प्राधिकरणका प्रवक्ता सुरेश सुनारले भने।

प्राधिकरणको तथ्याङ्क अनुसार सोमवार बिहान १० बजेदेखि मङ्गलवार बिहान १० बजेसम्म २४ घन्टाको तथ्याङ्क हेर्दा देशभरिमा १२ वटा आगलागीका घटना भएका छन्।

विपद् प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो वर्ष जेठ १५ देखि साउन ५ गतेसम्म आगलागीका घटनाबाट ४६७ परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

त्यस्तै यो वर्ष सुरु भएयता वैशाख १ गतेदेखि साउन ४ गतेसम्मको तथ्याङ्क हेर्ने हो भने देशभरि ९६९ वटा आगलागीका घटना हुँदा १४ जनाको मृत्यु भएको प्राधिकरणको वेबसाइटमा उल्लेख छ।

उक्त अवधिमा १४० जना घाइते भएका छन् भने प्रभावित परिवारको सङ्ख्या १०७९ रहेको छ।

आगलागीका प्रमुख कारण के हुन्?

आगलागीको फाइल तस्बिर

तस्बिर स्रोत, Skanda Gautam

वन डढेलोदेखि, भान्छामा खाना पकाउने ग्यास चुहिएर हुने आगलागीसम्मका विभिन्न खालका घटना हुँदा खासगरी मानवीय त्रुटिले नै बढी घटना घट्ने गरेको प्राधिकरणले जनाएको छ।

खाना पकाउने ग्यास चुहिएर र 'विद्युत् सर्ट' भएर हुने प्रकारका आगलागीका घटना मनसुनबाहेकको समयमा पनि हुने गरेका छन्।

तर मनसुनकै बेला आगलागी हुने फरक घटनामा भने तराइ क्षेत्रमा गाईबस्तु रहेको गोठमा लामखुट्टे धपाउनका लागि गुइँठा बालेर धुवाँ पारेर छोड्ने चलन खास कारण हुने गरेको देखिएको अधिकारीहरूले बताएका छन्।

त्यस्तै बर्खामा भिजेका दाउरा सुकाउन राखेका बेला आगलागीका घटना हुने गरेको पनि देखिएको प्राधिकरणका प्रवक्ता सुनारले बताए।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले वन डढेलो नियन्त्रणका लागि प्राधिकरणसँग मिलेर तत्कालीन र दीर्घकालीन रणनीति बनाउने काम भइरहेको बताउँछन्।

करिब १५ वर्षअगाडि बनाएको दीर्घकालीन रणनीति पुनः समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

बर्खामा डढेलोबारे विज्ञ के भन्छन्?

विपद् पूर्व तयारी तथा प्रतिकार्य विज्ञ सृजनबहादुर मल्लले जलवायु परिवर्तनका कारण जसरी मनसुनका बेलामा पनि कतिपय स्थानमा सुख्खाको अवस्था हुने गरेको छ, त्यसबाट बर्खामा पनि वन डढेलोको सम्भावना बढ्दै गएको देखिएको बताए।

"बर्खाको बेलामा पनि वन जङ्गलमा डढेलो हुन्छ र भन्ने प्रश्न रहन्छ? अहिले पछिल्लो समयमा जसरी वन जङ्गल बढेको छ। त्यसलाई डढेलोबाट कसरी जोगाउने भन्ने रणनीति अझै पनि बनिसकेको छैन," उनले भने।

"गत साता मात्रै प्राधिकरणकै नेतृत्वमा वन डढेलोसम्बन्धी एउटा गाइडलाइन पास भएको छ। भनेपछि बल्ल हामी वन डढेलोलाई विपद्‌मा समेटेर त्यसलाई कसरी नियन्त्रण गर्ने र जोखिम न्यूनीकरणबारे अब सोचिरहेको अवस्था छ।"

नेपालमा अहिले नै ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र रहेको भन्दै अबको १० वर्षमा त्यो अझै बढेर जानसक्ने उनले बताए। र, तापक्रम पनि बढ्दै जाँदा अबको एक दशकमा बर्खाका बेला आगलागीका घटना स्वाभाविक रूपमा बढ्न सक्ने उनको अनुमान छ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्ट बर्खाको समयमा पनि पानी नपरेपछि डढेलो लाग्नु वा अन्य आगलागीका घटना हुनु नौलो नभएको बताउँछन्।

"पानी परेको छैन। तापक्रम बढेको छ भने बर्खा भएको हुनाले आगो लाग्न हुँदैन भन्ने त हुँदैन," खासगरी अन्य आगलागीका घटनासँगै बर्खाका बेला डढेलो लाग्ने सम्भावनाबारे उनले भने।

"दुई दिन सुक्खा भएपछि त तापक्रम बढेको अवस्था हो। थोर थोरै परेको पानी सुकिहाल्छ। तुलनात्मक रूपमा अरू वन डढेलाका घटना पनि हुन गएको अवस्था चाहिँ हो। पाँच दिन घाम लाग्यो भने त वन डढेलोको समस्या पनि त हुनसक्ने भयो।"

पानी ठूलो नपरेकै बेला रसुवाको चीनसँगको नाकामा आएको बाढी र बर्खामा पानी नपरेपछि देखिने आगलागी वा वन डढेलोका घटनाले अहिले गरिँदै आएको प्रतिकार्य मात्रैले नपुग्ने उनी स्विकार्छन्।

उनले अहिलेको प्रतिकार्यका कामलाई परिमार्जित गरेर फरक ढङ्गले अघि बढ्नुपर्ने देखिएको बताए।

"अब हामी जति बेला पनि तयार रहिरहनुपर्‍यो। हाम्रा सुरक्षा निकायलाई तयार राखिरहनुपर्ने भयो," उनले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वप्रमुख अनिल पोखरेल दक्षिण एसियाको मनसुनी प्रणाली हेर्दा मनसुनकै बीचमा पनि खडेरी पर्ने गरेको देखिँदा आगलागीको घटना अस्वाभाविक नभएको बताउँछन्।

सहरी बस्ती बढिरहँदा आगलागीका जोखिम भावी दिनमा अझै बढ्ने भएकाले त्यस अनुसार आगलागी हुन नदिन र नियन्त्रणका लागि स्थानीय तहसम्म तालिम दिन र जनचेतना फैलाउन आवश्यक रहेको उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।