कतार विश्वकप २०२२: विश्वकप आयोजकको विरोधमा मानिसहरूले किन प्रदर्शन गरिरहेका छन्?

तस्बिर स्रोत, Getty Images
आगामी मङ्सिर ४ (नोभेम्बर २०)बाट सुरु हुने विश्वकप फुटबलको निर्णायक खेल हेर्नको लागि विश्वभरिबाट १५ लाख फुटबल प्रेमीहरू कतार पुग्ने अनुमान गरिएको छ।
कठोर मुस्लिम कानुन पालना गर्ने यो खाडी राष्ट्रले समलैङ्गिक सम्बन्धमा लिएको अडानबारे कैयौँ गुनासाहरू सामना गरिरहनुपरेको छ।
समलिङ्गी पुरुषको अधिकारबारे कतारको अडान के हो?
इस्लामिक शरीया कानुन अन्तर्गत अनैतिक मानिने भएकाले समलिङ्गी गतिविधिहरू कतारमा गैरकानुनी छन्।
यस्तो गतिविधिमा संलग्नमाथि जरिवाना, सात वर्षसम्मको जेल सजाय वा मृत्युदण्ड सम्मको सजाय हुनसक्छ।
कतार विश्वकपका आयोजकले उक्त देश घुम्न र फुटबल हेर्नका लागि "सबैलाई स्वागत" भन्दै कसैलाई पनि भेदभाव नगरिने दाबी गरेका छन्।
यद्यपि कतार विश्वकपका प्रमुख कार्यकारी नसर अल खातुरले सरकारले समलिङ्गीबारे आफ्नो कानुन परिवर्तन नगर्ने उल्लेख गर्दै सबैलाई "आफूहरूको संस्कृति"को सम्मान गर्न आग्रह गरेका छन्।
उनले कतारमा समलिङ्गी हुन् वा परलिङ्गी कुनै पनि जोडीहरूको सार्वजनिक स्नेह साटासाटलाई तिरस्कार गरिने बताएका छन्।

तस्बिर स्रोत, AFP via Getty Images
ह्युमन राइट्स वाचले हालै प्रकाशित गरेको एउटा प्रतिवेदनले कतारी सुरक्षा निकायले यौनिक अल्पसङ्ख्यकभित्र फरक पहिचान भएका लेस्बियन, गे, र ट्रान्सजेन्डर समूहका मानिसहरूलाई पक्राउ गरिरहेको जनाएको छ। कतिपय अवस्थामा उनीहरूलाई आफ्नो यौनिक अभिमुखीकरण परिवर्तनका लागि समेत दबाव दिइएको प्रतिवेदनमा दाबी गरिएको छ।
कतारको सरकारले भने उक्त प्रतिवेदनमा झुटो आरोप लगाइएको दाबी गरेको छ।
मानिसहरूले कसरी विरोध गरिरहेका छन्?
अस्ट्रेलियाको फुटबल टोलीले एउटा भिडिओ सार्वजनिक गर्दै कतारलाई समलिङ्गिबीचको सम्बन्ध गैरकानुनी करार गर्ने कानुन खारेज गर्न आग्रह गरेको छ।

उक्त भिडिओमा यो फुटबल टोलीले विश्वकपका लागि रङ्गशाला निर्माणमा खटिएका करिब ३०,००० आप्रवासी कामदारमाथि कतारी रोजगारदाताले गरेको व्यवहारको पनि आलोचना गरिएको छ।
भवन लगायतका पूर्वाधार निर्माण क्षेत्रमा स्वास्थ्य र सुरक्षाको लापरबाहीका कारण कैयौँ कामदारहरू घाइते हुनुका साथै कतिपयको मृत्यु समेत भएको थियो।
मानव अधिकारको सम्मानमा कतार चुकेको विरोधमा डेनमार्कका फुटबल खेलाडीहरूले आफूहरूले फिक्का कालो रङ्गका सामग्रीहरू मात्रै प्रयोग गर्ने बताएका छन्।
समलिङ्गी प्रतिकुल कतारी कानुनको विरोध गर्न इङ्ग्याण्डका क्याप्टेन ह्यारी केन सहित युरोपका नौ टोलीका क्याप्टेनहरूले हातमा वन लभ (एउटै माया) अङ्कित ब्यान्डहरू पाखुरामा बाँध्ने भएका छन्।

तस्बिर स्रोत, Getty Images
यसअघिको विजेता फ्रान्स भए पनि पेरिस सहित फ्रान्सका अन्य केही सहरहरूले विश्वकपका खेलहरू सार्वजनिक स्थानमा नदेखाउने भएका छन्।
ब्रिटिश लैङ्गिक अल्पसङ्ख्यक अधिकार अभियानकर्मी पिटर ट्याचेलले कतारको राजधानी दोहामा प्रदर्शन गर्दा आफूलाई पक्राउ गरेर सडक छेउमा नियन्त्रणमा राखिएको बताएका छन्।

तर कतारी सरकारले उनलाई पक्राउ गरिएको दाबी "पुरै झुटो" भएको बताएको छ।
विश्वकप आयोजकमा कतार किन छानियो?
सन् २०१० मा फुटबलको नियामक निकाय फिफाको २२ सदस्यीय कार्यकारी सदस्यहरूबीच भएको मतदानमा कतारले विश्वकप आयोजना गर्ने अधिकार जितेको थियो।
विश्वकप आयोजना गर्ने अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको प्रस्तावमध्ये कतार छानियो।
कतार विश्वकप आयोजना गर्ने पहिलो अरब राष्ट्र हो।

तस्बिर स्रोत, Getty Images
आफ्नो देशमा विश्वकप आयोजना गर्ने पक्षमा फिफाका पदाधिकारीहरूको समर्थनका लागि ३० लाख युरो घुस दिएको आरोप लागे पनि दुई वर्षको अनुसन्धान पछि कतारले सफाइ पाएको थियो।
तत्कालीन समयमा फिफाका अध्यक्ष रहेका सेफ ब्लाटरले कतारलाई समर्थन गरेका थिए। तर पछि उनले फिफाले गलत निर्णय लिएको हुनसक्ने बताए।
कतारमा विश्वकप फुटबल प्रेमीले के अपेक्षा गर्ने?
जम्मा २९ लाख जनसङ्ख्या रहेको कतार विश्वकै धनी देशहरूमध्येमा पर्छ। यो देशको प्रमुख आयस्रोत तेल तथा ग्यासको व्यापार हो।
कतारले यो प्रतियोगिताकै लागि मात्र सातवटा नयाँ रङ्गशाला निर्माण गरेको छ।

विश्वकपका लागि १०० वटा नयाँ होटेलहरू, नयाँ मेट्रो रेल र नयाँ सडकहरू बन्ने क्रम अझै जारी छ।पुरातनवादी मुस्लिम देश भएका कारण कतारमा मदिरा पिउन महँगा होटेलको बारमा पनि निषेध छ। यहाँ ५०० मिलिलिटर भन्दा कम बियरलाई १३ अमेरिकी डलरजस्तो पर्छ।
विश्वकपका आयोजकले रङ्गशालाको निश्चित क्षेत्रमा खेल सुरु हुनुभन्दा तीन घण्टा अघि र खेल सकिएको एक घण्टा पछिबाट मदिरा पिउन खुला गरिने बताएका छन्।
दोहामा ४० हजार जना अट्ने समर्थकहरू रहने क्षेत्रमा मदिरा उपलब्ध हुने छ। साथै मदिराले लट्ठ भएका समर्थकहरू गएर शान्त हुने क्षेत्र पनि रङ्गशालामा हुनेछ।
किन अन्य समयजस्तै गर्मी याममा विश्वकप भएन?
विश्वकपका निर्णायक खेलहरू नोभेम्बर २० बाट डिसेम्बर १८ सम्म हुँदैछन् र यो समयमा कतारको तापक्रम २५ डिग्री सेल्सियस आसपास हुने गर्छ।

यदि सधैँजस्तो जुन र जुलाईमा विश्वकप कतारमा आयोजना गरिएको भए विश्वकपको समयमा तापक्रम ४० डिग्री सेल्सियस माथि हुने थियो र ५० डिग्रीसम्म पुग्न सक्थ्यो।
कतारले सुरुमा वातानुकूलित बन्द रङ्गशालामा खेल खेलाउने प्रस्ताव गरे पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो।
वर्षको अन्त्यमा विश्वकप आयोजना गर्दा कस्तो कठिनाइ ?
नोभेम्बर र डिसेम्बर युरोपेली फुटबल क्लबहरूका लागि अन्त्यतै व्यस्त महिना हुन्।
तर यहाँका क्लबहरूबाट अग्रपङ्क्तिमा खेल्ने धेरै खेलाडीहरूलाई कतार विश्वकपमा खेल्नका लागि आफ्ना देशहरूले बोलाउँछन्।

तस्बिर स्रोत, AFP via Getty Images
युरोपका चर्चित लिगहरू इङ्ल्याण्डको प्रिमियर लिग, इटलीको सिरी ए र स्पेनको ला लीगाले आफ्नो खेल सिजन अन्तर्राष्ट्रिय प्रतियोगिताको एक साता अघिबाट स्थगन गर्दैछन्।
विश्वकप सकिए पछि मात्र युरोपका खेलहरू पुन: सुरु हुनेछन्।









