परिवारले बन्दूक भिरेको फोटो राखेपछि अमेरिकी सांसदको आलोचना

बन्दूक भिरेको फोटो

तस्बिर स्रोत, @REPTHOMASMASSIE

अमेरिकामा एक स्कूलमा एउटा घातक गोलीकाण्ड भएको तीन दिन नबित्दै एक सांसदले आफ्ना परिवारले सैनिक राइफल भिरेको क्रिसमस फोटो राखेपछि उनको चर्को आलोचना भएको छ।

केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले उक्त फोटो ट्वीट गर्दै लेखेका थिए: 'क्रिसमसको शुभकामना! सान्ता कृपया गोलीगठ्ठा ल्याउनुस्।'

पीडित परिवारद्वारा निन्दा

गोलीकाण्डका कारण पीडित भएका कैयन् परिवारहरूले उनको उक्त फोटोको निन्दा गरेका छन्। रिपब्लिकन एवं डेमोक्र्याटिक दलका नेताहरूले पनि त्यसको भर्त्सर्ना गरेका छन्।

उनीसँग थप प्रतिक्रियाका निम्ति पनि सम्पर्क गरिएका छन्।

विवाद सुरु भएपछि सांसद म्यासीले आफूलाई समर्थन गरिएका तथा आलोचना गरिएका सन्देशहरू रिट्वीट गरिरहेका छन्।

कतिपयले उनलाई 'असम्वेदनशील' भनेका छन्।

केही दिन अगाडि मिशिगन राज्यमा एउटा स्कूलमा एक १५ वर्षीय विद्यार्थीले आफ्ना बुवाको बन्दूक जथाभावी चलाउँदा चार किशोरकिशोरी मारिएका थिए भने सातजना घाइते भएका विवरण आएका छन्।

ती सन्दिग्ध किशोरका बुवाआमामाथि पनि लापरबाही गरेको आरोप लागेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यस्तै शृङ्खलाबद्ध गोलीकाण्डहरूका कारण अमेरिकामा बन्दूक अधिकार तथा सम्बन्धित कानुनबारे चर्को बहस छेडिएको छ।

विगतमा भएका स्कूल गोलीकाण्डहरूमा मारिएका विद्यार्थीका परिवारले पछिल्लो फोटोको चर्को विरोध गरेका छन्।

कंग्रेसम्यान म्यासीले राइफल भिरेका परिवारका सदस्यको फोटो पोस्ट गरेको प्रतिक्रियास्वरूप फ्रेड गुटनबर्गले आफ्नी छोरी जेमी र उनको चिहानको फोटो पोस्ट गरेका छन्। सन् २०१८ मा फ्लोरिडास्थित पार्कल्यान्ड स्कूलमा भएको गोलीकाण्डमा उनकी छोरी मारिएकी थिइन्।

रिपब्लिकन दलका कैयन् नेताहरूले पनि म्यासीको फोटोको निन्दा गरेका छन्।

बन्दूक हिंसा

इलिनोयका कंग्रेसम्यान एडम किन्जिङ्गरले उक्त फोटोमार्फत् उनले 'बन्दूक मोह' देखाएको भन्दै आलोचना गरे।

विगतमा राष्ट्रपति डोनल्ड ट्रम्पका सञ्चार निर्देशक भएर केही समय काम गरेका एन्थोनी स्कारामुचीले आगामी चुनावमा मासीविरुद्ध उठ्ने उम्मेदवारलाई वित्तीय सहयोग गर्ने बताए।

तर कतिपय कन्जरभेटिभ पृष्ठभूमिकाहरूले भने म्यासीको समर्थन गरेका छन्।

कोलोराडोका प्रतिनिधि तथा बन्दूक अधिकार अभियानकर्मी लरेन बोबर्टले 'यो त मलाई मन पर्ने किसिमको क्रिसमस कार्ड हो' भनेकी छन्। अर्का रिपब्लिकन जोज क्यास्टियोले 'मेरो एकमात्र क्रिसमस चाहना…थोमस मासीजस्ता अझ धेरै निर्वाचित अधिकारी' भनेका छन्।

मासी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ज्यानुअरी २०२० मा आयोजित एक बन्दूक अधिकार र्‍यालीमा म्यासीले खल्तीबाट हातेबन्दूक झिकेका थिए

म्यासी सर्वप्रथम सन् २०१२ मा केन्टकीका कंग्रेस प्रतिनिधिमा निर्वाचित भएका थिए। उनी रिपब्लिकन दलको लिबर्टेरियन खेमासँग आबद्ध छन्।

उनी अमेरिकी संविधानको दोस्रो संशोधनको कट्टर समर्थक हुन् - जसले बन्दूक राख्ने अधिकार दिन्छ।

उनले बन्दूक नियन्त्रणका कदमहरूको विरोध गर्दै तिनले स्कूल हत्याकाण्डहरू नरोक्ने भन्दै आएका छन्।

एप्रिल महिनामा उनले हातेबन्दूक बोक्न पाउने वैध उमेर २१ बाट १८ मा झार्ने विधेयक प्रस्ताव गरेका थिए।

उनको पछिल्लो फोटोबारे बीबीसीले सोधेको प्रश्नबारे उनको कार्यालयले अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

सन् २०२० मा बन्दूक हिंसाका कारण २० हजार अमेरिकीको ज्यान गएको थियो जुन एकै वर्ष त्यसरी ज्यान गुमाइएको गत दुई दशक यताकै सबभन्दा धेरै सङ्ख्या हो।