म्यान्मारको 'स्क्याम माफिया'का ११ जनालाई चीनमा मृत्युदण्ड

तस्बिर स्रोत, CCTV
म्यान्मारबाट विभिन्न खालका ठगीधन्दा सञ्चालन गर्ने एउटा कुख्यात गिरोहका ११ जनालाई चीनमा मृत्युदण्ड दिइएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनको जेजिआङ प्रान्तस्थित अदालतले हत्या गरेको, बन्धक बनाएको, ठगी गरेको र जुवाघर चलाएको अभियोगमा उनीहरूलाई गत सेप्टेम्बर महिनामा दोषी ठहर गर्दै सजाय सुनाएको थियो। उनीहरू सबै मिङ परिवारका सदस्य हुन्।
चीनको सीमानजिकै म्यान्मारमा अवस्थित लाउकाइङ सहरमा केही अन्य गिरोहसहित मिङ परिवारको पनि वर्चस्व थियो। लाउकाइङ कुनै बेला निकै विपन्न र पिछडिएको थियो। उनीहरूको नियन्त्रणमा आएपछि उक्त ठाउँको कायापलट भयो र त्यहाँ जुवाघर तथा वेश्यालयहरू खुले।
सन् २०२३ मा म्यान्मारका अधिकारीहरूले उनीहरूलाई पक्राउ गरेर चीनलाई बुझाएपछि ठगीधन्दा गर्ने मिङ परिवारको साम्राज्य धराशायी भयो। बेइजिङले दबाव दिएपछि म्यान्मारले उक्त कारबाही गरेको थियो।
म्यान्मारबाट सञ्चालित ठगीधन्दामा वर्षौँदेखि हजारौँ चिनियाँ कामदारहरू फसेका छन्। चीनबाट तस्करी गरेर स्क्याम सेन्टरहरूमा ल्याइएका मानिसलाई विदेशमा बस्ने व्यक्तिहरूलाई ठग्ने काममा बलपूर्वक लगाइन्छ।
झन्डै डेढ अर्ब डलरको साम्राज्य
गत वर्ष कार्यक्रम गर्न भनेर थाईल्यान्ड उडेका एक चिनियाँ कलाकारलाई म्यान्मारस्थित स्क्याम सेन्टरमा लगिएको घटनाबारे चिनियाँहरूले इन्टरनेटमा धेरै सोधखोज गरे।
त्यस्ता घटनाहरूले बेइजिङ चिढियो। चीनले पहिलादेखि नै म्यान्मारका सैन्य शासकहरूसँग स्क्याम माफिया नियन्त्रण गर्न माग गर्दै आएको थिय।
चीनको उच्च अदालतका अनुसार मिङ माफियाले सञ्चालन गरेका ठगीधन्दा र जुवाघरहरूबाट सन् २०१५ देखि २०२३ सम्म १० अर्ब यूआनभन्दा बढी (झन्डै १.४ अर्ब अमेरिकी डलर) कमाइ भएको थियो।
सेप्टेम्बरमा दोषी ठहर भएका अभियुक्तहरूले गरेको पुनरावेदन उक्त अदालतले अस्वीकार गरिदिएको थियो।
अदालतका अनुसार उनीहरूले गरेका अपराधबाट १४ चिनियाँ नागरिकको मृत्यु भएको र अरू कैयौँ जना घाइते भएका थिए।
ठगीधन्दामा लगाइएको थियो हजारौँ चिनियाँ नागरिकलाई

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
सन् २००० को दशकको सुरुतिर सेनाले लाउकाइङमा प्रभुत्व जमाएर बसेका एक लडाकुलाई खेदेपछि त्यहाँ मिङ र केही अरू परिवारको हालीमुहाली बढ्यो।
अपराधको संसारमा रमाउने ती परिवारहरूले केही वर्षयता साइबरसंसारमा आपराधिक गतिविधि बढाए। विशाल स्क्याम सेन्टरहरूभित्र हिंसात्मक गतिविधि पनि हुने गरेको त्यहाँबाट उम्किएका कामदारहरूले बयानका क्रममा बताएका छन्।
तर सन् २०२३ मा म्यान्मारको सैन्य सरकारले दमन गर्न थालेपछि ती आपराधिक गिरोहहरूमाथि सङ्कट आइपर्न थाल्यो।
म्यान्मारले माफियामा संलग्न दर्जनौँ मानिसलाई पक्राउ गरेर चीनलाई हस्तान्तरण गर्यो। तीमध्ये चीनले ११ जनालाई मृत्युदण्डको फैसला सुनायो भने २० जनाभन्दा बढीले पाँच वर्षदेखि जन्मकैदसम्मको सजाय पाएका छन्।
म्यान्मारमा सन् २०२३ यता चिनियाँ र म्यान्मारका अधिकारीहरूले साइबरठगीमा संलग्न भएका ५७,००० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








