'ब्रिटेन पुगेका नेपाली मूर्ति फर्काउन पहल शुरु'

ब्रिटेनको एउटा लिलामघरले ती मूर्तिहरु फर्काउने आश्वासन दिएको अधिकारीहरुको भनाइ छ
तस्बिरको क्याप्शन, ब्रिटेनको एउटा लिलामघरले ती मूर्तिहरु फर्काउने आश्वासन दिएको अधिकारीहरुको भनाइ छ

नेपालबाट हराएका झन्डै ९ सय वर्ष पुराना सहित १४ वटा पुरातात्विक महत्वका मूर्तिहरु ब्रिटेनबाट फिर्ता ल्याउने प्रकृया शुरु गरिएको अधिकारीहरुले बताएका छन्।

लन्डनस्थित एउटा लिलामघरले ती मूर्तिहरु फिर्ता गर्न तयार रहेको भन्दै दावी पेश गर्न आग्रह गरेपछि उनीहरुलाई फिर्ता ल्याउन पहल थालिएको पुरातत्व विभागका महानिर्देशकले बीबीसीलाई बताए।

ब्रिटेनमा फेला परेका मूर्तिहरुमध्ये करीब ३५ बर्ष अघि पाटनबाट हराएको १२ औँ शताब्दीको उमा महेश्वरको मूर्तिसहित ३ वटाको मात्र हालसम्म पहिचान स्थापित भइसकेको बताइएको छ।

नेपालबाट विदेशमा चोरिएर पुगेका मूर्तिहरुको यकीन विवरण आफूसँग नभएको सरकारले बताउँदै आएको छ।

आश्वासन

फ्रान्सको लियोँमा अघिल्लो महिना इन्टरपोलले आयोजना गरेको हराएका पुरातात्विक सम्पदाहरुको संरक्षण सम्बन्धी कार्यशाला गोष्ठीका क्रममा ब्रिटेन पुगेका ती मूर्तिबारे जानकारी गराइएपछि गोष्ठीमा सहभागी पुरातत्व विभागका अधिकारीहरु चकित परेका थिए।

उक्त गोष्ठीका क्रममा कृष्टीज नामक कला सामग्रीहरुको प्रतिष्ठित लिलामघरका प्रतिनिधिले ब्रिटेन पुगेका १४ वटा नेपाली मूर्ति फिर्ता दिन आफू इच्छुक रहेको जानकारी गराए लगत्तै विभागले प्रकृया थालेको महानिर्देशक भेषनारायण दाहालले बताए।

उनले भने, “उमा महेश्वरको १७ औँ शताब्दीको मूर्ति, सूर्यको १४ शताब्दीको मूर्ति र १२ औँ शताब्दीको उमा महेश्वरको मूर्ति पत्ता लागिसकेको छ भने अन्य मूर्तिहरुको बारेमा जानकारी पाएपछि हामी दावी प्रस्तुत गर्छौँ। उक्त संस्थाले ती मूर्तिहरु हामीलाई फिर्ता दिने आश्वासन दिएको छ।”

लैनसिङ्ग बाङ्गदेलको पुस्तक 'स्टोलन इमेजेज अफ नेपाल'का अनुसार अहिले फेला परेको पाटनको गणेश मन्दिरमा रहेको १२ औँ शताब्दीको उमा महेश्वरको मूर्ति सन् १९८५ मा हराएको थियो।

उक्त पुस्तकका अनुसार पनौतीको त्रिवेणीघाटको सूर्यको मूर्ति मन्दिरको पर्खाल फोडेर ८० को दशकमा चोरिएको थियो।

त्यसैगरी अहिले भेटिएको फर्पिङमा रहेको उमा महेश्वरको मूर्ति १७ औ शताब्दीको हो।

लन्डनस्थित नेपाली दूतावासलाई उक्त संस्थाका प्रतिनिधिले भेटिएका अरु ११ वटा मूर्तीका तस्विर सहित आफ्नो दावी पेश गर्न पत्राचार गरेको र ती मूर्ति फर्काउन लाग्ने खर्च सरकारले व्यहोर्ने शर्तमा फिर्ता गर्न तयार रहेको जनाउ दिएको अधिकारीहरुको भनाइ छ।

फिर्ता

यसअघि यसै वर्ष १४ औं शताब्दीमा नेवारी भाषामा लेखिएको मार्कन्डेय पुराणको ग्रन्थ नेपाल फर्काइएको थियो।

हराएका मूर्ति खोजीका लागि भैरहेका पहलबारे बीबीसीमा केही महिना अगाडी आफ्नो अन्तरवार्ता प्रसारित भएपछि त्यसैको प्रभावका आधारमा उक्त ग्रन्थ फिर्ता पाएको विभागका महानिर्देशक दाहालले बताए।

उक्त ग्रन्थलाई अहिले राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको उनले बताए।नेपालले हस्ताक्षर गरेको साँस्कृतिक सम्पदाको अवैध कारोबार नियन्त्रण सम्बन्धी राष्ट्रसंघीय महासन्धीले प्रमाण सहित दाबी पेश गर्न सकिए हराएका मुर्तिहरु विदेशबाट फिर्ता ल्याउन सकिने व्यवस्था गरेको छ।

हराएका मूर्तिहरुको यकीन विवरण नभएको तर पछिल्लो समयमा देशभित्रका पुरातात्विक महत्वका मूर्तिहरुको सूची तयार पार्ने कामलाई तीव्रता दिइएको पुरातत्व विभागले जनाएको छ।