इथियोपिया द्वन्द्व: टिग्रेमा हवाई हमला हुँदा 'दुई वर्षीय बालकसमेत घाइते, कम्तीमा ६० जनाको मृत्यु'

तस्बिर स्रोत, AFP via Getty Images
उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले ज्यान गुमाएका वा घाइते भएका विवरणहरू आएका छन्।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन्।
इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले 'आतङ्कवादी'हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ।
टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए।
इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ।
यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ।
करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्।
हवाई आक्रमणमा के भयो?
मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले बीबीसीलाई कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताए।
उक्त सङ्ख्या अझ बढ्नसक्ने ठानिएको छ।
चिकित्सकहरूले उनीहरूले हवाई आक्रमणबाट घाइते भएका दुई वर्षका एक जना बालक सहित दर्जनौँ व्यक्तिको उपचार गरिरहेको जनाएका छन्।
स्वास्थ्य अधिकारीहरूले रोयटर्स समाचार संस्थालाई इथियोपियाको सेनाले आक्रमण स्थलमा फसिरहेका मानिसहरूलाई सहयोग गर्न जानबाट रोकेको बताएका छन्।

तस्बिर स्रोत, Getty Images
एक जना १६ वर्षका किशोरले अस्पतालबाट बीबीसीलाई हवाई आक्रमणका कारण आफ्नो हातमा चोट लागेको र कैयौँ मानिसहरू भुईँमा ढलेको आफूले देखेको बताए।
उनले आफूले चिनेका एक जना व्यक्तिले ज्यान गुमाएको पनि बताए।
इथियोपियाको सेनाले सैनिक निशानामा मात्रै हमलाहरू गरिएको जनाएको छ।
एक जना प्रवक्ताले भनिन्, "हामीले बजार क्षेत्रमा कहिल्यै पनि आक्रमण गरेका छैनौँ। यो कसरी सम्भव भयो। हामी सही विन्दुमा हाम्रो निशाना लगाउन सक्षम छौँ।"
इथियोपियाको द्वन्द्वको पृष्ठभूमि के हो?
इथियोपियाको सरकारलाई छिमेकी इरिट्रियाको फौजको पनि साथ छ र उनीहरूले गएको नोभेम्बरमा क्षेत्रीय सत्तारूढ दल टिग्रे पिपल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ)लाई सत्ताबाट हटाउन कारबाही थालेका थिए।
उक्त महिनाको अन्त्यमा आफू विजयी भएको उसले घोषणा गरेको थियो।

तस्बिर स्रोत, Getty Images
टीपीएलएफ र प्रधानमन्त्री आबी अहमदबीच लामो समयदेखि उनका राजनीतिक सुधारका कदमहरूलाई लिएर मतभेदहरू थिए।
तर उसले टिग्रेको सङ्घीय सैनिक शिविरमा कब्जा जमाएपछि त्यसले द्वन्द्वलाई चर्कायो।
टीएएलएफले त्यसयता उक्त क्षेत्रका विभिन्न समूहहरूसँग मिलेर टिग्रे डिफेन्स फोर्स नामक विद्रोही समूह गठन गरेको छ।
दुई पटक मिति सारिएको चुनावमा मतदान गरेपछि प्रधानमन्त्री आबीले बीबीसीले छिमेकी इरिट्रियाका फौजसँग मिलेर उनीहरूलाई त्यहाँबाट हटाउन काम गरिरहेको बताए।
नरसंहार, सामूहिक बलात्कार गरेको र मानवीय सहयोगलाई अवरोध पुर्याएको जस्ता आरोप उनीहरूमाथि लागेको छ जसलाई इरिट्रियाले अस्वीकार गर्दै आएको छ।








