मानसिक स्वास्थ्य: डिप्रेसनको उपचारमा मस्तिष्कमा गरिने प्रत्यारोपणले फाइदा पुग्ने

तस्बिर स्रोत, Maurice Ramirez, UCSF 2021
- Author, मिसेल रोबर्टस्
- Role, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
विद्युतीय प्रत्यारोपणले मानिसको चरम अवसाद अर्थात डिप्रेसन पत्ता लगाउन र त्यसको उपचार गर्न सकिने अमेरिकी वैज्ञानिकहरूले बताएका छन्।
पहिलो बिरामीको टाउकोमा प्रत्यारोपण परीक्षणपछि वैज्ञानिकहरूले त्यस्तो विश्वास व्यक्त गरेका हुन्।
एक वर्षअघि त्यस्तो उपकरण जडान गरिएकी ३६ वर्षीया साराले आफ्नो जीवन पूरै परिवर्तन भएको बताएकी छन्।
उनको टाउकोमा राखिएको सलाईको बट्टाजस्तो उपकरण सधैँ "अन" हुन्छ तर उनलाई आवश्यकता परेको अवस्थामा मात्रै त्यसले संवेग प्रदान गर्छ।
यो प्रयोगात्मक अध्ययन नेचर मेडिकल जर्नलमा प्रकाशित छ।
सान फ्रान्सिस्कोस्थित क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अन्य बिरामीलाई यसले मद्दत गर्छ कि गर्दैन भन्न थाहा पाउन गर्न थप परीक्षणहरू गर्नुपर्ने बताएका छन्।
डिप्रेसनको उपचार
यस्तो प्रयोगात्मक उपचार गरिएकी सारा पहिलो व्यक्ति हुन्।
हालैका वर्षमा उनलाई गरिएका अन्य उपलब्ध उपचार विफल भएका थिए।
शल्यक्रिया कठिन सुनिए पनि आफूले अनुभव गरेको अन्धकारभन्दा यसले दिने राहतको सम्भावना उचित हुने साराले बताइन्।

तस्बिर स्रोत, John Lok, UCSF 2021
साराले भनिन्, "उपचारका सबै सम्भावित विकल्पहरूबाट म थाकिसकेको थिएँ।"
"मेरो दैनिक जीवन एकदमै धेरै प्रतिबन्धित बनेको थियो। म मुस्किलले केही गर्न वा कहीँ जान सक्थेँ।"
शल्यक्रिया गर्न उनको खप्परमा साना प्वालहरू पार्नुपरेको थियो ताकि उनको मस्तिष्कलाई निगरानी गर्ने तारहरू जडान गर्न सकियोस्।
ब्याट्री र संवेग उत्पादन गर्ने यन्त्र भएको एउटा बक्सलाई उनको मस्तिष्क नजिकै हड्डीमा राखिएको छ।
यो कामका लागि एक दिन लाग्यो र सारालाई बेहोश बनाएर शल्यक्रिया गरिएको थियो।
साराले होशमा आएपछि आनन्द महसुस गरेको बताइन्।
"जब प्रत्यारोपण गरेर त्यसलाई चलाइयो, मेरो जीवन तत्कालै परिवर्तन भयो। मेरो जीवन फेरि रमाइलो भयो।"
"केही हप्ताभित्रै मर्छु भन्ने विचार हरायो। जब म डिप्रेसनबाट पीडित थिएँ, म केवल नराम्रो मात्रै देख्थेँ।"
एक वर्षमा सारामा कुनै खराबी देखिएको छैन।
"उपकरणले डिप्रेसन बढ्न दिएन र आफैँलाई राम्रो महसुस गराउन मद्दत गर्यो।"

तस्बिर स्रोत, SPL
यसले कसरी काम गर्छ?
अनुसन्धानकर्ता डा. क्याथरिन स्क्यानगसले साराको मस्तिष्कमा डिप्रेसनको प्रवृत्ति पत्ता लगाएर यो नयाँ प्रयोग गर्न सकिएको बताइन्।
विश्वविद्यालयमा मनोचिकित्सकसमेत रहेकी स्क्यानगसले भनिन्, "हामीले त्यस्तो ठाउँ फेला पार्यौं जहाँ निरन्तर आवेगहरू उत्पन्न हुँदा त्यसले अवसादको भावना हटाउँछ।"
"हामीले मस्तिष्कको गतिविधिहरू हुने एउटा खण्ड पनि पत्ता लगायौँ जसले कुन बेला उनमा लक्षणहरू अत्यधिक देखिन्छ भनेर अनुमान लगाउन सक्छ।"
वैज्ञानिकहरूले प्रयोगात्मक थेरापीहरूको परीक्षणका लागि थप अनुसन्धानहरू आवश्यक रहेको बताएका छन्।
चरम डिप्रेसनको थप बिरामीहरू वा अन्य अवस्थामा पनि यसले मद्दत गर्न सक्छ कि भनेर हेर्नका लागि पनि थप अनुसन्धानहरू आवश्यक रहेको उनीहरूले बताएका हुन्।
व्यक्ति अनुसार उपचार
डा. स्क्यानगसले अन्य दुई बिरामीलाई परीक्षणमा राखेकी छन् र थप नौ जनालाई परीक्षणमा राख्ने आशा राखेकी छन्।
उनी भन्छिन्: "बिरामीपिच्छे डिप्रेसनको मस्तिष्क गतिविधि कसरी फरक हुन्छ भन्ने हेर्न आवश्यक छ र यो काम बारम्बार दोहोर्याउन आवश्यक छ।"
"साराको डिप्रेसन चरम अवस्थाको भएकोले उनलाई निको पार्न सक्छौँ कि सक्दैनौँ भन्ने हामीलाई थाहा थिएन।ई
"त्यो अर्थमा हामी साँच्चै उत्साही छौँ। यो अहिलेको अवस्थामा अत्यन्तै आवश्यक छ।"
उपकरण मस्तिष्कमा जडान गर्ने न्यूरोसर्जन डा. एडवार्ड चाङ भन्छन्: "स्पष्ट हुनका लागि अहिलेको यो प्रयास प्रभावकारिताको प्रदर्शन होइन।"
"कसैमा काम गरिएको यो साँच्चै पहिलो हो र उपचारको एउटा विकल्प यो हुनसक्छ कि सक्दैन भनेर यी परिणामहरूलाई वैधानिकता दिन धेरै काम गर्नुपर्छ।"








