नेपाल निर्वाचन २०७९: बैशाखमा कतिवटा स्थानीय तहमा चुनाव हुँदैछ?

निर्वाचन

तस्बिर स्रोत, Reuters

    • Author, ‏माधव नेपाल
    • Role, बुटवल

सरकारले विसं २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भनी मिति सार्वजनिक गरे पनि यो निर्वाचन कति वटा स्थानीय तहका लागि हुन्छ भन्नेबारे अझै स्पष्ट नभएको अधिकारीहरूले बताएका छन्।

यसअघि २०७४ सालमा तीन चरणमा भएको निर्वाचनमा ७५३ वटा स्थानीय तह कायम गरिएको थियो।

"अबको स्थानीय तहको निर्वाचन पुरानै तहहरूमा मात्र हुन्छ कि पछि थपिएका तहहरूमा पनि हुन्छ भन्ने अझै टुङ्गो लागेको छैन," सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने।

"यो विषय मन्त्रालयभन्दा पनि राजनीतिक नेतृत्वले टुङ्गो लगाउने विषय हो।"

सङ्ख्या कसरी बढ्यो?

स्थानीय तहको टुङ्गो लगाइएको बेलामा सीमा तथा सङ्ख्या निर्धारणसम्बन्धी आयोगले ७४४ वटा स्थानीय तह बनाउन सिफारिस गरेको थियो।

तर मधेसी दलहरूले आपत्ति जनाएपछि राजनीतिक सहमतिको आधारमा भन्दै सरकारले २२ वटा स्थानीय तह थप्ने निर्णय गरेको थियो।

त्यसको सूचना २०७४ साल ज्येष्ठ ११ गते राजपत्रमा प्रकाशित भएको थियो।

उक्त राजपत्रमा प्रकाशित सूचना अनुसार मधेस प्रदेशमा नौ वटा स्थानीय तह थपिए पनि लुम्बिनी प्रदेशमा १०, प्रदेश नं १ मा २ र सुदूरपश्चिम प्रदेशमा एक स्थानीय तह थप्ने कार्य कार्यान्वयन भएको थिएन।

किन कार्यान्वयन भएन?

"चुनावी प्रक्रिया सुरु भइसकेका कारण मधेस प्रदेशमा बाहेक अरू तीनवटा प्रदेशमा थपिएको सङ्ख्याको आधारमा त्यो बेला चुनाव हुन सकेन," प्रवक्ता अधिकारीले भने।

"अहिले पनि चुनाव घोषणा भइसकेको हुँदा के हुन्छ भन्न सकिने अवस्था छैन।"

२०७४ सालको स्थानीय चुनाव सबैभन्दा पछि मधेस प्रदेशमा असोज २ गते भएको थियो भने प्रदेश नम्बर १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा असार १४ गते चुनाव भएको थियो।

"अहिले सत्ता बाहिरका मधेसी दलहरूले बढाएको सङ्ख्या अनुसार स्थानीय तह कायम गरी ती तहहरूमा निर्वाचन गर्ने दबाव दिइरहे पनि सरकारले सुनेको छैन," लोकतान्त्रिक समाजवादी पार्टीका एक नेता महम्मद इस्लाम खानले भने।

"अहिले जनता समाजवादी पार्टीका मन्त्री तालुकदार मन्त्रालयमा भएर पनि बेवास्ता गरेको देखियो।"

निर्वाचन आयोग

तस्बिर स्रोत, Election Commission Nepal

के भन्छ निर्वाचन आयोग?

निर्वाचन आयोगले अहिलेसम्म यसअघि तोकिएका ७५३ वटा स्थानीय तहको मात्र निर्वाचन गर्ने तयारी गरेको र त्यस अनुसार निर्वाचन केन्द्रको व्यवस्थापन गरेको बताएको छ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने, "हामीसँग ७५३ वटा स्थानीय तहको हिसाबकिताब छ। हामी त्यही अनुसार तयारीमा छौँ।"

"तर सरकारले यो बाहेकको थप निर्णय गर्यो भने सरकारले तोकेको तहमा निर्वाचन गराउने आयोगको कर्तव्य र दायित्व हो।"

७६६ स्थानीय तह?

स्थानीय तह थपिँदा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा समयमाई, महाव र किसान गरी तीन गाउँपालिका थपिने छन्।

कपिलवस्तुमा गौतमबुद्ध ,बहादुरगञ्ज र कनकमुनी गरी तीनवटै गाउँपालिका थपिने छन्।

यस्तै पश्चिम परासीमा रामनगर, पण्डितपुर र भुजहवा गाउँपालिका थपिने छन् भने बाँके जिल्लामा सोनारी गाउँपालिका थपिने छ।

प्रदेश नं १ को सुनसरी जिल्लामा भुटाहा र लौकही गाउँपालिका तथा सुदूर पश्चिमको कैलालीमा मोहना गाउँपालिका थपिने छ।