कोभिड: गरिब देशमा अक्सिजन सङ्कटका कारण 'जोगाउन सकिने' सङ्क्रमित बचेनन्

अक्सिजन

तस्बिर स्रोत, Reuters

    • Author, नवीन सिं खड्का
    • Role, वातावरण संवाददाता, बीबीसी विश्व सेवा

गरिब देशहरूमा अक्सिजनको 'बढ्दो सङ्कट'ले गर्दा बचाउन सकिने जीवनहरू गुमिरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य निकाय र स्वास्थ्यकर्मीहरूले बताएका छन्। 

विज्ञहरूले कम आय भएका देशहरू यस सङ्कटबाट सबैभन्दा बढ्ता प्रभावित भएको बताएका छन्। 

त्यसको कारण उनीहरूसँग अक्सिजन उत्पादन पूर्वाधार नहुनु र बढ्दो सङ्क्रमणबीच कोभिड खोपको सीमित वा कुनै पनि पहुँच नहुनु बताइएको छ। 

एभ्री ब्रेथ काउन्ट्स नामक विश्वभर रहेका स्वास्थ्य अभियानकर्मीहरूको एउटा समूहले कम आय भएका देशमा अक्सिजन आपूर्तिको अवस्था सुधार गर्न वकालत गरिरहेको छ।

उक्त समूहले यतिखेर १८ देशले अक्सिजन अभाव झेलिरहेको र ती अधिकांश अफ्रिकामा रहेको जनाएको छ। 

सेभ द चिल्ड्रेनकी जेशिका विनले भनिन्, "यी देशमा अक्सिजनको आवश्यकता उच्च छ र त्यो छिट्टै चाहिएको छ। त्यहाँ बढ्दो सङ्कट छ।" 

अक्सिजन अभावकै कारण बचाउन सकिने कति जीवनहरू गुमे भन्ने औपचारिक तथ्याङ्क त छैन।

तर ल्यान्सेट जर्नलमा गत महिना प्रकाशित एउटा अध्ययनका अनुसार १० अफ्रिकी देशका ६४ अस्पतालमा ज्यान गुमाएका आधाभन्दा धेरै बिरामीलाई अक्सिजन दिइएको थिएन।

बीबीसीले ती देशका केही मानिसहरूसँग कुराकानी गरेको छ:

नेपाल: "मेरो भाइले मर्न छोड्न भने"

नेपालको कैलाली जिल्लाका एक अवकाशप्राप्त सैनिक टिकाराम चापागाईँलाई १६ मेमा कोरोनाभाइरस सङ्क्रमण देखा पर्‍यो।

देशमा कोरोनाभाइरसको दोस्रो लहर देखा परिरहँदा उनको शरीरमा अक्सिजनको तह ६० प्रतिशततिर झर्‍यो।

भाइको लागि अक्सिजनको जोहो गर्न प्रेम चापागाईँको परिवारले उद्योगमै रातभर बिताएको थिए।

तस्बिर स्रोत, Deepak Chapagain

तस्बिरको क्याप्शन, भाइको लागि अक्सिजनको जोहो गर्न प्रेम चापागाईँको परिवारले उद्योगमै रातभर बिताएको थियो

सामान्यतः पल्स अक्सिमिटरका सहायताले नाप्दा मानिसमा औसत ९५ देखि १०० प्रतिशतबीच अक्सिजनको तह देखा पर्छ।

"हामीले उनलाई तीन वटा निजी अस्पतालमा लग्यौँ तर ती कुनैमा अक्सिजन थिएनन्," उनका दाइ प्रेम चापागाईँले भने।

"सरकारी अस्पतालमा पुर्‍याउँदा सबै शय्याहरू भरिएका पाइए र हामीले उनलाई भुईँमा राख्यौँ।"

अक्सिजन

अक्सिजनको जोहो गर्नका लागि परिवार र साथीहरू उद्योगतिर गएर लामबद्ध भए।

"त्यहाँ मानिसहरू सिलिन्डरका लागि पुरै झगडा गरिरहेका थिए र हामी रातभर लाइन लागेपछि एउटा व्यवस्था गर्न सक्यौँ," एक आफन्तले भने।

"जब हामीले नर्सलाई अक्सिजन दियौँ, त्यो छिट्टै सकिने डरले उनले कम खपत हुने गरी चलाइन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: 'आइसीयू नभएर सङ्क्रमित घरमै अक्सिजन लिन बाध्य'

उनको परिवारले काठमाण्डूसम्म लैजाने सोचे पनि त्यहाँ पनि अक्सिजनको अभाव रहेको उनीहरूले थाहा पाए।

उनका दाइ प्रेमले भाइले भनेको कुरा सम्झन्छन्, "यो सङ्कटमा हामीले कहीँ पनि अक्सिजन पाउँदैनौँ। अरू प्रयास गर्नु बेकार छ। मलाई मर्न देऊ।"

"उ निकै बलियो थियो। बितेको कुरा मलाई अझै सपनाझैँ लागिरहेछ," उनले सुनाए।

सरकारी विवरण अनुसार १५ जुनसम्ममा ८,५०० भन्दा धेरैले नेपालमा कोभिड जोडिएका घटनामा ज्यान गुमाएका छन्।

जसमध्ये आधाभन्दा धेरैको मृत्यु दोस्रो लहरका बेला भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार यतिखेर दैनिक अक्सिजन माग ३०,००० सिलिन्डरको हाराहारीमा रहे पनि देशको दैनिक उत्पादन क्षमता १३,००० सिलिन्डर जति मात्र छ।

सोमालिया: 'अक्सिजन अभावले दैनिक जसो बिरामी मर्छन्'

डा. जमा अब्दी महम्मुद र उनको टोली सोमालियाको पन्टल्याण्डस्थित अस्पतालमा सङ्घर्षरत छन्।

"दैनिक पाँचदेखि १० जना कोभिड बिरामी अक्सिजन अभावमा ज्यान गुमाएको देख्दा निकै पीडा हुन्छ," उनले अवस्था सुनाए।

"पर्याप्त अक्सिजन भएका भए ती बचाउन सकिन्थे।"

डा जमा अब्दी महम्मुद सोमालियाको पन्टल्याण्डस्थित एक सरकारी अस्पतालका निर्देशक हुन्।

तस्बिर स्रोत, Dr. Jama Mahamud

तस्बिरको क्याप्शन, डा जमा अब्दी मुहम्मद सोमालियाको पन्टल्याण्डस्थित एक सरकारी अस्पतालका निर्देशक हुन्

सरकारी अस्पतालका निर्देशक डा. मुहम्मदले एप्रिलमा त्यहाँ एक जुम्ल्याहा सन्तान जन्माएकी आमाको उपचार गरिरहेका थिए।

"उनले सामान्य रूपमै सन्तान जन्माइन् तर केही दिनपछि उनमा कोरोनाभाइरस पोजेटिभ देखियो। हामीले उनलाई एक्लाएर राख्यौँ तर उनको अक्सिजन तह छिट्टो घट्न थाल्यो र कुनै अक्सिजन उपलब्ध नहुँदा उनको छिट्टै मृत्यु हुन पुग्यो।"

जन्मेको केही दिनमै आमा गुमाएका ती जुम्ल्याहा देखेर आफू निकै दुःखी भएको उनी सुनाउँछन्।

अक्सिजन

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार १५ जुनमा त्यहाँ पुष्टि भएका १४,८१७ सङ्क्रमितमध्ये ७७४ जनाले ज्यान गुमाएका थिए।

स्वास्थ्यकर्मीहरूले वास्तविक विवरण निकै गुणा बढ्ता हुनसक्ने बताउँछन्।

त्यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीहरूका अनुसार कुनै पनि सरकारी अस्पतालमा अक्सिजन प्लान्ट छैन। 

ती अधिकारीले भने, "राजधानी मोगादिसुका तीन निजी अस्पतालमा मात्र अक्सिजन प्लान्ट छ। तर दातृ निकायको सहयोगमा हामीले छिट्टै केही सरकारी अस्पतालमा १० वटा अक्सिजन प्लान्ट जडान गर्नेछौँ।"

पाराग्वे: "तीन अस्पतालमा प्रयास गर्दा पनि दाइले ज्यान गुमाए"

१० मेमा २८ वर्षे लिओनार्दो रेजालाको अक्सिजन तह घट्न थालेपछि उनको परिवारले अक्सिजनको खोजी गर्न थाल्यो।

"हामीले कहीँ पनि उनका लागि अक्सिजन पाउन सकेनौँ," उनकी बहिनी इस्तेफानिअ रेजालाले भनिन्।

"हामीले प्रयास गरेका दुई वटा अस्पतालले उनको भर्ना नै लिएनन्।"

"उनको अक्सिजन तह ८५ देखि ८७ प्रतिशतबीच थियो तर उनी धेरै बिरामीजस्ता थिएनन्। कयौँ बिरामीहरू विभिन्न अस्पतालमा कुरिरहेका थिए। सिकिस्त भएकाले मात्र भर्ना पाउँथे।"

इस्तेफानिअ रेजालाले तिब्र प्रवाहको अक्सिजन जोहो नहुँदा आफ्ना दाजुको ज्यान गुमेको बताउँछिन्।

तस्बिर स्रोत, Estefania Rejala

तस्बिरको क्याप्शन, इस्तेफानिअ रेजालाले तीव्र प्रवाहको अक्सिजन जोहो नहुँदा आफ्ना दाजुको ज्यान गुमेको बताउँछिन्

पाराग्वेको एक अस्पतालमा अर्को दिन बिहान रेजालाको अवस्था झन् बिग्रियो र उनलाई अर्कोमा लगियो।

"उनलाई अक्सिजन कन्सन्ट्रेटर भएको एउटा कोठामा लगियो। उनले अक्सिजनको प्रवाह बढाउन हामीलाई सङ्केत गरे," रेजालाले भनिन्।

"तर त्यो पहिल्यै उच्च बिन्दुमा चलिरहेको थियो। उनलाई पीडा भइरहेको थियो र अप्ठ्यारो भएको थाहा हुने गरी सङ्घर्ष गरिरहेका थिए।"

"हामीले अनुनय विनय गरे पनि चिकित्सकले उनलाई राम्रो अक्सिजन प्रवाह भएको आईसीयू कक्षको व्यवस्था गर्न सकेनन्।"

अक्सिजन

त्यसको केही बेरमा रेजाला ढले र उनको मृत्यु भयो।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार पाराग्वेमा महामारीको दोस्रो लहरमा ४०० प्रतिशतसम्मले अक्सिजनको माग बढेको थियो तर त्यहाँको क्षमताले ७० प्रतिशत मात्र धानेको थियो।

१५ जुनसम्ममा पाराग्वेमा ३,९१,३४६ कोभिडका घटना पुष्टि भएकामा १०,८३४ जनाले ज्यान गुमाएका थिए र तीमध्ये आधाभन्दा धेरैको मृत्यु गत दुई महिनामा भएको थियो।