महिलाः अनलाइन दुर्व्यवहारको अन्त्यकालागि उच्च प्रतिष्ठित महिलाहरूको माग
- Author, मेघा मोहन
- Role, लैङ्गिक तथा पहिचान मामिला सम्वाददाता

२०० जनाभन्दा बढी चर्चित महिलाहरूले सामाजिक सञ्जालका मञ्चहरूमा हुने दुर्व्यवहार रोक्नका लागि ठोस कदम चाल्न आह्वान गर्दै लेखिएको पत्रमा हस्ताक्षर गरेका छन्।
अस्ट्रेलियाकी भूतपूर्व प्रधानमन्त्री जुलिआ गिलार्ड, भूतपूर्व अमेरिकी टेनिस खेलाडी बिली जीन किङ र ब्रिटिश अभिनेत्रीहरू थ्याण्डी न्यूटन र एमा वाट्सन जस्ता उच्च ओहदा र प्रतिष्ठा भएका महिलाहरूले हस्ताक्षर गरेका पत्र यूएन जेनरेशन इक्वलिटि फोरममा प्रकाशित छ।
जुलिआ गिलार्डले बीबीसीसँग कुरा गर्दै भनिन्: "अष्ट्रेलियाको प्रधानमन्त्रीको पदमा रहँदा अन्य सार्वजनिक ओहोदामा रहेका महिलाहरूले जस्तै मैले पनि सामाजिक सञ्जालमा लैङ्गिकताका आधारमा चर्को दुर्व्यवहारको सामान गर्नुपर्यो। अश्लील कार्टुनहरू समेत सञ्जालमा फैलाइए।"
उनले त्यस्ता गतिविधिले आफूलाई "महिलाले अझै पनि यस्तो प्रकारको दुर्व्यवहारको सामना गर्नु परिरहेको भनेर आक्रोशित र हताश बनाएको " पनि बताइन्।
उक्त पत्र फेसबुक, गुगल, टिकटक र ट्विटरका प्रमुख कार्यकारीहरूलाई सम्बोधन गरेर लेखिएको छ।
र त्यसमा "तपाईँहरूको उत्पादनको मञ्चमा महिलाहरूको सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुहोस्" भनिएको छ।
प्रतिबद्धतामा ती सामाजिक सञ्जालका प्रमुखहरूले अनलाइनमा हुने दुर्व्यवहारको जानकारी दिने प्रणालीलाई सुधार गर्ने र प्रयोगकर्ताहरूले देख्ने र उनीहरूसँग ककसले अन्तर्क्रिया गर्न पाउने भन्ने पनि छान्ने अथवा फिल्टर गर्ने बताएका छन्। तर केही अभियानकर्ताहरूले यस्ता प्रतिबद्धताहरू पर्याप्त नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
"यस्ता खाले अमूर्त वक्तव्यहरूले ती प्रविधि कम्पनीहरूलाई प्रचारप्रसारको राम्रो अवसर त उपलब्ध गराउलान् तर यी वास्तविक प्रतिबद्धताहरू होइनन्," लुचिना डि मेकोले बताइन्।
उनी #ShePersisted Global नामक संस्थाको सह संस्थापक हुन् र यो संस्थाले महिला विरुद्ध अनलाइनमार्फत हुने आक्रमणका विषयमा काम गर्छ।

तस्बिर स्रोत, Oscar Wong
उक्त पत्रको ब्यहोरामा लेखिएको छः " इन्टरनेट भनेको २१औँ शताब्दीमा चौबाटोको चोक जस्तै हो। जहाँ विभिन्न बहसहरू हुन्छन्, समुदायहरूको निर्माण हुन्छ, उत्पादनहरू बेचिन्छन् र मानिसका प्रतिष्ठाहरू पनि बन्छन्।" "तर जुन स्तरमा महिला विरुद्ध यहाँ दुर्व्यवहार हुने गरेको छ यी डिजिटल चोकहरू धेरै महिलाहरूकालागि असुरक्षित छन्।
'खतरा'
यो अवस्था भनेको लैङ्गिक समानताको क्षेत्रमा हुनु पर्ने प्रगतिकालागि खतरा हो।
" उक्त पत्रले सन् २०२० मा इकोनोमिक इन्टिलिजेन्स युनिटले ४,००० भन्दाबढी वयस्क महिलामा गरेको अध्ययनको नतिजा तर्फ पनि ध्यानाकर्षण गराएको छ जसमा ती मध्ये ५१ देशमा रहेका ३८% ले प्रत्यक्ष रूपमा अनलाइन दुर्व्यवहार भोगेको बताएका थिए। सीमान्तकृत समुदाय र अश्वेत,एशियाली,ल्याटिन अमेरिकी र मिश्रित वर्णका महिलाहरूमाथि अनलाइन दुर्व्यवहार झन् खराब हुने गरेकोमा पनि जोड दिइएको छ।
उक्त पत्रको संयोजन गरेको वर्ल्डवाइडवेब फाउन्डेशनकी वरिष्ठ नीति व्यवस्थापक अज्मिना ध्रोडीयाले भनिन्, " सामाजिक सञ्जालका प्लाटफर्महरूमा महिलाहरू विरुद्ध दुर्व्यवहार र हैरान पार्ने गतिविधिहरू हुन्छन् र त्यो लैङ्गिक समानताको क्षेत्रमा एउटा ठूलो व्यवधान हो भनेर स्वीकार गर्नु एकदमै महत्त्वपूर्ण कुरा हो।"
प्रविधि कम्पनीहरूले प्यारिसमा आयोजित संयुक्त राष्ट्र सङ्घको जेनरेशन इक्वलिटि फोरममा आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्।
वर्ल्डवाइडवेब फाउन्डेशनले ती प्रविधि कम्पनीहरूका प्रतिबद्धता र तिनका वास्तविक व्यवहारहरूको निगरानी गर्ने र त्यसमा के कस्ता प्रगति भए भनेर वार्षिक प्रतिवेदन तयार पार्ने जनाएको छ।








