इजरेल-गाजा हिंसाः जो बाइडन युद्धविराम चाहन्छन् तर इजरेल भन्छ, 'सैन्य कारबाही जारी'

इजरेली हवाई हमला

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजा सङ्घर्ष उल्लेखनीय मत्थर हुने आशा गरेको बताएका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनले युद्धविराम तर्फको मार्ग खुलेको हेर्न चाहेको जनाएको छ।

इजरेल अझै कारबाहीको पक्षमा

इजरेललको बलियो समर्थक अमेरिकाले हालसम्म त्यहाँको लडाइँबारे संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा कुनै संयुक्त वक्तव्य जारी हुन दिएको छैन।

राष्ट्रपति बाइडनको आह्वानको प्रतिक्रियामा प्रधानमन्त्री नेतान्याहुले चाहिँ इजरेली नागरिकहरूका निम्ति शान्ति सुरक्षा बहाली नभएसम्म सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेको इजरेली सञ्चारमाध्यमहरूले जनाएका छन्।

लडाइँ सुरु भएको १० औँ दिनमा पनि प्यालेस्टिनी विद्रोहीहरूद्वारा रकेट प्रहार अनि इजरेली सेनाद्वारा हवाई आक्रमणको सिलसिला जारी छ।

बुधवार लेबननबाट चारवटा रकेट इजरेलमाथि प्रहार गरियो। बदलामा लेबननी क्षेत्रका कैयौँ निशानामा इजरेली सेनाले गोलाबारी गर्‍यो।

यसले लडाइँलाई थप चर्काउने हो कि भन्ने स्पष्ट भएको छैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः जेरुसलेममा तनाव बढ्नुको कारण

के गोप्य कुराकानी सफल हुन लागेको हो?

हमासका एक वरिष्ठ अधिकारीले इजरेलसँग आगामी दुई दिनभित्र युद्धविराम हुने आशा व्यक्त गरेका छन्।

मुसा अबु मार्जुकले लेबननको टीभीसँग गरेको टिप्पणीले गोप्य रूपमा भइरहेका कुराकानी सफलताउन्मुख भएको देखाउँछ।

इजरेलस्थित संवाददात भन्छन्, हवाई हमलाको तेजीमा पनि केही कमी देखिएको छ।

पूर्वी जेरुसलेममा हप्तौँसम्म इजरेल-प्यालेस्टीनी तनाव बढिरहेपश्चात् मुस्लिम तथा यहुदी दुवैको पवित्र धार्मिक स्थलमा झडपहरू भएपछि अहिलेको सङ्घर्ष सुरु भएको हो।

इजरेली हवाई हमला

तस्बिर स्रोत, Reuters

गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले इजरेललाई उक्त क्षेत्रबाट पछि हट्न चेतावनी दिँदै रकेट प्रहार गरेको थियो।

बदलामा इजरेलले हवाई हमला थालेको थियो।

एक सयभन्दा धेरै महिला तथा बालबालिकासहित गाजामा २२७ जनाको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ। तीमध्ये १५० जना विद्रोही लडाकू भएको इजरेलले दाबी गरेको छ।

इजरेलमा दुई बालबालिकासहित १२ जनाको ज्यान गएको बताइएको छ।

इजरेलका अनुसार गाजाबाट विद्रोहीहरूले इजरेलतर्फ चार हजार रकेट प्रहार गरिसकेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेल-गाजा हिंसाः टीभीको प्रत्यक्ष प्रसारणमा एउटा भवन यसरी ध्वस्त भएको देखियो

कहाँ पुगे कूटनीतिक प्रयास?

सङ्घर्षविराम गराउने कूटनीतिक प्रयासहरू सफल भएका छैनन्।

बुधवार राष्ट्रपति बाइडनले सङ्घर्ष सुरु भएयता चौथो पटक प्रधानमन्त्री नेतान्याहुलाई फोन गरेका थिए।

अमेरिकाले युद्धविरामको आह्वान गर्दै आएको छ। तर उसले राष्ट्रसङ्घमा कुनै पनि संयुक्त वक्तव्य जारी हुन भने दिएको छैन।

सुरक्षा परिषद्‌को प्रस्तावका निम्ति फ्रान्सले गरेको पछिल्लो पहल समेत अमेरिकाले अहिले त्यसको समय नआएको भनिदिएपछि विफल भएको छ।

राष्ट्रसङ्घका निम्ति प्यालेस्टिनी प्रतिनिधि रियाद मन्सुरले परिषद्‌ले एकताबद्ध अडान लिन नसक्नु लज्जाजनक भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इजरेलले एपी र अल जजिराको कार्यालय बसेको भवन ध्वस्त पारिदिएपछि