दुर्गाप्रसाद तिम्सिना: भारतमा बिनासुनुवाइ ४० वर्ष जेलमा बिताएर फर्केका नेपालीको अवस्था 'नाजुक'

- Author, उमाकान्त खनाल
- Role, झापा
अदालतमा बिनासुनुवाइ भारतका विभिन्न कारागारमा ४० वर्ष जेलजीवन बिताएका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनका परिवारका सदस्यले बताएका छन्।
उनको मानसिक स्वास्थ्य अवस्था पहिलाको भन्दा झन् बिग्रिँदै गएको दुर्गाप्रसादका भतिज गोपाल तिम्सिनाले बताए।
दुर्गाप्रसाद अहिले के खान हुने र के नहुने भन्ने नै छुट्याउन नसक्ने अवस्थामा पुगेको गोपालले बताए।
कर्तव्य ज्यान मुद्दामा जेलजीवन बिताएका दुर्गाप्रसाद गत मार्चमा कोलकाता उच्च अदालतको आदेशमा थुनामुक्त भएका थिए।
मार्च २१ तारिख उनी इलामस्थित आफ्नो घर पुगेका थिए।
कस्तो छ अवस्था?
दुर्गाप्रसाद नेपाल आएपछि प्रदेश नं १ सरकारले उनको स्वास्थ्य अवस्थाको परीक्षण तथा उपचारका लागि करिब दुई साता विराटनगरको विराट मेडिकल कलेजमा राखेको थियो।
त्यहाँ उपचारपछि केही सामान्य जस्तो अवस्थामा रहेका दुर्गाप्रसादले घरको कामको लय पनि समातेको उनका भतिज गोपालले बताए।
उनले भने, "बाटोमा हिँड्दा जे भेट्नुहुन्छ त्यही खाइदिनुहुन्छ। गाईलाई पकाएको खोले भेट्नु भयो भने त्यो पनि खाइदिनुहुन्छ।"
उनका अनुसार दुर्गाप्रसादलाई सम्हाल्न निकै सकस भइरहेको छ।

बेलाबखत रिसको आवेगमा बोल्न नहुने कुरा पनि उनले बोल्ने गरेको गोपालले बताए।
दुर्गाप्रसादका काकाका छोरा प्रकाशचन्द्रका अनुसार अब के गर्ने भन्ने नै किटान गर्न सकिएको छैन।
उनले भने, "घर त ल्याइयो। अवस्था पनि त्यस्तो छ, घरको अवस्था पनि राम्रो छैन। क्षतिपूर्ति दिलाउने कुरा पनि ठप्प जस्तै भएको छ।"
क्षतिपूर्ति दिलाउन पहल भएन
दुर्गाप्रसाद कारागारबाट मुक्त भएपछि कोलकातास्थित उच्च अदालतले उनका परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भन्दै पश्चिम बङ्गाल सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको उनको मुद्दा लडेका अधिवक्ता हिरक सिन्हाले बताए।
तर कोरोनाभाइरस महामारीका कारण उक्त विषयको सुनुवाइ पनि हुन नसकेको सिन्हाले बीबीसी न्यूज नेपालीलाई बताए।
पश्चिम बङ्गाल सरकारले पनि अदालतमा कारण पेस गर्न समय मागेको उनले जनाए।
नेपालमा पनि प्रदेश नं १ सरकारले क्षतिपूर्ति दिलाउन पहल गर्ने जनाएको थियो। तर त्यो पनि सम्भव हुन सकिरहेको छ।
एमाले नेता खनालको पर्खाइ
दुर्गाप्रसाद भारतबाट आएपछि नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्ने आश्वासन दिएको प्रकाशचन्द्रले बताए।
आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई क्षतिपूर्ति दिलाउन आफ्नो तर्फबाट पहल गर्ने उनले आश्वासन दिएको प्रकाशचन्द्रले बताए।
तर केही समयमै खनाल आफैँ बिरामी भएकाले अब उपचारपश्चात् नेपाल फर्केपछि क्षतिपूर्तिका लागि पहल गर्ने उनले बताए।
उनले भने, "काठमाण्डूका एकजना कानुन व्यवसायी सतीशकृष्ण खरेलसँग कुरा गर्दा नेता खनाल आएपछि त्यसको पहल गर्ने बुझेको छु।"
खरेलका अनुसार नेपाल सरकारको तर्फबाट भारत सरकारसँग कुरा गरेर क्षतिपूर्ति दिलाउने नभए नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने कुरा भएको छ।
उनले भने, "खनालज्यू नेपाल फर्केपछि कुरा अगाडि बढ्छ।"









