भ्याक्स- सन् २०२१ को वर्ष शब्द

तस्बिर स्रोत, Reuters
अक्सफर्ड अङ्ग्रेजी शब्दकोषले भ्याक्स (vax) लाई यो वर्षको वर्ष-शब्द चयन गरेको छ।
भ्याक्सिन अर्थात् खोप सम्बन्धी शब्दहरू भ्याक्स्ड, अनभ्याक्स्ड र एन्टी भ्याक्सर जस्ता शब्दको प्रयोग सन् २०२१ मा कोभिडका कारण ह्वात्तै बढेको थियो।
अक्सफर्ड इङ्लीश डिक्सनरी अर्थात अक्सफर्ड अङ्ग्रेजी शब्दकोश (ओईडी)की बरिष्ठ सम्पादक फियोना म्याकफेर्सन भ्याक्सले 'पारेको प्रभाव'का कारण त्यो स्वाभाविक चयन थियो भन्छिन्।
"भ्याक्सबाट भ्याक्सी, भ्याक्स-अ-थन र भ्याक्सिनिस्टा जस्ता शब्द पनि बनेका छन्। त्यसैले शब्दहरूको बीचको चयनमा यो विशेष भयो।"
भिएएक्स वा भिएएक्सएक्समध्ये एउटा मात्रै एक्स भएको शब्द धेरैले चलाउने भएपनि दुईवटा एक्स पनि सही हो।
अक्सफर्ड इङलिश डिक्सनरीमा भ्याक्स सम्बन्धी शब्दका अर्थ यस्ता छन्

- भ्याक्स (नाम) खोप
- भ्याक्स (क्रिया) कुनै रोग प्रतिरोधी शक्ति उत्पन्न गर्न खोप लगाउनु
- भ्याक्सी (नाम) खोप लगाइरहेका बेला वा लगाउने बित्तिकै खिचेर सामाजिक सञ्जालमा शेअर गरिएको फोटो
- एन्टी भ्याक्स: खोप लगाउने कामको उल्टो
- एन्टी भ्याक्सर: खोप लगाउने कुराको विरोधमा रहेको व्यक्ति
- डबल भ्याक्स्ड: खोपको दुवै मात्रा पाएको अवस्था
यो वर्ष महामारी शब्दको प्रयोग पनि ५७०००% ले बढेको थियो।
अक्सफर्ड र कलिन्सले आ-आफ्नै वर्ष शब्द चुन्ने गरेका छन्। सन् २०२० मा कोलिन्सले लकडाउनलाई वर्ष शब्द चुनेको थियो।
तर अक्सफर्डले त्यसलाई अभूतपूर्त वर्ष र धेरै प्रतिस्पर्धी शब्द रहेका भन्दै लकडाउन, बुशफायर्स, कोभिड १९, ब्ल्याक लाइभ्स म्याटर, डब्लूएफएच (वर्किङ फ्रम होम) कीवर्कर्स र फरलोलाई शब्द वर्ष बनाएको थियो।

यो वर्षको अक्सफर्डको शब्द वर्ष भ्याक्स सन् १७९९ मा पहिलोपटक रेकर्ड गरिएको थियो।
सन् १८०० मा त्यसबाट विकसित भएका शब्दहरू भ्याक्सिनेट र भ्याक्सिनेशन प्रयोगमा आएका थिए।
यी सबै शब्दहरू ल्याटिन शब्द भाकाबाट आएका हुन् जसको अर्थ गाइ हुन्छ।
ओईडीका अनुसार अङ्ग्रेज वैज्ञानिक एडवार्ड जेनरले सन् १७९० को अन्त्यतिर र सन् १८०० को शुरूतिर गाइमा भएको सङ्क्रमण प्रयोग गरेर विफरको उपचार गरेका कारण त्यस्तो भएको हो।
अक्सफर्ड ल्याङ्वेजेजका अनुसार उसको कर्पस अर्थात् भाषा श्रोतले समाचारका विषयवस्तुहरू सङ्कलन गर्ने गर्छ जुन हरेक दिन अद्यावधिक गरिन्छ र त्यसका १४.५ अर्ब शब्दबाट भाषाशास्त्रीहरूले खोजी र विश्लेषण गरेर वर्ष शब्द चुन्ने गर्छन्।








