कोभिड-१९: भारतमा कोरोनाभाइरससँग सम्बन्धित रोगले बालबालिकालाई खतरा

तस्बिर स्रोत, Getty Images
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
यो महिना सास फेर्न समस्या र रक्तचाप घटेको लक्षण भएका चार बालबालिका भारतको महाराष्ट्र राज्यको एउटा अस्पतालमा छुट्टाछुट्टै भर्ना भए।
उनीहरूका आमाहरूलाई एक महिनाभन्दा अघि कोरोनाभाइरस भएको थियो। बालबालिकाहरूमा भने कोरोनाभाइरसको कुनै पनि लक्षण देखिएन।
सेवाग्रामस्थित १,००० शय्याको कस्तुरबा अस्पतालमा थुप्रै कम उमेरका बिरामीहरू भेटिए जसको शरीरमा कोरोनाभाइसरको एन्टिबडी भेटियो। त्यसले उनीहरूलाई विगतमा सङ्क्रमण भएको सङ्केत गर्छ।
अहिले उनीहरू एकदमै दुर्लभ, जलन हुने र घातक हुन सक्ने मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी अवस्थासँग जुधिरहेका छन्।
किशोरकिशोरी र बालबालिकामा कोरोनाभाइरस निको भएको चारदेखि छ हप्तामा यो अवस्था शरीरमा विकसित हुन्छ।
कस्तुरबा अस्पतालमा भर्ना भएका दुई बालबालिकालाई निको भएको छ भने बाँकी दुई बिरामीको सघन कक्षमा उपचार भइरहेको छ।
"म यो अवस्थाबारे चिन्तित हुन्थेँ। यो समस्या कति गहिरो हो भन्ने हामीलाई थाहा छैन। यो रोगको मार कति परेको छ भन्ने तथ्याङ्क हामीसँग छैन र यो चिन्ताजनक छ," अस्पतालका निरीक्षक डा. एसपी कलान्त्री भन्छन्।
कोरोनाभाइरसको घातक दोस्रो लहर घट्दै गएका बेला भारतभरि बालरोग विशेषज्ञहरूले यो दुर्लभ तथा गम्भीर अवस्थाबारे विवरण दिइरहेका छन्।
यो रोगले अहिलेसम्म कति बालबालिकाहरू प्रभावित भए भन्ने स्पष्ट छैन। अमेरिकाले यो रोगले अहिलेसम्म ४,००० लाई असर गरेको र ३६ जनाको मृत्यु भएको जनाएको छ।
दिल्लीको गंगाराम अस्पतालस्थित सघन उपचारमा बिरामी हेरेका बालरोग विशेषज्ञ डा. धिरेन गुप्ताले मार्च महिनायता दोस्रो लहरमा मात्रै ७५ भन्दा बढी बिरामी हेरेको र उनीहरूको उमेर चार वर्षदेखि १५ वर्षसम्म रहेको बताएका छन्।
उनको अस्पतालले १८ शय्याको एमआईएस-सी वार्ड खोलेको छ। राजधानी दिल्ली र वरपर क्षेत्रमा पाँच सयभन्दा बढी बिरामीहरू रहेको आफूलाई लागेको बताएका छन्।

तस्बिर स्रोत, Gangaram Hospital
त्यहाँबाट झन्डै १,५०० किलोमिटर टाढा पश्चिमी सहर पुनेमा सरकारी मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ डा. आरती किनिकरले एप्रिलयता ३० बालबालिकामा त्यस्तो रोग देखिएको बताएकी छन्।
चारदेखि १२ वर्ष उमेरका १३ बालबालिका अझै अस्पतालमै छन्। तीमध्ये धेरै मुटुको मांसपेशीमा जलन हुने वा सुन्निने मायोकरडाइटिसबाट पीडित छन्।
"दोस्रो लहरपछि सङ्ख्या अत्यधिक बढेको छ," डा. किनिकरले भन्छिन्।
महाराष्ट्र सरकारले एमआईएस-सीलाई "ध्यान दिनुपर्ने रोग" को सूचीमा राखेको छ। कानुनी प्रावधान अनुसार यस्तो रोग देखिए अधिकारीहरूले खबर गर्नुपर्छ।
चिकित्सकहरूका भनाइमा भाइरसप्रति शरीरले जनाएको अतिप्रतिक्रियाका कारण यो अवस्था आउँछ र यसले महत्त्वपूर्ण अङ्गहरूमा जलन हुने गर्छ।
सुरुमा लक्षणहरू अन्य रोगमा देखिने जस्तै उच्च र लगातार ज्वरो, डाबर, आँखा रातो हुने, पेट दुख्ने, कम रक्तचाप, शरीर दुख्ने र आलस्य हुने हुन्छ।
जलन हुने क्रम बढ्दै जाँदा त्यसले डरलाग्दा परिणामहरू निम्त्याउने चिकित्सकहरू बताउँछन्: रक्तचाप एकदमै कम हुने, श्वासप्रश्वासमा अवरोध र मुटु, मिर्गौला र कलेजोलाई एकै पटक असर पुर्याउने।
अमेरिकामा गरिएको एउटा अध्ययनले यो अवस्था देखिने बालबालिकामा स्नायुसम्बन्धी लक्षणहरू पनि देखिने पत्ता लगाएको छ।

तस्बिर स्रोत, Gangaram Hospital
डा. गुप्ताले उनको अस्पतालमा रहेका धेरै बालबालिकालाई सघन उपचार आवश्यक रहेको बताए। एक जना बिरामीलाई त एक सातासम्म भेन्टिलेटरमा राख्नुपरेको पनि उनले बताए।
विज्ञहरूले स्टेरोइड, एन्टिबायोटिक, इम्युनोग्लोबुलिन अथवा आईभीआईजी खोपहरू र अक्सिजन दिएर बालबालिकालाई निको पार्न सकिने बताएका छन्। आईभीआईजी खोप दाताहरूले दिएको रगतमा भएको लाखौँ स्वस्थ एन्टिबडीहरूबाट बनाइन्छ।
डा. गुप्ताले उपचार गरिएकामध्ये ९० प्रतिशत बालबालिकामा कोभिड-१९ को कुनै लक्षणहरू नदेखीकनै सङ्क्रमण भएको र त्यो चिन्ताजनक भएको बताए।
कोरोनाभाइरस निको भएको दुईदेखि छ सातासम्म जलन हुने लक्षणसहित बालबालिका बिरामी हुने उनले बताए।
"मेरो एउटै चिन्ता भनेको यी बालबालिकाहरू अति आपत्कालीन अवस्थामा नपुगून् भन्ने हो। अभिभावकले कोभिड निको भएका बालबालिकाबारे निगरानी राख्नुपर्छ र लक्षण देखिएमा चिकित्सकलाई देखाउनुपर्छ," गुप्ताले भने।
"मलाई चिन्ता लाग्ने अर्को विषय भनेको के यस्ता बिरामीको सङ्ख्या बढ्यो भने उनीहरूलाई उपचार गर्न हामीसँग पर्याप्त स्रोतसाधन र सुविधाहरू छैन भन्ने हो।"

तस्बिर स्रोत, Getty Images
जलन हुने अवस्था दुर्लभ हो र समयमै उपचार गरे मृत्यु हुने घटना कम हुने देखिन्छ। मुम्बईका चार अस्पतालमा रहेका २३ बिरामीमध्ये एक जनाको मृत्यु भएको छ। के कारण यो अवस्था निम्तिन्छ भन्ने अझैसम्म स्पष्ट भएको छैन। कोभिड सङ्क्रमणपछि यान्टिबडी बनाउने कुरासँग सम्बन्धित छ? सङ्क्रमणपछि यो आफैँ विकसित हुन्छ? किन थोरै सङ्ख्यामा बालबालिका प्रभावित भएका हुन्? "यो अझै रहस्य नै छ," डा. बनिक भन्छन्।

सहायता कहिले खोज्ने
अमेरिकाको रोग नियन्त्रणसम्बन्धी निकाय सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रिभेन्सनले अभिभावकहरूलाई यदि आफ्ना सन्तानमा यी लक्षण वा चिन्ताजनक सङ्केत देखिए तत्कालै आपत्कालीन सेवा लिन सुझाएको छ:
- सास फेर्न समस्या भएमा
- छाती दुखेर निको नभएमा
- नयाँ दुविधा देखिएमा
- सुतेर उठ्न समस्या भएमा
- छालाको रङ अनुसार छाला, ओठ वा नङ पहेँलो, फुस्रो वा निलो भएमा
- नराम्ररी पेट दुखेमा








