कोभिड नेपाल: सबैभन्दा प्रभावित काठमाण्डूका प्रमुख अस्पतालहरूमा चाप बढ्दो, भर्ना हुन कति सहज

फाइल तस्बिर

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

कोभिड सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी प्रभावित सङ्घीय राजधानीका अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या पुनः क्रमिक रूपमा उकालो लाग्न थालेको चिकित्सकहरूले बताएका छन्।

बीबीसीले कुराकानी गरेको राजधानी काठमाण्डूका तीन प्रमुख अस्पतालहरूमा ''गम्भीर अवस्थामा रहेका बिरामीहरूको सङ्ख्या दोस्रो लहरको तुलनामा कम रहे पनि'' बीचमा निकै घटेको अस्पताल आउने बिरामीहरूको सङ्ख्यामा भने वृद्धि देखिएको बताइएको छ।

शनिवार नेपालमा लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको थियो।

पछिल्लो सरकारी तथ्याङ्क अनुसार नेपालमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ७२,००० नाघेको छ।

सङ्क्रमितमध्ये झन्डै दुईतिहाइ काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ३४,१५९ जना काठमाण्डूमा, ८,२२० जना ललितपुरमा र ४,६४५ जना भक्तपुरमा रहेको पछिल्लो विवरणमा उल्लेख छ।

अस्पतालको अवस्था के छ?

अस्पतालमा राखिएका अक्सिजन सिलिन्डर

तस्बिर स्रोत, RSS

नेपालमा कोभिडको दोस्रो लहरका बेला अस्पतालमा भर्ना हुने बिरामीहरूको सङ्ख्या निकै धेरै थियो।

चाप बढेका कारण कतिपय अस्पतालहरूले कोभिडबाट सङ्क्रमितहरूलाई भर्ना गर्न हम्मे हम्मे परेको थियो भने कतिपय प्रमुख अस्पतालमा बिरामीलाई भुईँमै राखेर अक्सिजन दिनुपरेको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नेपाल हाल तेस्रो लहरको उच्चतम अवस्थामा छ।

डा. अधिकारी यो अवस्था अबको "एक हप्तासम्म रहने" र त्यसपछि क्रमशः "ओरालो लाग्ने" पूर्वानुमान अनुसार आफूहरूले काम गरिरहेको बताउँछन्।

हाल अस्पतालहरूमा चाप बढ्दो क्रममा रहे पनि बिरामी भर्ना गर्नै नसकिने अवस्थामा भने आफूहरू नरहेको प्रमुख केही अस्पतालका चिकित्सकहरूले जानकारी दिएका छन्।

''कोभिडका बिरामीहरू बढिरहेको अवस्थामा अरू बेडहरू खाली गर्दै विस्तार गर्दै छौँ,'' महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले भने।

''अरू बिरामी क्रमशः घटिरहेका छन्। कोभिडका बिरामी बढिरहेका छन्।''

दोस्रो लहरका बेला धेरै बिरामीलाई अक्सिजनको आवश्यकता परेको भए पनि हाल त्यस्ता बिरामीको सङ्ख्या तुलनात्मक रूपमा ''कम रहेकाले'' व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ।

ओमिक्रोन

अर्को प्रमुख अस्पताल वीर अस्पतालका फोकल पर्सन डा. अच्यूतराज कार्की पछिल्लो एक हप्तामा कोभिडबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरूको सङ्ख्या बढ्न थालेको बताउँछन्।

''लक्षण भएका बिरामीहरू आउने क्रम बढेको छ। तेस्रो लहर सुरु नहुँदा ९-१० जना भर्ना हुन्थे भने अहिले दिनमा २०-२५ जनासम्म भर्ना भइरहेका छन्।''

सघन उपचारको आवश्यकता कति छ?

क्रमिक रूपमा चाप केही बढ्न थालेको भए पनि सघन उपचार कक्ष वा भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीहरूको सङ्ख्या भने निकै कम रहेको चिकित्सकहरू बताउँछन्।

हाल शिक्षण अस्पतालमा कोभिडका बिरामीका लागि भनेर छुट्ट्याइएका सघन उपचार कक्ष समेत खाली रहेको अधिकारीले जानकारी दिए।

वीर अस्पतालमा दैनिक चार-पाँच जनालाई सघन उपचारका लागि भर्ना गरिने गरेको बताइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टयान्ट फिजिसियन डा. विमल शर्मा चालिसे पनि सघन उपचार आवश्यकता पर्ने बिरामी कम रहेको देखिएको बताउँछन्।

कस्ता व्यक्ति बढी भर्ना भएका छन्?

चिकित्सकहरूका अनुसार पहिले नै स्वास्थ्यमा अन्य समस्या रहेका मानिसहरू कोभिडबाट सङ्क्रमित भएपछि अस्पतालमा भर्ना भएका छन्।

''क्रोनिक केसहरू ... जो अरू रोगहरू भएकाहरूको सङ्ख्या बढ्दै आइरहेको छ। सुरुमा कम थियो,'' कार्कीले भने।

ओमिक्रोन

तर ती बिरामीमध्ये अधिकांशमा अक्सिजनको समस्या भने धेरै नदेखिएको बताइएको छ।

हाल नेपालमा कोभिडको अत्यन्त सङ्क्रामक तर तुलनात्मक रूपमा कमजोर ओमिक्रोन भेरिअन्ट फैलिएका कारण बिरामीहरू गम्भीर अवस्थामा पुग्नबाट जोगिएको चिकित्सकहरूको ठहर छ।

तर नयाँ भेरिअन्ट व्यापक रूपमा फैलिरहेको अवस्थामा स्थानीय स्तरमै उत्परिवर्तित स्वरूप आएमा भने समस्या पर्ने सक्ने चिकित्सकहरू बताउँछन्।

चालिसेका अनुसार टेकुस्थित अस्पतालमा भर्ना भएकाहरूमध्ये अधिकांश पाका मानिस अनि रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरू छन्।

''वयस्क मान्छेहरू धेरै कम छन्,'' उनले भने।

तर स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सङ्क्रमित भने २१ - ३० र ३१ - ४० वर्षका सर्वसाधारणहरू छन्।

काठमाण्डूमा सङ्क्रमितको सङ्ख्या उच्च देखिनुको कारण के हो?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक चालिसे काठमाण्डूमा अन्यत्रको तुलनामा बढी परीक्षण भएका कारण सङ्ख्या उच्च देखिएको हुनसक्ने ठान्छन्।

''जनघनत्वको हिसाबले पनि काठमाण्डू अलि बढी जनघनत्व भएको ठाउँ। विद्यालय, कलेज ... अनि राजनीतिक कार्यक्रमहरू पनि पछिल्लो समयमा अलिकति धेरै भएकाले बिरामीको सङ्ख्या काठमाण्डूमा ह्वात्तै बढेको हुनसक्छ,'' उनले भने।

त्यस्तै विभिन्न प्रयोजनका लागि विदेश जानुपर्ने व्यक्ति सबैले काठमाण्डूमै परीक्षण गर्ने गरेको र कतिपय कार्यालय वा अन्य कामका लागि पनि कोभिड परीक्षण गर्नुपर्ने अवस्था रहेकाले समेत राजधानीमा तुलनात्मक रूपमा सङ्क्रमण उच्च देखिएको हुनसक्ने जानकारहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, ओमिक्रोन: विद्यार्थीलाई पढाइ छुट्ने चिन्ता र श्रमिकलाई रोजगारी गुम्ने डर