अमेरिकी इन्धन पाइपलाइनको साइबर हमलामा बुझाइएको मध्ये अधिकांश फिरौती फिर्ता

तस्बिर स्रोत, Colonial Pipeline
अमेरिकाले एउटा इन्धन पाइपलाइन अघिल्लो महिना बन्द गराउने गरी हमला गर्ने साइबर समूहलाई तिरिएको ४४ लाख डलर फिरौती मध्ये अधिकांश फिर्ता गराएको बताएको छ।
डार्क साइड नामक उक्त समूह पूर्वी युरोप र सम्भवत रुसबाट काम गर्ने अमेरिकी अधिकारीहरू बताउँछन्।
उक्त समूहले अघिल्लो महिना पाइपलाइनको अनलाइन प्रणालीमा घुसपैठ गरेको थियो।
र्यान्समवेअर आक्रमणले कैयौँ दिनसम्म आपूर्ति प्रभावित पारेको थियो र इन्धन अभाव निम्त्याएको थियो।
उक्त फर्मको सो पाइपलाइनले पूर्वी तटको ४५ प्रतिशत डिजेल, पेट्रोल र जेट इन्धन ढुवानी गर्ने गर्थ्यो।
बिटकोइन कब्जा
सोमबार उपमहान्यायाधिवक्ता लिजा मोनाकोले अनुसन्धानकर्ताहरूले फिरौती बुझाइएको मध्ये अधिकांश अर्थात् २३ लाख डलर बराबरको ६३ दशमलव ७ बिटकोइन फेला पारि कब्जामा लिएको बताइन्।
उनले गुप्तचर निकायहरूले ह्याकरहरूको डिजिटल वालेटमा पहुँच कायम गर्दै रकम कब्जामा लिएको बताइन्। अमेरिकी सरकारले विगतमा साइबर हमलाहरूका लागि कम्पनीहरूलाई फिरौती नतिर्न सुझाव दिएको थियो।
उसले कम्पनीहरूलाई फिरौती माग्न सक्रिय हुने ह्याकरहरू विरुद्ध सुरक्षा प्रणाली वृद्धि गर्न भनेको थियो।
वाणिज्य मन्त्री गिना राइमोन्डोले आगामी महिना रुसी नेता भ्लादिमीर पुटिनसँग गर्ने योजना गरिएको बैठकमा अमेरिकी राष्ट्रपति बाइडनले यस्ता आक्रमणका विषयमा कुरा उठाउने जानकारी दिइन्।
साइबर हमलापछि गएको मे ७ मा कोलोनियल पाइपलाइन बन्द भएको थियो।
एउटा विज्ञप्तिमा कोलोनियल पाइपलाइन कम्पनीका प्रमुख कार्यकारी जोसेफ ब्लन्टले अमेरिकी अनुसन्धान निकाय एफबीआइको द्रुत र व्यावसायिक चरित्रको प्रशंसा गरे।
यो अमेरिकाका लागि फिरौती उठाउने ह्याकरहरू विरुद्धको महत्त्वपूर्ण विजय भएको बीबीसीका साइबर संवाददाता जो टाइडी बताउँछन्।

तस्बिर स्रोत, Colonial Pipeline
आफूलाई थाहा भएसम्म यो फिरौती फिर्ता आएको पहिलो घटना भएको उल्लेख गर्दै उनले यसले साइबर अपराधीहरू विरुद्ध कुन हदसम्म अमेरिका जान इच्छुक छ त्यो देखाएको बताए।
यसले दण्डहीनता सहित काम गरिरहेका रुस जस्ता राज्यमा रहेका समूहहरूलाई पनि दह्रो सन्देश दिएको उनको भनाइ छ।
नोक्सान
गएको मे महिनाको हमलापछि कोलोनियलले क्रिप्टोकरेन्सीमा शुल्क तिरेको थियो र त्यसको बदलामा ह्याकरहरूले कब्जामा लिएको उसको प्रणाली खुल्ला गर्ने डिक्रिप्सन टुल उपलब्ध गराएका थिए।
तर त्यसबाट उक्त कम्पनीको प्रणाली तत्कालै खुल्न नसकेको वाल स्ट्रिट जर्नलले जनाएको छ।
ब्लन्टले डार्कसाइड नामक समूहसँग विगतमा जुझेका विज्ञहरूसँगको परामर्शपछि आफूले मे ७ मा फिरौती तिर्ने निर्णय लिएको बताए।
उनले कतिपय प्रणाली पुन: सञ्चालनमा आउन महिनौँ लाग्न सक्ने र अन्ततः आक्रमणले कम्पनीलाई दशौँ लाख डलर नोक्सान पुर्याउने बताए।
साइबर हमलापछि डार्कसाइड समूहले सार्वजनिक रूपमा उक्त घटनाको जिम्मेवारी लिएको थियो।आफ्नो वेबसाइटमा उक्त समूहले लेखेको थियो, "हाम्रो उद्देश्य पैसा कमाउनु र समाजलाई दुख नदिनु हो।"
"हामी भूराजनीतिक प्रतिस्पर्धामा छैनौँ र कुनै पनि सरकारसँग हामीलाई जोड्नु आवश्यक छैन र हाम्रो उद्देश्यको ..खोजी गरिनुपर्ने आवश्यकता पनि छैन," उक्त समूहको भनाइ थियो।








