प्यारिस आक्रमण: केही जानकारी

प्यारिस आक्रमणिपछि

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, शुक्रबार स्थानीय समय अनुसार रातको ९ बजेपछि आक्रमणकारीहरुले श्रृङ्खलाबद्ध हमला गरेका थिए

प्यारिसमा श्रृखंलाबद्ध गोली प्रहार, बम विष्फोट र बन्धक बनाइएका हमलामा परी कम्तीमा १ सय २८ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

सो आक्रमणपछि फ्रान्समा संकटकाल घोषणा गरिएको छ र सेना परिचालन गरिएको छ।

उक्त आक्रमणबारे अहिलेसम्म हामीलाई थाहा भएका जानकारी तल प्रस्तुत छ।

(स्थानीय समय अनुसार) २१:२० बजे रु एलिबेएर आक्रमण

ली क्यारीलिओं

आक्रमणपछि
तस्बिरको क्याप्शन, आक्रमणकारीहले व्यस्त रेस्टुराँलाई पनि आफ्नो निशाना बनाएका थिए।

श्रृखंलाबद्ध आक्रमण रातिको ९ बजेपछि रात्री जीवनका लागि कहलिएको, प्लास डु ला रिपब्लिकनजिकै रहेको टेन्थ डिस्ट्रिक्ट भनिने क्षेत्रबाट शुरु भएको थियो।

गोली चलेको पहिलो विवरण एटिन रुइ एलिबेएरमा अवस्थित ली क्यारीलिओंबाट आएको थियो।

प्रत्यक्षदर्शीहरुले एउटा नकाबधारी व्यक्तिले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेको नदेखुञ्जेल शुरुमा त्यहाँ पटाका पड्किएको ठानेका थिए।

एकजना प्रत्यक्षदर्शीले भारी क्यालिबर भएको हतियारसहित एकजना आक्रमणकारी कारबाट बाहिर निस्किएको आफूले देखेको बताए।

“मानिसहरु भूइँमा ढले, हामीले आफू जोगिन टेबुलले हाम्रो टाउको छेक्यौँ,” उक्त बारमा आफ्नी श्रीमतीसहित रहेको बेन ग्रान्टले भने।

ले पेतित कम्बोजी

प्रत्यक्षदर्शीहरुले त्यसपछि उक्त आक्रमणकारीले बाटो काटेर लिटर कम्बोडिया भनिने एउटा रेस्टुराँ ले पेतित कम्बोजीतर्फ अघि बढेको बताएका छन्।

त्यसको केही मिनेटपछि लोकप्रिय सेन्ट मार्टिन नहर नजिकै गोली चलेको आवाज सुनिएको थियो।

समाचारहरुमा त्यहाँ गोलीका कारण क्षतिग्रस्त भएको एउटा कार र जमीनमा नै छाडिएको एउटा मोटरसाइकल फेला परेको थियो।

ला कासा नाष्ट्रा पिज्जेरिया

त्यसपछि रइ एलिबेयरको दक्षिणमा रहेको एउटा पिज्जा रेस्टुराँमा साँझको खाना खान छतमा बसिरहेका मानिसहरुमाथी आक्रमण भएको थियो।

प्रत्यक्षदर्शीहरुले एकजना पुरुषले मेसिन गन प्रहार गरेको देखेको बताएका छन्।

तीस वर्ष असपासका एक व्यक्तिले फ्रेन्च सञ्चारमाध्यमहरुलाई भने, “मेरो नजिकै कम्तीमा पाँचवटा शवहरु थिए र चारैतिर रगत नै रगत थियो।”

२१: ३० स्टाड ड फ्रान्स

सन् २०१६ को युरोपियन फुटबल च्यामपेनशीप अघिका ठूला म्याच मध्येमा हेरिएको फ्रान्स र जर्मनीबिचको मैत्रीपूर्ण खेल प्यारिसको उत्तरी क्षेत्रमा रहेको स्टाड ड फ्रान्स रंगशालामा भैरहको थियो।

रंगाशाला

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, आक्रमणको बेला प्यारिसको रंगशालामा एक मैत्री खेल भइरहेको थियो

उक्त खेलको प्रत्यक्ष प्रसारण फ्रान्सको एउटा प्रमुख राष्ट्रिय टिभी च्यानलबाट भइरहेको थियो।

राष्ट्रपति ओलान्द स्वयं प्रोतियोगिता हेर्न मैदानमा पुगेका थिए।

खेल शुरु भएको आधा घण्टामानै, दुईमध्ये पहिलो विष्फोटको आवाज सुनिएको थियो।

पूरै रंगशालामा सुनिएको उक्त विष्फोटपछि राष्ट्रपति ओलन्दलाई तत्कालै सुरक्षित स्थानमा लगिएको थियो।

उक्त खेल मैदान नजिकैको दुई वटा खाजा घर र एउटा फ्रेन्च शैलीको रेस्टुराँमा आक्रमण भइरहँदा कम्तीमा एउटा आत्मघाती विष्फोट भएको अपुष्ट विवरणहरु आएका छन्।

एउटा विन्दुमा निक्कै आतिएका दर्शकहरु फुटबल मैदानमा प्रवेश गरेका थिए।

फ्रान्स २-० गोल अन्तरले विजयी भएको उक्त खेलपछि खेलाडीहरुले त्यहाँ भइरहेका आक्रमणका दृष्य सुरुङ्ग मार्गमा जडान गरिएका मनिटरमा हेरेका थिए।

२१.३० बजे रु दी श्यारोन आक्रमण

अन्धाधुन्ध गोली हानिएको अर्को खबर पहिलो रेष्टुराँ आक्रमण भएको दक्षिणतिरको एलेभेन्थ डिस्ट्रिक्टमा पर्ने ला बेली इक्वीप बारबाट आएको थियो।

त्यहाँ दुईजना पुरुषहरुले क्याफेको छततर्फ गोली चलाएका थिए।

त्यो क्रम तीन मिनेटसम्म चलेको एक प्रत्यक्षदर्शीले बताए।

त्यसपछि उनीहरु कारमा बसेर नजिकैको स्टेशनतर्फ लागेको उनले बताए।

बार बाहिर मानव शरीरहरु यत्रतत्र छरिएका र लडिरहेका विभत्स दृश्यहरु देखिएका थिए।

२२.०० बजे बेटाक्लाँ कन्सर्ट हल

कन्सर्ट हल

तस्बिर स्रोत, AP

तस्बिरको क्याप्शन, अमेरिकी रक समूहले आफ्नो प्रस्तुती दिइरहेको बेला बन्दुकधारीहरुले आक्रमण गरेका थिए

सबैभन्दा घातक आक्रमण एलेभेन्थ डिस्ट्रिक्ट बुलुबार्ड भोल्तेरमा गरिएको थियो, जहाँ बन्दुकधारीहरुले प्रसिद्ध कन्सर्टस्थलमा हमला गरे।

त्यहाँ अमेरिकाको क्यालिफोर्नियाको रक संगीत समुह इगल्स् अफ डेथ मेटलले आफ्नो प्रस्तुती दिइरहेको थियो।

१५ सय सीट क्षमताको सो हल पूरै भरिभराउ थियो।

समाचारहरुमा जनाइएअनुसार आक्रमणकारीहरु हावामा गोली चलाउँदै सो हलमा प्रवेश गरेका थिए।

एक प्रदर्शनकारीले अरबिक भाषामा “इश्वर महान छन्” भनेको बताइएको छ।

एक प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले राष्ट्रपति ओलान्दलाई सिरियामा हस्तक्षेप गरेको आरोप लगाएका थिए।

इस्लामवादीहरुले प्यारिसलाई फेरि निशाना बनाएको यो प्रष्ट प्रमाण हो।

बन्दुकधारीहरु

प्रहरी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, आक्रमणमा अन्य व्यक्तीहरु पनि संलग्न भएको आशंका गरिएको छ

प्रहरीको भनाईमा आठैजना आक्रमणकारीहरुको ज्यान गइसकेको छ:

तीन जना आत्मघाती विष्फोटमा मारिएका थिए भने चौथो व्यक्तिलाई बेटाक्लाँ हलमा बन्धक बनाइएका व्यक्तिहरुलाई मुक्त गर्ने क्रममा प्रहरीले गोली हानेको थियोअर्को आक्रमणकारी कन्सर्ट हलदेखि अलिपर र बुलुबार्ड भोल्तेरमा आत्मघाती हमलामा मारियोतीन अन्य आक्रमणकारीहरु स्टाड ड फ्रान्सबाहिर मारिएका थिए जसमध्ये एकले आफैंलाई मार्न ‘सुसाइड भेस्ट’ विष्फोट गराएका थिए।

आक्रमणकारीका सम्भाव्य मतियारहरुको खोजी जारी छ।

सुनियोजित रुपमा गराइएको हमलामा अन्य व्यक्तिहरुपनि संलग्न भएको आशंका गरिएको छ।