कोभिड: ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान

तस्बिर स्रोत, EPA
दक्षिण अफ्रिकी राष्ट्रपतिले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन्।
सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हटाउन आह्वान गरेका छन् र यसका कारण आफू "गहिरो रूपमा निराश" भएको पनि बताएका छन्।
दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत अन्य देशहरू रहेका छन्।
ओमिक्रोनलाई "चिन्ताजनक भेरिअन्ट" भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरिअन्टमा सङ्क्रमणको जोखिम उच्च रहेको बताइएको छ।
अति उत्परिवर्तित यो भेरिअन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो र त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई जानकारी गराइएको थियो।
दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ।
डब्लुएचओले देशहरूले हतारमा यात्रा प्रतिबन्ध लगाएकोबारे सचेत गराउँदै ती देशहरूले निर्णय गर्दा "जोखिम र वैज्ञानिक आधार" हेर्नुपर्ने बताएको छ। यद्यपि, यो नयाँ भेरिअन्टबारे चिन्ता बढिरहँदा हालैका दिनमा थुप्रै प्रतिबन्धहरू लगाइएका छन्।

तस्बिर स्रोत, Reuters
आइतवार भाषण गर्दै रामापोसाले यात्रा प्रतिबन्ध लगाउँदा कुनै वैज्ञानिक आधारमा नलगाइएको र दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको बताएका छन्।
उनले नयाँ भेरिअन्टको फैलावट रोक्नका लागि प्रतिबन्धहरू प्रभावकारी नहुने तर्क पनि गरे।
"यात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने हो र महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्नेमात्रै हो," उनले भने।
उनले यात्रा प्रतिबन्ध लगाएका देशलाई "हाम्रो अर्थतन्त्रमा थप हानी पुग्नुअघि... आफ्नो निर्णय तत्काल उल्ट्याउन" आह्वान गरेका छन्।
ओमिक्रोन भेरिअन्टले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थालाई व्याख्या गर्दै रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरिअन्टहरू टार्न नसकिने बताएका छन्।
दक्षिण अफ्रिका आफैँमा खोपको अभाव छैन र रामापोसाले थप मानिसहरूलाई खोप लगाउन आह्वान गरेका छन्। उनले भाइरसविरुद्ध लड्ने यो नै उत्तम तरिका भएको पनि बताए।
दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले यसअघि शनिवार निकालेको विज्ञप्तिमा पनि यात्रा प्रतिबन्धको चर्को आलोचना गरिएको छ। उक्त विज्ञप्तिमा ओमिक्रोन पत्ता लगाएकोमा प्रशंसा गर्नुको सट्टा सजाय दिइएको जनाइएको थियो।
ओमिक्रोन अहिले युके, जर्मनी, अस्ट्रेलिया र इजरेललगायत विश्वका थुप्रै देशमा भेटिएको छ।








