साफ फुटबल च्याम्पियनशिप: नेपालको सपना अधुरै, भारतलाई आठौँ पटक उपाधि

तस्बिर स्रोत, Courtesy: ANFA
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
पहिलो पटक साफ च्याम्पियनशिप फुटबलको उपाधि जित्ने नेपालको सपनालाई भारतले चकनाचुर पारिदिएको छ।
भारतले प्रतियोगिताको १३ संस्करणमध्ये आठौँ पटक प्रतियोगिताको उपाधि जित्ने क्रममा पहिलो पटक फाइनल खेलिरहेको नेपाललाई ३-० ले पराजित गरेको हो।
माल्दिभ्सको राष्ट्रिय रङ्गशालामा भएको खेल कुनै पनि दृष्टिकोणबाट नेपालको पक्षमा देखिएन।
खेल सुरु हुनुभन्दा अगाडि नै नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अल मुताइरीलाई मैदानमा जान नपाउने नियम लगाइयो।
यसले नेपाली टोलीको मनोबल खस्किएको थियो।
अनि निरन्तर वर्षाका माझ सुरु भएको खेलमा नेपालले चाहे अनुसारको फुटबल खेल्न सकेन।
भारतीय कप्तान सुनिल क्षेत्रीले प्रेरित भारतले खेल अवधिभर नेपाललाई दबावमा राख्यो नै, दोस्रो हाफमा दक्षिण एशियाको बादशाहको असली रूप देखायो।
र नेपाललाई एकपक्षीय ढङ्गले पराजित गर्यो।
नेपालले जारी प्रतियोगितामा दुवै खेल भारतसँग मात्रै हारेको हो।
खेल विश्लेषक सञ्जीव मिश्रका अनुसार नेपाल पहिलो पटक उपाधि जित्ने सपनाका कारण दबावमा थियो, जुन दबावमा भारत थिएन।
दुई मिनेटमा दुई गोल
खेलको सम्पूर्ण तस्बिर दोस्रो हाफको सुरुआतमा नै देखियो।
भारतले दुई मिनेटको बीचमा दुई गोल गर्यो र खेलको कथामा पूर्णविराम लगाइदियो।
त्यसमा फेरि एक पटक नायक भए भारतीय कप्तान क्षेत्री। उनले ४८ औँ मिनेटमा भारतको लागि गोलको खाता खोले।
प्रतियोगिताभरि कुल पाँच गोल गरेका उनी निःसन्देह प्रतियोगिताका उत्कृष्ट खेलाडी बने।
उनको शनिवारको गोल भारतको राष्ट्रिय टोलीका लागि ८०औँ गोल हो। यसअघि माल्दिभ्सविरुद्ध उनले दुई गोल गरेका थिए।
क्षेत्रीको गोल गरेको दोस्रो मिनेटपछि नै सुरेश सिंह वाङजामले गोल थपेपछि खेल नेपालको नियन्त्रणभन्दा बाहिर गएको थियो।
त्यसपछि आक्रमणमा जोड दिइरहेकोको नेपालको लागि इन्जुरी समयमा साहल अब्दुल समादले गोल गरेका थिए।

तस्बिर स्रोत, NSJF
नेपालका दुई आक्रमण
खेल सुरु भएको छैटौँ मिनेटभित्रै नेपाल र भारत दुवै टोलीले एक-एक वटा सुन्दर अवसर गुमाएका थिए।
भारतका यासिर मोहम्मदले गरेको वान भर्सेस वान प्रहार नेपाली किपर किरण चेम्जोङले जोगाएका थिए भने सुमन अर्यालले डिबक्सको डेढ मिटर नजिकबाट गरेको प्रहार भारतीय पोस्टमा लागेर फर्केको थियो।
नेपालले पहिलो हाफमा गरेको त्यो नै एक मात्र पोस्टलक्षित प्रहार थियो।
दोस्रो हाफमा रोहित चन्दले गरेको एउटा हेड प्रहार क्रसबारमा लागेको थियो।
नेपालले खेलभरि गरेको दुई सम्झिन लागेको प्रहार यो दुई वटा मात्रै हो।
नेपालले भारतलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सक्नु नै सफलता बन्यो ।
लिग चरणमा भारतविरुद्ध निकै रक्षात्मक खेलेको कारण नेपाल हारेको भनी खुबै आलोचना भएको थियो।
फाइनलमा भने नेपालले खुलेर खेलेको थियो।
दुई पहेँलो कार्ड खाएकोले अञ्जन विष्टको फाइनलमा अनुपस्थित हुनु पनि नेपाली टोलीका लागि ठूलो घाटा हुन पुगेको थियो।

तस्बिर स्रोत, NSJF
तनाव
मैदानमा सुरुआत देखि नै पानी परेको थियो।
नेपालका प्रशिक्षक अल मुताइरीलाई आयोजकले दुई पहेँलो कार्ड पाएको भन्दै फाइनल खेल खेलाउनबाट वञ्चित गरिएपछि नेपाली टोली मैदान प्रवेश गर्नु अगाडि नै तनावमा थियो।
जबकि खेलाडीहरूबाहेक प्रशिक्षकको हकमा त्यस्तो नियम थिएन।
प्रशिक्षकहरूले यो विषयमा जमेर विरोध गरे।
प्रशिक्षकले अन्तर्राष्ट्रिय न्यायालय कोर्ट अफ आर्विट्रेसनमा मुद्दा हाल्ने जनाएका छन्।
यसले नेपालको खेलमा नराम्ररी असर परेको देखियो।
उनले दर्शकदीर्घामा बसेर पनि खेलाडीहरूलाई निर्देशन दिइरहेको दृश्य टिभीमा देखाइएको थियो।
यता भारतीय प्रशिक्षक क्रोएसियाका इगोर स्टिमाक पनि रातो कार्डका कारण दर्शकदीर्घामा नै थिए।
यद्यपि प्रतियोगिताको फाइनल खेल्नु नै नेपाली फुटबलको लागि ऐतिहासिक उपलब्धि हो।
यसअघि पाँच पटक सेमीफाइनलमा पुगे पनि नेपाल कहिल्यै पनि शीर्ष दुई स्थानमा उक्लिन सकेको थिएन।

तस्बिर स्रोत, Courtesy: ANFA








