नेपाल राजनीतिः प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

तस्बिर स्रोत, RSS
मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भङ्ग गरेर मध्यावधि निर्वाचनको मिति तोक्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बीबीसीलाई दिएको जानकारी अनुसार प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपति समक्ष कार्तिक २६ र मङ्गसिर ३ गते चुनावको मिति सिफारिस गरिएको छ।
उनका अनुसार निर्णय लगत्तै राष्ट्रपति कार्यालयमा सिफारिस पठाइसकिएको छ।
शुक्रवार मध्यराततिर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिकालागि परेको केपी ओली र शेरबहादुर देउवाको दाबी अस्वीकृत गरिएको जनाएको थियो।
त्यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका थिए।
बिहीवार प्रधानमन्त्री केपी ओलीले आफूले विश्वासको मत प्राप्त गर्न नसक्ने भएकाले नयाँ सरकार गठन प्रक्रिया शुरू गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।
राष्ट्रपतिले संविधानको धारा ७६ ५ बमोजिम सरकार गठनका लागि आवश्यक बहुमत सहित आउन दलहरूलाई शुक्रवार साँझ ५ बजेसम्मको समयसीमा दिएकी थिइन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दाबी पेश गरेका गरेका थिए।
शेरबहादुर देउवाले कांग्रेसबाहेक माओवादी केन्द्र, र सत्तारुढ नेकपा एमालेका २६ जना सांसद र जनता समाजवादी पार्टीका सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए।
नेकपा एमालेका केपी ओलीले संसदीय दलको नेताको हैसियतमा आफ्नो दलको समर्थन आफूलाई रहेको भन्दै जनता समाजवादी पार्टी नेपालको अध्यक्ष र संसदीय दलका नेताको र आफ्नो हस्ताक्षर सहितको दावी पेश गरेका थिए।








