कोरोना भाइरस नेपालः सङ्क्रमणको पछिल्लो अवस्था कहाँ कस्तो

तस्बिर स्रोत, SOPA IMAGES
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पछिल्लो लहरको असर देशका विभिन्न स्थानमा देखिन थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
गत एक साताभित्र काठमाण्डूमा सबैभन्दा धेरै आठ सयभन्दा बढी सङ्क्रमित देखिएका छन् भने भक्तपुर, कास्की, बाँके र रूपन्देही जिल्लामा एक सयभन्दा धेरै सङ्क्रमित फेला परेका छन्।
सङ्क्रमणको दृष्टिकोणले कुनै बेला ‘हटस्पट’ को रूपमा चिनिएको प्रदेश नं २ को पर्सा जिल्लामा पनि केही दिनयता सङ्क्रमण बढ्दो क्रममा रहेको पाइएको छ।
गत एक साताभित्र पर्सामा ८७ जना सङ्क्रमित फेला पारिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
त्यस्तै मोरङमा ७१, चितवनमा ५६, कैलालीमा ५३ र दाङमा ५१ जना सङ्क्रमित एक साताभित्र फेला परेका छन्।
पाँचथर, जाजरकोट, अछाम, मुगु लगायत केही जिल्लामा भने एक/एकजना सङ्क्रमित फेला परेको मन्त्रालयको विवरणमा उल्लेख छ।
स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीहरूका अनुसार पछिल्लो समय सङ्क्रमितहरू बढेसँगै अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा पाइएको छ।
एक साताभित्र सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ५२ जना आईसीयूमा भर्ना भएका छन् भने वाग्मती प्रदेशमा दोस्रो बढी ४१ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयद्वारा मङ्गलवार सार्वजनिक विवरणमा उल्लेख छ।
मङ्गलवार अपराह्णसम्म वाग्मती प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका चारजना सङ्क्रमित भेन्टिलेटरमा छन्।
सुदूरपश्चिम प्रदेशमा एकजना र बाँकी चार प्रदेशमा कुनै सङ्क्रमित भेन्टिलेटरमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
जनस्वास्थ्यविद् के भन्छन्?
कतिपय जिल्लामा बढी सङ्क्रमित देखिँदा केहीमा कम सङ्क्रमित फेला परेकोमा ढुक्क हुने अवस्था नरहेको भन्दै सङ्क्रामक रोग विशेषज्ञ र जनस्वास्थ्यविद्ले सचेत गराएका छन्।
“परीक्षण नभएर पनि कतिपय जिल्लामा कम सङ्क्रमित देखिएको हुन सक्छ,” सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बुधवार बीबीसी न्यूज नेपालीसित भने।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि डा. सुवेदीसँग सहमत देखिन्छन्।

तस्बिर स्रोत, Map: Ministry of Health & Population
“काठमाण्डूमा कतिपय उपचारका क्रममा शल्यक्रियाअघि लगायतका अवस्थामा अस्पतालहरूले कोभिड परीक्षण गर्ने गरेकोले पनि यहाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको हुनुपर्छ,” डा. मरासिनीले थपे।
पछिल्लो समय भारतबाट नेपालीहरूका साथै भारतीय नागरिकहरूको आगमन बढेसँगै उनीहरूबाट सङ्क्रमण फैलिरहेको हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञ र जनस्वास्थ्यविद्हरूको आकलन छ।
चैत्र ६ गतेयता सीमा नाकाहरूमा १०,२७६ परीक्षण गरिएकोमा ५३४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयको तथ्याङ्क छ।
मङ्गलवारमात्रै सीमा प्रवेश गर्ने ८१७ जनालाई परीक्षण गरिएको र ५७ जनामा सङ्क्रमण देखिएको थियो।
रोकथाम र नियन्त्रणका लागि के गर्ने?
नेपालले पनि सङ्क्रमण नियन्त्रण तथा रोकथामका विश्वव्यापी अभ्यास एवम् मापदण्डहरूलाई अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
“आमनागरिकले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत जनस्वास्थ्यसम्बन्धी मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्यो भने राज्यले परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ्गहरू बढाउनुपर्यो,” डा. सुवेदीले सुझाए।
सरकारले ‘प्यासिभ सर्भेलिएन्स’ को नीति अवलम्बन गरेसम्म सङ्क्रमण नियन्त्रण तथा रोकथाम सम्भव नहुने डा. मरासिनीको दाबी छ।
“सङ्क्रमितहरू आफैँ परीक्षण गराउन जानुपर्ने अवस्था रहेसम्म सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न गाह्रो छ। राज्यले एक्टीभ सर्भेलिएन्सको नीति लिएर आफैँ परीक्षण, कन्ट्याक्ट ट्रेसिङ्गको काम गर्यो भने सकिन्छ,” डा. मरासिनीले थपे।
सरकारले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि ‘कठोर’ कदम चाल्नुअघि नै जनस्वास्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्न स्वास्थ्य अधिकारीहरूले जोड दिँदै आएका छन्।
पछिल्लो समय सङ्क्रमित हुनेमध्ये १८ वर्षमुनिका बालबालिकाको सङ्ख्या बढ्दो क्रममा देखिएको पृष्ठभूमिमा केही समयका लागि विद्यालयहरू बन्द गर्नुपर्ने जनस्वास्थ्यविद्हरूको सुझाव छ।











