अल्जाइमर्स निको पार्न सकिन्छ कि भनेर जाँच्न गरिएको मस्तिष्कको शल्यक्रिया

डा. क्लेयर डारेन्ट युनिभर्सिटी अफ एडिनबराकी अल्जाइमर्ससम्बन्धी एकजना अनुसन्धाता हुन्

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, डा. क्लेयर डारेन्ट युनिभर्सिटी अफ एडिनबराकी अल्जाइमर्ससम्बन्धी एकजना अनुसन्धाता हुन्
    • Author, जेम्स ग्यालहर
    • Role, स्वास्थ्य तथा विज्ञान संवाददाता

के अल्जाइमर्स रोग निको पार्नु असम्भव चुनौती हो वा हामी त्यहाँसम्म पुग्न सक्छौँ?

त्यो थाहा पाउनका लागि मलाई डिमेन्शा अनुसन्धानको निकै परिष्कृत तहमा मस्तिष्क शल्यक्रिया हेर्न आमन्त्रित गरियो।

म ब्रिटेनको एडिनबरा रोयल इन्फर्मरीको शल्यक्रिया कक्षमा छु। चिकित्सासम्बन्धी मशिनहरूबाट निस्केको कोलाहलयुक्त आवाजबीच उक्त कोठामा रहेका एक दर्जनको सङ्ख्यामा मानिसहरू शान्तपूर्वक गहिरो ध्यान दिइरहेका छन्।

बिरामी बेहोस अवस्थामा छन् र अपरेशन टेबलमा छन्।

माथिका ठूला स्क्रीनमा म उनको मस्तिष्कको एमआरआई स्क्यान देखिरहेको छु। ट्यूमरको ठूलो, चम्किलो सेतो वस्तु छुट्याउन असम्भव छ।

क्यान्सर उनको मस्तिष्कभित्र फैलनुअघि कोलोनमा सुरु भएको थियो।

"त्यो मस्तिष्कको सतहमा छैन त्यसैले हामीले कोर्टेक्समा प्वाल पार्नु पर्छ," न्यूरोसर्जरीका प्राध्यापक रहेका पोल ब्रेननले भने। "सक्दो सानो भए पनि ट्युमरसम्म पुग्न पर्याप्त हुने खालको।"

कर्टेक्स मस्तिष्कको बाहिरी तह हो जसमा भाषा, स्मरणशक्ति र विचार को स्थान हो।

मस्तिष्कको भित्री भागहरू नरम हुन्छन्। तर त्यहाँसम्म कोर्टेक्सलाई काट्नु पर्छ।

प्राध्यापक ब्रेननले त्यहाँसम्म पुग्न सर्जिकल ड्रिल प्रयोग गरिने बताउँछन्। खुला मस्तिष्क गुलाफी रङको र रगतले भरिएको हुन्छ। र मुटुको धड्कनसँगै बिस्तारै धड्किरहेको हुन्छ।

मेरो छेउमा एडिनबरा युनिभर्सिटीकी अल्जाइमर्स अनुसन्धानकर्ता डा.क्लेयर डारेन्ट उभिएकी छिन्।

उनी बरफको चिसो पारिएको कृत्रिम सेरेब्रोस्पाइनल फ्लुइडको कन्टेनर समातिरहेकी छिन् जसले मस्तिष्क र मेरुदण्डलाई भिजाउने तरल पदार्थ जसरी काम गर्छ।

धेरैजसो मस्तिष्क शल्यक्रियामा हटाइने कोर्टेक्सको हिस्सा मेडिकल फोहोर हो र यसलाई फ्याँकिन्छ।

तर एडिनबरा संसारभरका केही सीमित केन्द्रहरूमध्ये एक हो जहाँ यसलाई डिमेन्शा अनुसन्धानको लागि अनुमतिसाथ सङ्कलन गरिन्छ।

जब त्यस क्षण आउँछ त्यो निकै छिटो हुन्छ। प्राध्यापक ब्रेननले मेरो औँलाको नङको आकार जत्रो हुने मस्तिष्कको एक भागलाई जोगाइराख्नका लागि जारमा राख्छन्।

अल्जाइमर्स अनुसन्धान

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, मस्तिष्कको कोषको सानो टुक्रा बरफ जति नै चिसो तापक्रममा कृत्रिम सेरेब्रोस्पाइनल फ्लुइडमा हालेर राखिएको छ

त्यसपछि धन्यवाद दिएर हामी लुगा फेर्दै उक्त सहरमा विश्वविद्यालयसम्मको यात्रा गर्दै छौँ।

कारको पछाडि बसेर सोच्दा मलाई कसरी केही मिनेट अघि मस्तिष्कको त्यस हिस्सा एक मानिसको विचारको र उसले सामना गर्ने शल्यक्रियाको डरको एक हिस्सा थियो भन्ने खेलिरह्यो।

"म हरबखत सोचिरहेको छु - हरेक बेला - हामीले बहुमूल्य उपहारका रूपमा जे पाउँदै छौँ त्यो नै सम्भवतः त्यस व्यक्तिको जीवनको सबैभन्दा खराब दिन हो," डा. डारेन्टले मलाई बताइन्।

उनको प्रयोगशाला डिमेन्शा र अन्य रोगहरू बुझ्ने प्रयास गर्न जीवित वयस्क मस्तिष्कको तन्तुमा काम गर्ने केही सीमितमध्ये एक हो।

"यी प्रविधिहरू विकास गरेर हामी धेरै भिन्न, भयानक स्नायु रोगबाट मुक्त संसारमा अगाडि बढ्ने आशा गर्न सक्छौँ," उनी भन्छिन्।

ब्रिटेनमा लगभग दस लाख मानिसहरूमा कुनै न कुनै प्रकारको डिमेन्शा छ जसमा अल्जाइमर्स सबैभन्दा आम रोग हो।

तर के यो कहिल्यै निको हुन सक्छ? त्यो प्रश्न आविष्कारक सर जेम्स डायसनले राखेका थिए जो बक्सिङ डेमा बीबीसी रेडियो फोर को टुडे कार्यक्रमको अतिथि सम्पादक बने।

एउटा भाँडोबाट मस्तिष्कका तन्तुहरू निकालिँदै

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, एउटा भाँडोबाट मस्तिष्कका तन्तुहरू निकालिँदै
एउटा हरियो ए ४ साइजको पृष्ठभूमि छ। त्यसमाथि एउटा गोलो आकारको पेट्री डिश छ। त्यसभित्र रातो र सेतो मस्तिष्कको कोष छ। त्यसलाई झोल पदार्थमा डुबाइएको छ। र छेउमा दुई सुइ पनि छन्।

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, ...त्यसलाई अगर जेलीमा सेट गरिएको छ ता कि त्यो स्थिर रहोस्...
प्रयोगशालामा सेतो कोट लगाएकी एकजना वैज्ञानिक।

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, ... त्यसलाई मान्छेको रौँ भन्दा पनि पातलो टुक्रामा काटिन्छ

डा. डारेन्टको प्रयोगशाला टोलीले अल्जाइमर्सको आधारभूत जीवविज्ञान बुझेर त्यसको जबाफ पत्ता लगाउने प्रयास गरिरहेको छ।

तर अझै पनि महत्त्वपूर्ण कुराहरू अज्ञात छन्। अल्जाइमर्समा सिनेप्स भनिने न्यूरोन्स बीचको सम्बन्ध किन हराउँछ भन्ने कुराको निश्चित व्याख्या छैन।

प्रयोगशालामा मस्तिष्कको तन्तु तयार गर्ने चार वैज्ञानिकहरू टीममा काम गरिरहेका छन्।

उक्त अनुसन्धान फर्मुला १ का ज्याकी स्टीवर्टद्वारा स्थापित रेस अगेन्स्ट डिमेन्शा च्यारिटीद्वारा प्रायोजित रहेकाले निकै उपयुक्त मानिएको छ।

सुरुमा मस्तिष्कको नमूना जेलीमा सेट गरिएको छ। जसपछि यसलाई १० देखि २० वटा मस्तिष्क कोषलाई गहिरो स्लाइसमा काटिन्छ। त्यो र तन्तुलाई जीवित राख्न विशेष इन्क्यूबेटरहरूमा राख्नुअघिको काम हो।

त्यसपछि टोलीले मस्तिष्कका टुक्राहरूलाई एमाइलोइड र टाउ भनिने विषाक्त प्रोटिनहरूमा राख्ने छ।

त्यो अल्जाइमर्स रोग भएका मानिसहरूको मस्तिष्कमा निर्माण हुन्छ। यसले उनीहरूलाई सिनेप्सको विनाश देख्न र यसलाई रोक्ने कुनै तरिका छ कि छैन भनेर हेर्न सघाउँछ

डा. डारेन्टले अहिलेसम्म देखेका सबै कुराले उनलाई अल्जाइमर्स निको पार्नु असम्भव चुनौती नभएको विश्वास दिलाएको छ।

बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहर

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहर

"हामीसँग अहिले भएको प्रमाणमा यो एक रोग हो र विगतका अनुभवहरूका आधारमा यो निको हुन सक्छ भन्ने थाहा छ। सायद एक दिन हामीले अल्जाइमर्स रोग मानव हुनुको स्वाभाविक पक्ष भन्ने प्रमाण फेला पार्ने छौँ। तर अहिले नै म त्यस्तो देख्दिन," रेस अगेन्स्ट डिमेन्शा डायसनका फेलो रहेका डा. डारेन्ट भन्छिन्।

"मैले अल्जाइमर्स रोग अनुसन्धानमा अहिलेजस्तो धेरै आशा यसअघि देखेको थिइनँ। हामीले मेरै जीवनकालमा अर्थपूर्ण परिवर्तन देख्ने छौँ भन्नेमा म साँच्चै आशावादी छु।"

त्यस्ता आशाका झल्को लेकानेमाब र डोनानेमाब भनिने दुई औषधिहरूबाट आए जसले अल्जाइमर्स रोगको गतिलाई सुस्त बनाउँछ।

ती एक वैज्ञानिक उपलब्धि थिए। यद्यपि बिरामीहरूमा त्यसको वास्तविक विश्व स्तरको प्रभाव त्यति छैन। ती दुवै औषधिलाई एनएचएसले आर्थिक रूपमा सघाएको छैन।

तर एडिनबरा विश्वविद्यालयको डिस्कभरी ब्रेन साइन्स सेन्टरका निर्देशक प्राध्यापक तारा स्पायर्स-जोन्सले यी दुई औषधिहरूले अल्जाइमर्स रोगसँग जुझ्नका लागि "वास्तवमै द्वार खोलेको" ठान्छिन्।

एडिनबरा विश्वविद्यालयको डिस्कभरी ब्रेन साइन्स सेन्टरका निर्देशक प्राध्यापक तारा स्पायर्स-जोन्स

तस्बिर स्रोत, James Gallagher

तस्बिरको क्याप्शन, एडिनबरा विश्वविद्यालयको डिस्कभरी ब्रेन साइन्स सेन्टरका निर्देशक प्राध्यापक तारा स्पायर्स-जोन्स

उनले आफ्नो प्रयोगशालामा रहेको विशाल थिएटर पर्दा पछाडिबाट मलाई अभिवादन गर्छिन्। यस पर्दाले प्रकाशलाई रोकिरहेको छ। त्यसले उनलाई अत्यधिक संवेदनशील कन्फोकल माइक्रोस्कोपमा काम गर्न सहज पार्छ जसमा मस्तिष्कको नमूनाहरू उज्यालो पार्न लेजरहरू प्रयोग गरिन्छ।

उनी अल्जाइमर्समा एस्ट्रोसाइट्स भनिने ताराआकारको प्रतिरक्षा कोषहरूको भूमिका अध्ययन गरिरहेकी छिन्।

यो अल्जाइमर्सलाई धेरै दिशाहरूबाट सम्बोधन गर्न आवश्यक पर्ने देखाउने बढ्दो स्वीकृतिको हिस्सा हो।

लेकानेमाब र डोनानेमाब दुवैले एमाइलोइड भनिने विषाक्त टाँसिने प्रोटीनलाई लक्षित गर्छन्। अन्य प्रोटीन लक्षित गर्ने औषधिहरूको क्लिनिकल परीक्षणहरू भइरहेका छन्।

र प्रतिरक्षा प्रणालीको महत्त्व, सूजन, तपाईँको रक्त नलीहरूको स्वास्थ्य र आनुवंशिक र वातावरण कसरी मिश्रित हुन्छन् भन्ने कुराले अल्जाइमर्स बारेमा बुझाइलाई अगाडि बढाइरहेको छ।

प्राध्यापक स्पायर्स-जोन्सका विचारमा तीन मुख्य क्षणहरू हुनेछन्:

  • अल्पकालमा रोगको प्रगतिलाई अर्थपूर्ण रूपमा ढिलो गर्ने वा रोक्ने औषधिहरू
  • डिमेन्शालाई पूर्ण रूपमा रोक्ने विधिहरू
  • र, दीर्घकालमा पहिले नै लक्षणहरू भएकाहरूलाई निको पार्ने तरिका। तर उनी त्यो निकै गाह्रो हुने कुरा स्वीकार्छिन्।

उनको विचारमा हामी "साँच्चिकै जीवन बदल्ने" उपचारबाट ५-१० वर्ष टाढा रहेका छौँ। र त्यसपछि हामी यस रोगलाई चाँडै नै पत्ता लगाउँदै त्यसपछि यसलाई रोकेर "तपाईंको जीवनलाई साँच्चै सामान्य बनाउन" सक्ने त्यस विन्दुमा पुग्नेछौँ।

तर आशाहरू भए तापनि अल्जाइमर्सको उपचार सम्भव छ भनेर प्रमाणित गर्न अनुसन्धान र क्लिनिकल परीक्षणहरू हुने छन्।

"मानव मस्तिष्क असाधारण रूपमा निकै जटिल रहेकाले हामीले वास्तवमै मानिसहरूमा यसलाई हेर्नुपर्छ," प्राध्यापक स्पायर्स-जोन्स भन्छन्।

द टुडे प्रोग्राम सर जेम्स डायसन इडिटलाई लरा कुपरले उत्पादन गरेकी हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।