भारतीय प्रधानमन्त्री मोदीबारे पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिपछि दुई देशबीच ‘वाकयुद्ध’

तस्बिर स्रोत, Reuters
भारत र पाकिस्तानबीच एक अर्काविरुद्ध अभिव्यक्ति दिने सिलसिला चलिरहेको छ।
पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दिएको एउटा अभिव्यक्तिपछि उक्त सिलसिला सुरु भएको हो।
भुट्टोले शुक्रवार भनेका थिए, “ओसमा बिन लादेन मरिसके तर ‘बुचर अफ गुजरात’ अर्थात् ‘गुजरातका नरसंहारकर्ता’ अझै जिउँदै छन्। उनी भारतका प्रधानमन्त्री छन्।”
“जबसम्म उनी प्रधानमन्त्री बनेका थिएनन्, उनलाई अमेरिका जानका लागि प्रतिबन्ध लागेको थियो।”
भुट्टोको उक्त अभिव्यक्तिलाई लिएर भारतमा व्यापक विरोध भइरहेको छ।
दुवै देशका विदेश मन्त्रालयले के भने?
पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता अरविन्द बागचीले एउटा वक्तव्य जारी गर्दै त्यसप्रति विरोध जनाएका थिए।
उनले उक्त वक्तव्यमा भनेका छन्, “पाकिस्तानका हिसाबले पनि यो अभिव्यक्ति निकै निम्नस्तरको छ। पाकिस्तानमा अल्पसङ्ख्यकप्रति गरिने व्यवहारमा खासै परिवर्तन आएको छैन। उसलाई भारतमाथि आरोप लगाउने कुनै हक छैन।”
''आतङ्कवादका लागि वित्तीय सहायता गर्ने, आश्रय दिने तथा उनीहरूलाई प्रायोजन गर्ने कार्यमा पाकिस्तानको भूमिका सधैँ चर्चामा रहँदै आएको छ। पाकिस्तानी विदेशमन्त्रीको असभ्य अभिव्यक्ति उक्त देशले आतङ्कवादलाई एउटा प्रोक्सीका रूपमा प्रयोग गर्ने कार्यको विफलताको परिणाम हो।''
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले पनि त्यसको प्रतिउत्तर दिएका छन्।
उनले भारतले आफ्नो वक्तव्यमा सन् २००२ को गुजरात दङ्गाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन्।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “आफ्नो वक्तव्यमा भारत सरकारले २००२ को गुजरात नरसंहारको वास्तविकतालाई छलकपट गरेर लुकाउने कोसिस गरेको छ। यो नरसंहार, बलात्कार र लूटको घृणित कथा हो। सत्य के हो भने गुजरात नरसंहारका नाइकेलाई सजाय भएन र अहिले उनी भारतको प्रमुख पदमा छन्।”
उनले कुनै पनि शब्द-आडम्बरले भारतमा भइरहेको “भगवा आतङ्कवाद”का अपराधलाई लुकाउन नसक्ने बताएका छन्।
उनले भारतलाई “दक्षिण एशियामा आतङ्कवादका लागि लगानी गर्ने” राष्ट्र भएको आरोप पनि लगाएका छन्।

तस्बिर स्रोत, Reuters
भाजपाको विरोध
पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिलाई लिएर भारतको सत्ताधारी भारतीय जनता पार्टी भाजपाले देशभरि प्रदर्शन गर्ने जनाएको छ।
उसले सबै राज्यका मुख्य राजधानीमा प्रदर्शन हुने जनाएको हो।
विरोध प्रदर्शनका क्रममा भाजपाले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला जलाउने जनाएको छ।
भाजपाले पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्ति अपमानजनक र कायरतापूर्ण भएको जनाएको छ।
भारतकी विदेश राज्यमन्त्री मीनाक्षी लेखीले पनि भुट्टोको अभिव्यक्तिको प्रतिउत्तर दिँदै उनलाई “बलुचिस्तान, कश्मीर र पञ्जाबका हत्यारा” भनेकी छन्।








