प्रतिरोध प्रणालीसम्बन्धी अनुसन्धान गर्ने तीन जनालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

तस्बिर स्रोत, Reuters
नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने गर्ने तीन वैज्ञानिकहरूलाई दिने घोषणा गरेको छ।
शरीरको प्रतिरोध प्रणालीमा 'रेग्यलेटरी टी-सेल' भनिने विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुने तथ्य पत्ता लगाएकाले मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुचीलाई सन् २०२५ को पुरस्कार दिने निर्णय भएको सो समितिले सोमवार जनाएको छ।
उनीहरूको कार्यबाट अनुसन्धानका लागि नयाँ क्षेत्रको ढोका खुलेको मानिन्छ। नोबेल समितिका अनुसार उनीहरूले उजागर गरेका तथ्यहरूले अहिले परीक्षण हुँदै गरेका विभिन्न चिकित्सकीय उपचारविधिलाई सुदृढ बनाउन सक्छन्।
यसबाट अटोइम्यून रोगहरूको उपचार गर्न सकिने, क्यान्सरको उपचारलाई अझ प्रभावकारी बनाउन सकिने र स्टेम सेल प्रत्यारोपण गर्दा उत्पन्न हुन सक्ने गम्भीर जटिलतालाई रोकथाम गर्न सकिने ठानिएको छ।
ब्रन्को र र्याम्स्डेल संयुक्त राज्य अमेरिकाका हुन् भने साकागुची जापानका हुन्।
विजेताले संयुक्त रूपमा १.१ करोड स्वीडिश क्रोनर (८.७० लाख पाउन्ड) नगद पुरस्कार र पदक पाउने छन्।
अहिलेसम्म ११६ पटक चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ।
प्रत्येक वर्ष भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी छ विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ।
नोबेल पुरस्कार समितिका अनुसार विगत १२ महिनामा "मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका" व्यक्तिलाई ती पुरस्कारबाट सम्मानित गरिन्छ।
स्वीडिश व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेका थिए। उनले आफ्नो अधिकांश सम्पत्ति पुरस्कार दिने उद्देश्यले कोष स्थापना गरी त्यसमा राखेका थिए।
सन् १९६८ मा स्वीडनको केन्द्रीय ब्याङ्कले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको थियो।
नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको थियो।
यसअघि कसले पाएका थिए

तस्बिर स्रोत, Getty Images
- सन् २०२४ - अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई 'माइक्रोआरएनए' (microRNA) को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिका पत्ता लगाएकाले
- २०२३ - हङ्गेरीमा जन्मिएकी अमेरिकी वैज्ञानिक काटालिन कारिको र संयुक्त राज्य अमेरिकाका ड्रू भाइस्मान। कोभिड-१९ विरुद्ध एमआरएनए खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गरेकाले
- २०२२ - स्वीडनका वैज्ञानिक स्वान्टे पाबो। मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाएका थिए। पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानवनिकट पूर्वज प्रजाति नीयान्डर्टालको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले
- २०२१ - डेभिड जुलिअस र आर्डम पाटपूटिअन। शरीरले स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियासँग सम्बन्धित अनुसन्धानका लागि
- २०२०- ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस। हेपाटाइटिस सी भाइरस पत्ता लगाएकाले
- २०१९ - ब्रिटिश वैज्ञानिक पिटर र्याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा। कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
- २०१८ - जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
- २०१७ - जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ। शरीरले कसरी 'सर्कीडीअन रिदम' अर्थात् 'जैविक घडी' कायम राख्छ भन्ने अनुसन्धानका लागि
- २०१६ - योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
- २०१५ - विलियम सी क्याम्प्बेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि
- २०१४: जन ओ'कीफ, मे-ब्रिट मोजर र एड्वर्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
- २०१३ - जेम्स रथ्म्यान, र्यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
- २०१२: जोन गर्डन र शिन्या यामानाका। कोषलाई 'स्टेम सेल' बनाउन सफल भएकोमा
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








