प्रहरीले अमेरिकाबाट कुकुर ल्याउँदै

- Author, फणीन्द्र दाहाल
- Role, संवाददाता, बीबीसी नेपाली सेवा
आफ्नो अपराध अनुसन्धान क्षमतालाई थप सुदृढ बनाउन नेपाल प्रहरीले संयुक्त राज्य अमेरिकाबाट तीक्ष्ण सुँघ्ने क्षमता भएका कुकुरहरु ल्याउन लागेको अधिकारीहरुले बताएका छन्।
नेपाल प्रहरी कुकुर तालिम स्कुलले ‘ब्लडहाउन्ड’ र ‘बेल्जियन सेफर्ड’ प्रजातिका ६ वटा कुकुरहरु ल्याउने प्रकिया अघि बढाइएको जानकारी दिएको छ।
हाल नेपाल प्रहरीसँग अपराध अनुसन्धान लगायत अन्य सुरक्षा गतिविधिमा मद्दत गर्न ७१ वटा तालिम प्राप्त कुकुरहरु रहेका छन्।
नयाँ प्रजातिको कुकुरको आगमनसँगै प्रहरीको अपराध अनुसन्धान क्षमतामा वृद्धि हुने प्रहरी अधिकारीहरुले अपेक्षा गरेका छन्।
खरिद
प्रहरीका कुकुरलाई रेखदेख गर्ने र तालिम दिने निकायकी प्रमुख रहेकी प्रहरी उपरीक्षक देउती गुरुङ्गका अनुसार अमेरिकी सरकारले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा कुकुरको प्रयोग सम्बन्धी तालिम सहित तीन वटा ब्लडहाउन्ड प्रजातिका कुकुर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

उनी भन्छिन्, “अहिले हामीले प्रयोग गर्दै आएको जर्मन सेफर्ड प्रजातिका कुकुरहरुले २४ घण्टासम्मको पुरानो गन्ध लिन्छ भने ब्लडहाउन्डले चाहिँ ९६ घण्टासम्मको पुरानो गन्ध पनि लिएर अपराधीहरु पत्ता लगाउने काम गर्छ।”
ब्लडहाउन्ड अमेरिका लगायतका विकसित देशहरुमा अपराध अनुसन्धानमा प्रयोग गर्ने गरिएको एकदमै चनाखो प्रजातीको कुकुर भएको गुरुङ् बताउँछिन्।
यसबाहेक ‘बेल्जियन सेफर्ड’ भनिने अर्को प्रजातिको कुकुर खरिदका लागि केन्द्रिय अनुसन्धान ब्युरोले प्रक्रिया अघि बढाएको छ।
युरोप वा अमेरिकाबाटै खरिद गर्नुपर्ने उक्त प्रजातिको कुकुर खरिद गरी स्वास्थ्य जाँच लगायतका प्रकिया पूरा गरी त्यसलाई नेपालसम्म ल्याउनका लागि करिब १० लाख रुपियाँसम्म खर्च हुनसक्ने ठानिएको छ।
उनका अनुसार उक्त प्राजातिको एउटा कुकुरको खरिद मूल्य झण्डै १५ सय डलर पर्ने गर्छ।

हाल नेपाल प्रहरीसँग जर्मन सेफर्ड, ल्याब्रडोर, गोल्डेन रिट्रिभर र कोकोर स्पानियल गरी चार प्रजातिका ७१ वटा कुकुरहरु रहेका छन्।
प्रयोग
विशिष्ट व्यक्तिहरुको सवारी, लागु औषध जाँच, विपदका क्रममा खोजी तथा उद्धार र अपराध अनुसन्धानमा ती कुकुरहरुको प्रयोग गरिने अधिकारीहरु बताउँछन्।
एकदमै तीक्ष्ण सुँघ्ने क्षमता भएका र बुद्धिमान प्रजातिका कुकुरहरु खरिद गरी उनीहरुलाई विशेष प्रकारका तालिमहरु दिएर अनुसन्धानमा प्रयोग गरिने गरिएको प्रहरी अधिकारीहरु बताउँछन्।

६ महिनाको उमेर पुगेपछि कुकुरलाई तालिम दिन सुरु गरिने र एउटा कुकुरले सरदर सात-आठ वर्षसम्म काम गरिरहने प्रहरी अधिकारीहरु बताउँछन्।
प्रत्येक कुकुरको रेखदेखका लागि एक जना प्रहरी खटिने उल्लेख गर्दै प्रहरी उपरीक्षक गुरुङ भन्छिन्, “प्रत्येक कुकुरलाई हेरचाह गर्ने तोकिएको व्यक्तिले नै उसलाई खाना खुवाउने देखि तालिम दिने सबै काम गर्ने गर्छन्, ती दुईबिचमा एकदमै घनिष्ठ सम्बन्ध विकास भएको हुन्छ त्यही भएर कुनै पनि कुकुरको हेरचाह गर्ने व्यक्ति बदल्ने गरिदैन्।”
हाल प्रहरीसँग भएका कुकुरहरु विदेशमा अपराध अनुसन्धानका लागि तालिममा जाने क्रममा प्राप्त भएका र नेपाल अनि विदेशबाट खरिद गरिएका कुकुरहरु भएको अधिकारीहरुको भनाइ छ।
प्रेम
नेपाल प्रहरीमा विक्रम सम्वत २०२६ सालबाट कुकुरहरु प्रयोगमा ल्याइएपनि २०३२ सालमा कानुनी रुपमा कुकुर शाखा खुलेको थियो।
त्यसक्रममा मलेसिया तालिम लिन गएका प्रहरीहरुले ल्याएका चारवटा कुकुरहरुलाई सर्वप्रथम अपराध अनुसन्धानमा प्रयोग गरिएको थियो।
प्रहरी संगठन भित्र संवादमा सजिलो होस् भनेर कुकुरहरुको दुई शब्द भएको छोटो नाम राख्ने चलन छ।

दिवंगत राजा वीरेन्द्र र उनको परिवार साथै पूर्व प्रहरी महानिरीक्षक डिबी लामाले गज्जबको कुकुर प्रेम व्यक्त गर्ने गरेको प्रहरी अधिकारीहरु सम्झन्छन्।
राजा वीरेन्द्र र उनको परिवार कुकुर पालनप्रति शौखिन रहेको बताइन्छ र उनीहरुले आफूले पालेका कुकुरहरु सहित कयौँ तस्विर पनि खिचाएका छन्।
लामा महानिरीक्षक हुँदा बेला बेला प्रहरीको कुकुर रेखदेख गर्ने शाखा भ्रमण गरी कतिपय अवस्थामा कुकुरहरुको ठेट नेपाली नाम समेत जुराइदिने गरेका थिए।
दर्जा
प्रहरीको सहयोगीका रुपमा खटिने कुकुरहरुको पनि प्रहरी संगठनभित्र आ-आफ्नै दर्जा हुने गरेको आम बुझाइ रहेपनि त्यो तथ्यसङ्गत नरहेको पाइएको छ।
नेपाल प्रहरी कुकुर तालिम स्कुलकी प्रमुख गुरुङ विद्यालय पाठ्यक्रममा गलत विवरण राखिएकाले मानिसहरुमा कुकुरहरुको दर्जा रहेको भन्ने भ्रम पर्न गएको बताउँछिन्।
उनका अनुसार उक्त विवरण सच्याउनका लागि नेपाल प्रहरीले सरकारको पाठ्यक्रम विकास केन्द्रमा पत्राचार समेत गरेको छ।








