रुस-युक्रेन युद्ध: युद्ध अपराधमा दोषी भएको एक रुसी सैनिकको स्वीकारोक्ती

रुसी सैनिकको सुनुवाइ

तस्बिर स्रोत, Reuters

युक्रेनमा भएको युद्ध अपराधसम्बन्धी पहिलो सुनुवाइमा एक रुसी सैनिकले ६२ वर्षीय युक्रेनीलाई गोली हानी मारेको स्वीकार गरेका छन्।

युद्ध सुरु भएको केही दिनमै सुमी क्षेत्रमा उक्त घटना भएको थियो।

मस्कोले आफ्ना सैनिकहरूले युक्रेनमा गैरसैनिकहरूलाई निशाना बनाएको अस्वीकार गर्दै आएको छ।

स्वीकारोक्ती

राजधानी किएभस्थित अदालतमा ती सैनिकलाई उनीमाथि युद्ध अपराध तथा नियोजित हत्यासहितका अभियोगमा उनी दोषी छन् भनेर सोध्दा ती सर्जन्ट भादिम शीशीमारिनले 'हो' भन्ने उत्तर दिएका थिए।

दोषी ठहर भएमा २१ वर्षीय ती सैनिकलाई आजीवन कारावासको सजाय हुनसक्छ।

अभियोजनकर्ताहरूका अनुसार आफ्नो घर नजिकैको सडकमा साइकल घचाडेर लैजाँदै गर्दा युक्रेनी पुरुषलाई ती सैनिकले मेशीन गनबाट गोली प्रहार गरेका थिए।

रुसले आक्रमण गरेको चौथो दिनमा सो घटना भएको थियो।

युक्रेनले अहिलेसम्म रुसले गरेको भनिएको १० हजार सम्भावित युद्ध अपराधका घटनाहरूको पहिचान गरेको बताइएको छ।

पहिलो सुनुवाइ

फेब्रुअरीमा रुसले अतिक्रमण गरेयता युक्रेनमा भएको यो पहिलो युद्ध अपराधसम्बन्धी सुनुवाइ हो।

सुनुवाइका क्रममा अनुवादकले अभियोगहरू रुसी भाषामा ती सैनिकलाई सुनाएका थिए।

युक्रेन युद्ध

तस्बिर स्रोत, Reuters

अभियोजनकर्ताहरूका अनुसार शीशीमारिनले ट्याङ्क डिभिजनको एउटा इकाइमा रहेका बेला उक्त जत्थामाथि हमला गरेका थिए।

लगत्तै उनी र अन्य चार रुसी सैनिकले एक गाडी चोरे अनि चुपाखिभ्का नगरमा पुगे जहाँ ती ६२ वर्षीय युक्रेनी साइकल चलाइरहेका थिए।

शीशीमारिनलाई ती व्यक्तिलाई मार्न आदेश दिइयो र उनले त्यसको पालना गरिहाले।

'सानो कोठामा ठूलो सुनुवाइ'

बीबीसीकी पूर्वी युरोप संवाददाता स्यारा रेन्सफोर्डले यति ठूलो महत्त्वको युद्ध अपराधसम्बन्धी सुनुवाइ अदालतको एउटा सानो कोठामा भएको बताएकी छिन्।

सशस्त्र गार्डहरूले हथ्कडी लगाएर शीशीमारिनलाई उक्त कोठामा ल्याएका थिए।

ती रुसी सैनिक विचलित देखिन्थे र उनले टाउको निहुर्‍याएर बसेका थिए।

केही मिटर पर हत्या गरिएका व्यक्तिकी विधुवा बसिरहेकी थिइन्।

क्रेम्लिनले आफूलाई उक्त मुद्दाबारे पूर्व जानकारी नदिइएको बताएको छ।

अब बिहीवार फेरि सुनुवाइ हुनेछ।