टोङ्गा ज्वालामुखीः सुनामीले समुद्रमुनि तार छिनाइदिएपछि इन्टरनेट बन्द, बाह्य विश्वसँग कसरी हुँदैछ सम्पर्क

गत शनिवार टोङ्गामा एउटा शक्तिशाली ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण बिग्रिएको सञ्चार सञ्जाल पूर्ण रूपमा सञ्चालन गर्न केही साता लाग्ने बताइएको छ।
केही टापुमा सञ्चार र विद्युत् सेवा पुन: सुरु भएको छ तर समुद्रमुनिको तारमा पुगेको क्षतिका कारण इन्टरनेट सेवा फेरि सञ्चालन हुन लामो समय लाग्ने देखिएको छ।
यसको अर्थ टोङ्गाको अझै बाह्य संसारसँग राम्ररी सम्पर्क हुन सकेको छैन तथा त्यहाँ पुगेको क्षति कति ठूलो छ भन्ने स्पष्ट थाहा हुन सकेको छैन।
विस्फोटनपछि टोङ्गाको मुख्य टापु खरानीले ढाकिएको थियो र पश्चिमी तटीय क्षेत्र नराम्ररी प्रभावित भएको थियो।
सदर्न क्रस केबल नेटवर्क्सका निर्देशक डिन भेभर्काले एएफपी समाचार संस्थासँग भने, "हामीले अस्पष्ट जानकारी पाइरहेका छौँ तर एउटा तार छिने जस्तो देखिन्छ।"
"त्यो मर्मत गर्न दुई सातासम्म लाग्न सक्छ। समद्रमुनि तार बिछ्याउने नजिकको पानीजहाज पोर्ट मोर्सबीमा छ," ४,००० किलोमिटर पर रहेको पपुवा न्यूगिनीको राजधानीलाई इङ्गित गर्दै उनले भने।
समुद्रमुनिका तार कहाँ छन्?
एएफपीका अनुसार सदर्न क्रसले सघाइरहेको टोङ्गा केबल लिमिटेडले टोङ्गा र फिजीसँग जोड्ने ८७२ किलोमिटर लामो तारको स्वामित्व लिएको छ।
त्यहीँबाट उसको सञ्जाल बाँकी विश्वसँग जोडिन्छ।
Nepali Tonga coastal houses
शनिवार प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोट हुँदा त्यसले आकाशमा धुवाँ र खरानीको मुस्लो निस्किएको थियो भने टोङ्गाको तटीय क्षेत्रमा बज्रिनेगरी १.२ मिटरसम्मका छाल सिर्जना गरेको थियो।
त्यसको केही घण्टापछि टोङ्गाको इन्टरनेट र फोन लाइन भङ्ग हुँदा त्यहाँका मानिसहरूलाई बाँकी विश्वबाट सम्पर्कविहीन हुन पुगे।
फोन र इन्टरनेट सेवा अझै निकै सीमित छ।
विश्वभरि अहिलै झन्डै ४२८ वटा सबमरीन केबल अर्थात् समुद्रमुनि बिछ्याइएका तार छन्।
ती ११ लाख किलोमिटर फैलिएर संसारभरि इन्टरनेट र सञ्चार सेवा पुर्याउँछन्।
अहिलेको अवस्था के छ?
प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री पठाउन तथा समुद्रमुनि बिछ्याइएको एउटा केबल मर्मत गर्ने प्रयास भरहेको छ।
टोङ्गाको मुख्य विमानस्थलको धावनमार्ग ढाकेको खरानी सफा गर्ने काम बुधवार सकिएको एएफपीले जनाएको छ।
त्यसका लागि उद्धारकर्ताका टोलीहरू तथा सयौँ स्वयंसेवकहरू खटिएका थिए।
अधिकारीहरूले अब राहत सामग्रीसहित बाहिरबाट विमानहरू आउने अपेक्षा गरेका छन्।

टोङ्गा अहिले कसरी बाह्य संसारसँग सञ्चार गर्दैछ?
टोङ्गामा भएका केही स्याटलाइट फोनबाट बाहिर सम्पर्क गर्न सकेका छन्। राजधानी नुकु'आलोफास्थित विदेशी दूतावासहरूले त्यसरी सीमित सञ्चार गर्न सकेको बताइएको छ।
विदेशमा भएका टोङ्गाका नागरिकहरूले आफ्नो देशमा भएका परिवार र साथीभाइबारे जानकारी पाउने खोजिरहेका छन्।
बुधवार बिहान रेडक्रसले टोङ्गामा खटिएको आफ्नो टोलीसँग ज्वालामुखी विस्फोटनपछि पहिलो पटक सम्पर्क गर्न सकेको जनाएको छ।
बीबीसीको न्यूजडे कार्यक्रमसँग कुरा गर्दै रेडक्रसका केटी ग्रीनवुडले टोङ्गामा ठूलो क्षति पुगेको बताइन्।
Nepal_Tonga tsunami
सुनामीका कारण एक ब्रिटिश महिलासहित कम्तीमा तीन जनाको मृत्यु भएको विवरण आएको छ।
विस्फोट यति ठूलो थियो कि त्यो न्यूजील्यान्ड र अमेरिकासम्म सुनिएको थियो।
अस्वाभाविक छालका कारण झन्डै १० हजार किलोमिटर टाढा रहेको पेरुमा एउटा तेल बोक्ने पानीजहाजबाट काँचो तेल चुहिएर समुद्र प्रदूषित भएको छ भने दुई जना मानिसको पानीमा डुबेर मृत्यु भएको छ।
के भन्छ रेडक्रस?
उनका अनुसार रेडक्रसले त्यहाँ स्वच्छ पानी वितरण गर्ने काम गरिरहेको छ तथा मानिसहरूलाई आकाशबाट परेको पानी सङ्कलन गर्न निर्मित ट्याङ्कीमा खरानी पर्न नदिन एउटा अभियान सञ्चालन गरिएको छ।
शुक्रवार न्यूजील्यान्डबाट राहत सामग्री लिएर पहिलो पटक पानीजहाजहरू आइपुग्ने अपेक्षा छ। तिनले साढे दुई लाख लिटर सफा पानी र समुद्रको पानीबाट नुन हटाउने उपकरण लैजाने न्यूजील्यान्डका रक्षामन्त्रीले बताएका छन्।
तर टोङ्गाका अधिकारीहरूले बाहिरबाट राहत ल्याइँदा त्यहाँ कोभिड फैलिन सक्ने चिन्ता व्यक्त गरेका छन्।









