युक्रेन-रुस तनावः किएभमा रहेका नेपाली भन्छन्- ‘सरकारले चाँडै जहाज पठाउने प्रतीक्षामा छौँ’

तस्बिर स्रोत, Lokesh Magar
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
रुस र युक्रेनबीच तनाव उत्कर्षमा पुगेका बेला युक्रेनको राजधानी किएभमा रहेका नेपालीहरूले त्यहाँ पनि आफूहरूले "विस्फोटनको आवाज सुनेको" बताएका छन्।
नेपालको पोखरा घर भएका लोकेश मगरले टेलिफोनमा बीबीसीसँग कुराकानी गर्दै भने, "हामी अपार्टमेन्टबाट बाहिर निस्केका छैनौँ तर हामीले तीन वटा ठूला विस्फोटनका आवाज सुन्यौँ।"
"अब यहाँ ठूलो लडाइँ होला जस्तो छ, त्यसैले हाम्रो चाँडै उद्धार होस् भन्ने चाहेका छौँ।"
उनले केही दिनअघि पनि आफूहरू युद्धको खतरा रहेको भन्दै राजधानी किएभबाट पोल्यान्डको सीमा नजिकैको सहर लीभीभमा गएर बसेको बताए।
पछि किएभ फर्किएका उनले आफूहरू अहिले पनि त्रासमा रहेको बताउँदै उद्धारका लागि पहल गरिदिन सबैलाई आग्रह गरेका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले चाहिँ बुधवार एउटा सूचना निकाल्दै अत्यावश्यक परेर युक्रेनमा बस्नुपर्ने बाहेक सबै नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको थियो।
उसले युक्रेन नजान पनि नेपाली नागरिकहरूलाई आग्रह गरेको छ भने बुधवारसम्म ३८ भन्दा बढी नेपाली नागरिकहरू सम्पर्कमा आएको जनाएको छ।
यद्यपि युक्रेनको राजधानीमा रहेका र बीबीसीको सम्पर्कमा आएका कम्तीमा चारजना नेपालीले उक्त विवरणमा उल्लेख गरिए भन्दा निकै धेरै नेपालीहरू त्यहाँ रहेको जानकारी दिएका छन्।

परराष्ट्र मन्त्रालयले आवश्यक पर्दा जर्मनीस्थित नेपाली राजदूतावास वा मस्कोस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि भनेको छ।
मन्त्रालयले बर्लिनस्थित दूतावासका तृतीय सचिव सहारा चौलागाई र मस्कोस्थित कार्यवाहक राजदूत सुशील घिमिरेलाई सहजताका लागि सम्पर्क गर्न सूचित गरेको छ।
'सरकारले जहाज पठाउने प्रतीक्षामा छौँ'
किएभमै रहेका अन्य नेपालीहरूले पनि सरकारले तत्कालै अन्य देशले जस्तै उद्धारका लागि जहाज पठाउनुपर्ने माग गरेका छन्।
किएभमा व्यवस्थापनमा स्नातक अध्ययनरत अर्का एक जना नेपाली विद्यार्थी पेमा दोर्जे लामाले "आफूहरू उद्धारको पर्खाइमा रहेको" बताएका छन्।
उनले बुधवार रातिदेखि नै किएभमा समेत विस्फोटन र गोली चलेको आवाज सुनेको जानकारी दिए।
तर त्यसको कारण हमला नभई युक्रेनी सर्वसाधारणलाई युद्ध अवस्थामा बचाउ र सुरक्षाका लागि कसरी हतियार चलाउने भनेर तालिम दिइएको पनि हुनसक्ने उनको भनाइ छ।
"यहाँ सेना बाहेकका सर्वसाधारणलाई पनि सुरक्षाका लागि तालिम दिइने काम भइरहेको छ। त्यसैले त्यो क्षेप्यास्त्रको आवाज त होइन सायद गोली चलेको होला," उनले भने।
अवस्था बिग्रिन थालेको र युक्रेनमा सङ्कटकाल लागेको तथा चाँडै कर्फ्यु लाग्न सक्ने भय उत्पन्न भएकाले धेरै नेपालीहरूले किएभ छाड्न लागेको लामाले बताए।
उनले भने, "हामी यहाँ सम्पर्कमा रहेका ५० जनाभन्दा बढी छौँ। अन्य साथीहरू पनि अनलाइनबाट सम्पर्कमा हुनुहुन्छ। अवस्था खराब भएकाले हामी पोल्यान्डको सीमा नजिकै जाने तयारीमा छौँ।"
परराष्ट्र मन्त्रालयले ३८ जनाभन्दा बढी मात्र नेपाली सम्पर्कमा आएको भनेर दिएको विवरण सही नभएको भन्दै उनले सरकारलाई तत्काल उद्धारको पहल गर्न आग्रह गरे।
उनले भने, "सरकारले गरिदिनुपर्ने उद्धार हो। त्योभन्दा बढी त हामीले के अपेक्षा गर्न सकिन्छ र?"
"हामी स्ट्यान्डबाई छौँ सरकारले यो मितिमा जहाज आउँछ भनेर उडान निश्चित गरिदियो भने त्यसै अनुसार हामी तयारी भएर निस्किन्छौँ।"
पूर्वोत्तर युक्रेनको खर्किभ सहरस्थित खर्किभ पोलिटेक्निक इन्स्टिट्युटमा इन्जिनियरिङमा स्नातक गरिरहेका र हाल किएभमा रहेका अर्का नेपाली विद्यार्थीले किशोर थापाले पनि आफूहरू उद्धारको पर्खाइमा रहेको बताएका छन्।
उनले नेपाली नागरिकहरूले आफैँले पहल गरेर एक अर्का बीच सम्पर्क स्थापित गर्ने र सुरक्षित स्थलमा जानेबारे तयारी गरिरहेको जानकारी दिए।









