इपीजी बैठक: ‘छलफलको दायरा फराकिलो’

प्रबुद्ध व्यक्ति समूह (इपीजी) भनिने नेपाल र भारतका अधिकारी सामेल उच्चस्तरीय संयुक्त समूहको बैठकमा सन् १९५० को सन्धिलाई पुनर्लेखन गर्ने या परिमार्जन मात्रै गर्ने भन्ने विषय थप छलफलपछि टुंगो लाग्ने नेपाली पक्षका संयोजकले बताएका छन्।
काठमाण्डूमा बिहिबार सम्पन्न इपीजीको तेस्रो बैठकमा पारवाहन र जलस्रोत सँग सम्वन्धित सन्धि सम्झौताका विषयमा समेत छलफल शुरु भएको जनाइएको छ।
विगतमा सतही रुपमा छलफल हुने गरेका टिपणीका माझ इपीजीको तेस्रो बैठकमा भने १९५० को सन्धिमा रहेका समस्याका बारेमा बुँदागत छलफल भएको नेपाल पक्षका संयोजक भेषबहादुर थापाले बताए।
"के के गर्ने भन्ने बारेमा दायरा फराकिलो बनाएर छलफल गरेका छौं। कुन कुरामा कहाँ पुग्ने के गर्ने भन्ने कुरामा चाहिँ प्रक्रियाले आफै गति लिन्छ।"
'सकारात्मक'
बुँदागत प्रस्तावमा सन्धिमा उल्लेखित विषयको परिवर्तन गर्नु पर्ने कारण समेत उल्लेख गरेरै छलफल भएको बताइएको छ।
सन्धि सम्झौता देखि सीमामा देखिएका विवाद सम्मका नेपाली पक्षबाट उठाउनु पर्ने विषय कुनै बाँकी नरहेको र छलफल सकारात्मक भएको संयोजक थापाले भनाइ छ।
बैठकमा छलफल भएका बुँदाका बारेमा सहभागिहरुले जानकारी दिन अस्विकार गरे।
आगामी बैठकहरुले यस पटक छलफल भएका विषयलाई अन्तिम रुप दिने बताइएको छ।
इपीजीको अर्को बैठक आउने मे महिनाको अन्तिम साता भारतको देहरादूनमा बस्ने सहमति पनि बताइएको छ।








