वर्डल: एउटा खेलले कसरी १७ घण्टा बन्धक बनेकी हजुरआमाको उद्धारमा सहयोग गर्‍यो

वर्डल

तस्बिर स्रोत, Getty Images

अमेरिकाको शिकागोमा १७ घण्टादेखि बन्धक एक हजुरआमालाई प्रहरीले लोकप्रिय बन्दै गएको अनलाइन गेम वर्डलका कारण उद्धार गरेको छ।

असी वर्षकी डनिस होल्ट आफ्नो घरमा गत फेब्रुअरी ५ मा एक्लै थिइन्। अचानक एक जना मानसिक समस्या भएका व्यक्ति उनको घरमा प्रवेश गरे।

त्यहाँभन्दा धेरै टाढा सिएटलमा रहेकी उनकी छोरीलाई आमाले दैनिक पठाउने वर्डल नपठाएपछि शङ्का लाग्यो।

उनले प्रहरीलाई खबर गरिन्। सोही जानकारीको आधारमा प्रहरी फेब्रुअरी ६ मा ती वृद्धाको अवस्था बुझ्न उनको घर पुगेको थियो।

उनको घरमा पुगेको प्रहरीको बन्धक बनाउने व्यक्तिसँग झडप भयो।

प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न सफल भयो।

प्रहरीका अनुसार बन्धक बनाउने व्यक्तिले घातक हतियारसहित घरमा हमला गरेको, अपहरण गरेको र प्रहरीमाथि आक्रमण गरेको लगायतका मुद्दा खेपिरहेका छन्।

"बाँच्छु जस्तै लागेन"

होल्टका अनुसार उनी घरमा सुतिरहेको समयमा ३२ वर्षका ती युवा दुई कैँची लिएर प्रवेश गरे।

नग्न अवस्थामा रहेका उनको शरीरबाट झ्यालका सिसाहरूले काटेका कारण रगत बगिरहेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, साइबर अपराध: र्‍यान्समवेअर भनेको के हो?

"म अब बाँच्छु जस्तै लागेन," उनले सीबीएस न्युजलाई भनेकी छन्। "म स्तब्ध भएँ र बाँच्न कोसिस गरिरहेँ।"

बन्धक बनाउने व्यक्तिले होल्टलाई हानि नगर्ने बताए पनि सुत्दा लगाउने कपडा लगाएरै उनीसँग नुहाउन दबाव दिएको र भान्सामा रहेका चक्कुहरू निकालेर फोनको तार काटेको बताइएको छ।

उनलाई ती व्यक्तिले भुईँ तल्लाको चिसो स्नानगृहमा थुनेर राखेका थिए।

उनकी छोरी मेरिडिथ होल्ट कल्डवेलले आमाले दैनिक शब्दजाल 'वर्डल' नपठाएपछि गरेको म्यासेजको जवाफ पनि नआएपछि प्रहरीलाई खबर गरेकी थिइन्।

"त्यसको अर्थ उनी सम्पर्क गर्न नसक्ने अवस्थामा थिइन्," कल्डवेलले भनिन्।

"म भाग्यमानी भएँ"

प्रहरीले ती वृद्धालाई सकुशल उद्धार गरिएको जनाएको छ।

"मैले लाखौँ वर्षमा पनि यस्तो होला भन्ने सोचेकै थिइनँ तर आखिर भयो। म भाग्यमानी रहेछु," आफ्नो उद्धार भएपछि उनले भनिन्।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले गत ज्यानुअरीमा वर्डल खरिद गरेको छ तर उसले खरिद रकम खुलाएको छैन।

यो खेलमा प्रयोगकर्ताले छ पटकको प्रयासमा पाँच वटा अक्षरका शब्दहरू पत्ता लगाउनु पर्छ र एक दिनमा एक पटक मात्रै खेल्न पाउने सीमितताका कारण यसप्रति मानिसहरू आकर्षित भएका छन्।

अङ्ग्रेजी संस्करणको सफलतासँगै यो खेलका विभिन्न भाषाका संस्करणहरू पनि तयार गरेका छन्।

अहिलेसम्म एउटा सूचीमा यो खेल ७९ भाषामा २२२ प्रकारका रहेको पाइएको छ।