यो सरकार पाँच वर्ष चल्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकार पाँच वर्ष चल्ने र निर्वाचन गराउने बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर बिहीवार स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा सम्वाददाताहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन्।
केही साताअघि भारत भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्ति बाँडफाँटमा सहमति भएको भनी दिएको अभिव्यक्तिको जवाफ भएको आभास हुन्थ्यो।
पछिल्लो समय तत्कालीन एमाले पक्षबाटै सरकारको नेतृत्वमा आलोपालोबारे कुरा उठाइएपछि ओली नेतृत्वको सरकारको भविष्यबारे चर्चा चुलिएको छ।
जवाफ
प्रधानमन्त्री ओलीले प्रचण्डको नाम नै लिएर त केही भनेनन् तर पार्टीभित्रबाटै सरकार कमजोर बन्दै गइरहेको भन्ने टिप्पणीको पृष्ठभूमिमा उनले दिएको जवाफ प्रचण्डले हालै भारत भ्रमणका क्रममा व्यक्त गरेको अभिव्यक्तिको जवाफ जस्तो लाग्दथ्यो।
कतिपयले चुनावी तालमेल र पार्टी एकतादेखि नै शङ्का व्यक्त गर्ने गरेका र पछि उनीहरू नै गतल प्रमाणित भएका उनको दाबी थियो।
"यो सरकार पाँच वर्ष चल्छ। पाँच वर्षमा चुनाव गराउँछ र अझ बलियो भएर आउँछ," उनले भने।

"एउटा कुनै हावा चल्यो र पात हावामा बग्यो भने त्यसका पछाडि कुद्ने राजनीति कुनै विषय, दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका समग्र यथार्थ समस्या सम्झिने राजनीति होइन।"
'सहमति'
आफ्नै पार्टीको सरकारको आलोचना गरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका एक केन्द्रीय सदस्यले समेत 'सहमतिअनुसार ओली नेतृत्वको सरकारको आयु अब दुई वर्ष बाँकी रहेको' टिप्पणी सामाजिक सञ्जालमा गरेपछि शक्ति बाँडफाँटको विषय थप चर्चामा आएको हो।
आफ्नो दायाँबायाँ उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङलाई राखेका ओलीलाई पत्रकारहरूले सुरुदेखि नै वरिष्ठ नेता नेपालको टिप्पणीबारे जिज्ञासा राखेका थिए।
प्रधानमन्त्री ओलीले नेता नेपालसँग पुरानो सम्बन्ध रहेको बताउँदै आफ्नै शैलीमै उत्तर दिएका थिए।
"मानिस मानिसको बीचमा कहिलेकाहीँ के कुरामा चित्त बुझेको हुँदैन। अनि कवि मनले, कवितात्मक ढङ्गले, लयात्मक ढङ्गले केही कुरा भनिहालियो भने त्यसैलाई समातेर कुद्नुपर्ने केही छैन।"
"मैले त सबै कुरा सुनेको छैन, तर अलिकति कवितात्मक ढङ्गले एउटा पुरानो गीत सम्झिनु भो भन्ने कुरा…। बोल्दै जाँदा त्यस्तो हुन पनि सक्छ," उनले नेता नेपालले संसद्मा गरेको टिप्पणीबारे भने।
निर्मला पन्तको हत्याको घटना लगायतका राखिएको जिज्ञासामा त्यसबारे छानबिन भइरहेको होला भन्दै प्रधानमन्त्रीले पछि कुनै बेला कुरा गर्ने भनेर कुरा टुङ्ग्याएका थिए।
बलात्कारपछि भए उक्त हत्या प्रकरणका कारण केही साता सरकारले पार्टीभित्र र बाहिरबाट समेत चर्को आलोचना बेहोरिरहेको छ।
त्यस विषयलाई लिएर सत्तारूढ नेकपाका विद्यार्थी सङ्गठनका नेताहरूले आज गृहमन्त्रीलाई भेटेर प्रहरी महानिरीक्षकलाई पदमुक्त गर्न मागसमेत गरेका छन्।









