कृत्रिम 'मानव डीएनए' निर्माण गर्ने विवादास्पद परियोजना आरम्भ

वैज्ञानिक अनुसन्धान

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, मानव डीएनए पढ्न सक्ने यी मशीनहरू अब चाँडै तिनको निर्माण गर्न प्रयोग हुन सक्छन्
    • Author, पल्लव घोष
    • Role, विज्ञान संवाददाता
    • Author, ग्वीन्डाभ ह्युज
    • Role, विज्ञान भिडिओग्राफर

मानव शरीरको मूल तत्त्व मानिने डीएनएलाई सुरुवाती विन्दुबाटै निर्माण गर्ने विश्वकै सबैभन्दा पहिलो ठानिएको एक विवादास्पद परियोजना आरम्भ भएको छ।

यस किसिमको अनुसन्धान गर्न हालसम्म वैज्ञानिकहरू हच्कन्थे किनकि यसबाट माग/चाहनाअनुसारका शिशुको जन्म गराउन सकिने वा भावी सन्ततिका निम्ति नसोचिएका परिवर्तन निम्तने त्रास रहेको थियो।

तर अहिले आएर विश्वकै सबभन्दा विशाल मेडिकल च्यारिटी संस्था वेलकम ट्रस्टले यस्तो काम आरम्भ गर्न १ करोड पाउन्ड उपलब्ध गराएको छ।

नयाँ अनुसन्धानको उद्देश्य के हो?

यो अनुसन्धानले निको पार्न नसकिने कैयन् रोगको उपचारको उपाय चाँडै हासिल हुने लगायतका हानिभन्दा धेरै फाइदा गर्ने सम्भावना रहेको ट्रस्टले जनाएको छ।

अनुसन्धानमा सामेल केम्ब्रिजको एमआरसी लेबोरेटरी अफ मलिक्युलर बायोलोजीका डा जुलिअन सेलले बीबीसी न्यूजलाई उक्त परियोजनालाई 'जीवविज्ञानको ठूलो फड्को' भनेका छन्।

"सम्भावनाहरू असीमित छन्। उमेर ढल्कँदै गएका मानिसहरूको जीवन सुधार्ने थेरपीबारे हामीले हेरिरहेका छौँ जसले वृद्धावस्थालाई स्वस्थ अनि थोरै रोग लाग्ने प्रकृतिको बनाउन सकिनेछ," उनले भने।

"रोग नलाग्ने कोषहरू निर्माण गरी क्षति पुगेका अङ्गहरूमा तिनलाई पुनर्स्थापित गर्ने सम्भावनालाई हामीले यो अनुसन्धानमा हेरिरहेका छौँ - उदाहरणका लागि कलेजो वा मुटु वा रोगप्रतिरोधी प्रणाली।"

चिन्ता कस्तो?

तर आलोचकहरू यसले इमान नभएका अनुसन्धानकर्ताहरूलाई कृत्रिम रूपमा परिमार्जित वा सुदृढ पारिएका मानवको सिर्जना गर्न बाटो खोलिदिने चिन्ता गर्छन्।

'बियोन्ड जीएम' नामक अभियान समूहकी निर्देशक डा प्याट थोमस भन्छिन्, "सबै वैज्ञानिकहरू असल कार्यका लागि हुन्छन् भन्ने हामी सोच्न चाहन्छौँ तर विज्ञानलाई तोडमोड गरेर हानि पुर्‍याउन वा युद्धकार्यका लागि पनि प्रयोग गर्न सकिन्छ।"

मानव डीएनएको मलिक्युलहरूको नक्साङ्कन गरेको ह्युमन जीनोम प्रोजेक्ट सुरु भएको २५औँ वर्ष पुगेको अवसरमा पछिल्लो परियोजना सम्बन्धि विवरण बीबीसी न्यूजलाई दिइएको हो।

अघिल्लो अनुसन्धानलाई पनि वेलकम ट्रस्टले नै आर्थिक सहयोग गरेको थियो।

चामत्कारिक सम्भावना

हाम्रा शरीरका प्रत्येक कोषमा डीएनए नामक अणु हुन्छ जसले आवश्यक आनुवंशिक जानकारी बोकेको हुन्छ।

ए, जी, सी र टी भनिने जम्मा चार थरी साना ब्लकहरूबाट डीएनए निर्माण भएको हुन्छ। आश्चर्य के छ भने ती चार तत्त्वको भिन्न भिन्न सम्मिश्रणमा भौतिक रूपमा मानव शरीरलाई आवश्यक सम्पूर्ण आनुवंशिक जानकारी रहन्छ।

ह्युमन जीनोम प्रोजेक्टले वैज्ञानिकहरूलाई सबै मानव वंशाणु, 'जीन' लाई 'बारकोड' सरह पढ्न सक्षम बनायो।

सिन्थेटिक ह्यूमन जीनोम प्रोजेक्ट नाम दिइएको पछिल्लो अनुसन्धानले चाहिँ यो विधामा अर्को ठूलो फड्को मार्न सघाउने छ – यसले अनुसन्धानकर्ताहरूलाई डीएनएको अणुको स्तरमा गएर पढ्न मात्र होइन कि तिनका टुक्राहरू निर्माण गर्न पनि मद्दत गर्न सक्छ।

सायद भविष्यमा कुनै दिन त्यस्तो अणुको टुक्रामात्र नभइ पूर्ण अणु नै निर्माण गर्न सघाउने छ।

डीएनएको चित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अनुसन्धानको उद्देश्य सुरुवाती विन्दुबाटै मानव डीएनएको निर्माण गर्नु रहेको छ

वैज्ञानिकहरूको पहिलो उद्देश्य मानव डीएनएको ठूलोभन्दा ठूलो ब्लक निर्माण गर्ने उपाय विकास गर्नु हो ताकि तिनले एउटा विन्दुमा पुगेर कृत्रिम मानव क्रोमोजोम नै बनाउन सकून्। यिनमा मानव शरीरको विकास, अनि मर्मतसम्भारको निर्देश गर्ने जीनहरू हुन्छन्।

यिनलाई त्यसपछि थप अध्ययन र अनुसन्धान गरेर डीएनए तथा जीनले हाम्रा शरीरलाई कसरी सञ्चालन गर्छन् भन्ने थप जान्न सकिन्छ।

यी जीनहरूमा कुनै खराबी भएकै कारण कैयन् किसिमका रोगहरू लाग्छन्, त्यसैले यो अनुसन्धानले तिनको उपचार सुधार्न सक्ने वेलकम स्याङ्गर इन्स्टिच्युटका निर्देशक प्राध्यापक म्याथ्यु हर्ल्सले भने। सोही इन्स्टिच्युटले ह्युमन जीनोमको सबभन्दा धेरै सिक्वेन्सीङ् गरेको थियो।

"सुरुवाती विन्दुबाटै डिएनएको निर्माण गर्दा त्यसले हामीलाई डिएनएले वास्तवमै कसरी काम गर्छ भन्नेबारे परीक्षण गर्न सघाउँछ र हाम्रा नयाँ सिद्धान्तको पनि परीक्षण गर्न सकिन्छ। जबकी अहिले चाहिँ हामीले भइराखेको डिएनएमा थोरै फेरबदल गरेर मात्र त्यस्ता परीक्षण गर्ने गरेका छौँ।"

कृत्रिम जीवन निर्माण गर्ने प्रयास होला?

अहिलेका निम्ति यो परियोजना टेस्ट ट्युब तथा डिशेजहरूमा मात्र सीमित हुने बताइएको छ।

यसमा कृत्रिम जीवन निर्माण गर्ने कुनै प्रयास नहुने भनिएको छ।

तर यो प्रविधि विकास भए त्यसले वैज्ञानिकहरूलाई मानव शरीर प्रणालीमाथि अभूतपूर्व नियन्त्रण प्रदान गर्ने छ।

मेडिकल क्षेत्रमा लाभ हासिल गर्ने मूल उद्देश्य भएपनि यस अनुसन्धानले विकास गर्ने प्रविधिलाई कुनै इमान नभएका वैज्ञानिकले दुरुपयोग गर्ने सम्भावना छेकिँदैन।

उदाहरणका लागि त्यस्ता वैज्ञानिकले जीवास्त्र, परिमार्जित मानव वा मानव डिएनए राखिएका कुनै प्राणी निर्माणको प्रयास गर्न सक्ने बताउँछन् एडिनबरा युनिभर्सिटीका प्रतिष्ठित आनुवंशिक वैज्ञानिक प्राध्यापक बील अर्नशा। उनले विगतमा कृत्रिम मानव क्रोमोजोम निर्माणको विधि बनाएका थिए।

"बोतलबाट जिनी उम्किएको छ," उनले बीबीसी न्यूजलाई भने। "हामीले विभिन्न निषेधहरू लगाउन त सक्छौँ तर यदि उचित उपकरणहरूमा पहुँच भएको कुनै संस्थाले कृत्रिम (तत्त्व) निर्माण गर्ने विचार गर्‍यो भने मलाई लाग्दैन हामीले तिनलाई रोक्न सक्नेछौँ।"

वैज्ञानिक अनुसन्धान

तस्बिर स्रोत, BBC News

तस्बिरको क्याप्शन, पछिल्लो अनुसन्धानले विकास गर्ने प्रविधिको दुरुपयोग हुने चिन्ता पनि गरिएको छ

'बियोन्ड जीएम' संस्थाकी डा प्याट थोमसको चिन्ता चाहिँ कसरी यस्ता अनुसन्धानबाट आउन सक्ने उपचारका नयाँ प्रविधिलाई स्वास्थ्योपचारमा सामेल ठूल्ठूला कम्पनीहरूले व्यावसायीकरण गर्लान् भन्नेमा छ।

"यदि हामीले कृत्रिम अङ्ग वा कृत्रिम मानिसनै निर्माण गर्न सक्यौँ भने तिनको स्वामित्व कसमा निहित होला, अनि यी निर्माणबाट प्राप्ट डेटा कसको हुन्छ?"

प्रविधिको सम्भावित् दुरुपयोगका माझ किन उसले यसमा लगानी गर्ने निर्णय गर्‍यो भन्ने स्वाभाविक प्रश्न वेलकम ट्रस्टका सामु तेर्सिन्छ। यो लगानीको निर्णय गरेका डा टम कलिन्स हलुका ढङ्गले यो निर्णय नगरिएको बताउँछन्।

"हामीले आफैँलाई प्रश्न गर्‍यौँ। केही नगरी बस्नुको मूल्य चाहिँ कति होला भनेर," उनले बीबीसी न्यूजलाई भने।

"कुनै दिन यो प्रविधि अवश्य विकसित हुने नै छ। त्यसैले अहिले यो निर्णय गरेर हामीले कम्तीमा यसलाई जिम्मेवार ढङ्गले गर्न तथा नैतिक प्रश्नहरूलाई सकेसम्म अगाडि नै सम्बोधन गर्ने कोसिस गरेका हौँ।"

यस परियोजनाको वैज्ञानिक विकासका साथसाथै एउटा विशिष्ट सामाजिक विज्ञानको कार्यक्रम पनि गरिने र त्यसलाई युनिभर्सिटी अफ केन्टकी समाजशास्त्रकी प्राध्यापक जोइ जाङ्ले अगुवाइ गर्ने बताइएको छ।

"यो प्रविधिलाई कसरी हेरिएको छ भनेर अनि तिनलाई कसरी तिनको निम्ति फाइदाजनक बनाउने तथा तिनको चिन्ता के छ भनेर हामीले विज्ञहरू, समाजशास्त्रीहरू तथा खासगरी आमजनमानसको दृष्टिकोण लिन चाहन्छौँ," उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।