टोङ्गा: टापु राष्ट्रमा महामारीयताकै पहिलो कोभिड घटना पुष्टि

तस्बिर स्रोत, Getty Images
शुक्रवार प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएपछि त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएका छन्।
एक जना पूर्ण मात्रा खोप लगाएका मानिसमा सङ्क्रमण पुष्टि भएको थियो जो उडानमार्फत न्यूजील्यान्डबाट आएका थिए।
टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआले मुख्य द्विप टोङ्गाटपुमा अर्को साता लकडाउन हुनसक्ने बताएका छन्।
टोङ्गा कोभिड सङ्क्रमण नपाइएको अन्तिममध्येको देश थियो।
उक्त टापु देशमा एक लाखभन्दा धेरै मानिसहरू बस्छन् जुन न्यूजील्यान्डभन्दा उत्तरपूर्वमा अवस्थित छ।
टोङ्गाका एकतिहाइ जनसङ्ख्याले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।
तर त्यहाँको राष्ट्रिय खोप कार्यक्रम संयोजकले खोप लगाउन हजारौँ मानिसहरू केन्द्रहरूमा जम्मा भएको बताएका छन्।
सङ्क्रमित
सङ्क्रमित व्यक्ति घर फिर्तीका लागि न्यूजील्यान्डको क्राइस्टचर्चबाट आएको उडानमा रहेका २१५ जनामध्येका एक हुन्।
सो उडानमा रहेका अन्य यात्रुमा टोङ्गाको ओलिम्पिक्स टोली पनि छ जो टोक्यो ओलिम्पिक्सयता न्यूजील्यान्डमा रोकिएको थियो।
न्यूजील्यान्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देश छाड्ने बेलामा ती व्यक्तिमा कोभिड नदेखिएको जनाएको छ।
तर टोङ्गाका अधिकारीहरूले नियमित परीक्षणका बेला बिहीवार सङ्क्रमण पुष्टि भएको जनाएका छन्।
त्यस्तो परीक्षण त्यहाँ अनिवार्य गरिएको एकान्तबासका हुने गर्छ।
लकडाउन होला त?
टोङ्गाको स्वास्थ्य मन्त्रालयका प्रमुख कार्यकारीले पत्रकारहरूलाई बताए अनुसार सङ्क्रमित व्यक्तिले अक्टोबरमा खोप लगाएका थिए।
जसले गर्दा उनी गम्भीर बिरामी नहुने अधिकारीहरूले ठानेका छन्।
प्रधानमन्त्री तुएनिटोआले आफूलाई तत्कालै लकडाउन नगर्न सुझाव दिइएको बताएका छन्।
"किनभने भाइरस हुनेहरू सङ्क्रमण सार्ने हुनका लागि तीन दिनभन्दा बढी समय लाग्छ। धेरै मानिसहरू सङ्क्रमित हुने अवस्था आयो भने हामीले यो समय तयारीका लागि प्रयोग गर्नुपर्छ।"










