नेपाल-भारत रेल: भारतद्वारा जयनगर-कुर्था रेलखण्ड नेपाललाई हस्तान्तरण

रेल

तस्बिर स्रोत, Twitter/IndiainNepal

तस्बिरको क्याप्शन, हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपालकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव उपस्थित थिए।

शुक्रवार नेपालको धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने झण्डै ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको लागि थप एउटा अवरोध हटेको रेल विभागका प्रवक्ताले बताएका छन्।

नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न नसकिरहँदा अन्तर्देशिय उक्त रेलखण्ड नेपालको स्वामित्वमा आएको हो।

आज भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको एउटा खण्ड हस्तान्तरण गरिएको हो।

उक्त पूरा खण्डका लागि भारत सरकारको ८.७७ अर्ब रूपैयाँ अनुदान प्रतिबद्धता जनाएको छ।

यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज मार्गका रूपमा रहेकामा ब्रोड गजमा रूपान्तरण गरेर नेपाललाई हस्तान्तरण गरिएको काठमाण्डूस्थित भारतीय दूतावासले एक विज्ञप्तिमार्फत् जनाएको छ।

सञ्चालनमा आउँदा त्यो नेपाल-भारतबीचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ।

रेल

तस्बिर स्रोत, Twitter/Konkon Railway

काठमाण्डूस्थित भारतीय दूतावासले आफ्नो ट्विटमा भनेको छ, "ऐतिहासिक शहर जनकपुर हुँदै जाने यस रेलमार्गले भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउनेछ।"

अन्तिम तयारी

यसअघि भारतमा दुईदेशबीच संयुक्त सञ्चालन मापदण्डमा हस्तान्तरण भइसकेको विभागका अधिकारीहरूले बताएका छन्।

विभागका प्रवक्ता वरिष्ठ डिभिजन इञ्जिनियर अमन चित्रकारले बीबीसीलाई भने, "केही समय भारतबाटै रेल चालक सहितका मुख्य प्राविधिक ल्याएर सञ्चालन गर्न समेत सम्झौता भइसकेको छ।

Map

२६ जना रेल प्राविधिकका खुला आह्वानमा कुनै नेपालीको दर्खास्त नपरेपछि नेपाल रेल्वे कम्पनीले सेवा सञ्चालनको लागि भारतको कोन्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरेको बताइएको छ।

जसका लागि रेल समेत किनिएको उक्त कम्पनीलाई आवश्यक अग्रिम भुक्तानी समेत पठाइसकेको विभागका अधिकारीले बताएका छन्।