इरानले भन्यो- 'एउटा परमाणु केन्द्र आतङ्ककारी कार्यको निसानामा पर्‍यो'

गत अक्टोबरमा लिइएको नाटान्जको स्याटेलाइट तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत अक्टोबरमा लिइएको नाटान्जको स्याटेलाइट तस्बिर

इरानको एउटा परमाणु केन्द्र "आतङ्ककारी कार्य"को निसानामा परेको त्यहाँका परमाणुका एकजना उच्च अधिकारीले बताएका छन्।

इरानले युरेनियमलाई अझ बढी मात्रामा संवर्द्धन गर्ने सेन्ट्रीफ्यूजहरू चलाउन सुरु गरेको भोलिपल्टै यस्तो हमला भएको हो।

ती अधिकारीले उक्त कार्यमा कसको संलग्नता छ भन्ने बताएनन्।

तर उनले अन्तर्राष्ट्रिय समुदायलाई "परमाणु आतङ्कवाद"लाई सम्बोधन गर्न आह्वान गरे।

इजरेली सञ्चारमाध्यमले चाहिँ उक्त घटना इजरेली साइबर हमलाको परिणाम भएको सङ्केत गरेका छन्।

गत वर्ष पनि नाटान्ज भूमिगत परमाणु केन्द्रमा आगो लागेको थियो।

त्यसलाई अधिकारीहरूले साइबर हमलाको परिणाम भनेका थिए।

सन् २०१५ मा भएको एउटा परमाणु सम्झौतालाई पुनर्जीवित पार्ने कूटनीतिक पहल भइरहेका बेला यो नयाँ घटना भएको हो।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई उक्त सम्झौताबाट अलग गरेका थिए।

line

तर अहिलेका राष्ट्रपति जो बाइडनले त्यसलाई पुन: अघि बढाउने पहल गरिरहेका छन्।

शनिवार इरानी राष्ट्रपति हसन रुहानीले नाटान्जमा नयाँ सेन्ट्रिफ्यूजको उद्घाटन गरेका थिए।

त्यो देशको युरेनियम संवर्द्धन कार्यक्रमको मुख्य क्षेत्र हो।

युरेनियम संवर्द्धन गर्नका लागि सेन्ट्रिफ्यूजहरू आवश्यक पर्छन्।

संवर्द्धित युरेनियमलाई उर्जा उत्पादनका लागि रियाक्टरका रूपमा र आणविक हतियार बनाउन पनि प्रयोग गरिन्छ।

इरानले के भन्यो?

एटोमिक इनर्जी अर्गनाइजेसन अफ इरान (एईओआई) का एकजना प्रवक्ता बेहरुज् कमालवन्दीले आइतवार बिहान एउटा घटना भएको बताए।

उक्त घटना त्यस परमाणु क्षेत्रको उर्जा नेटवर्कसँग जोडिएको उनको भनाइ छ।

उनले त्यसबारे थप जानकारी दिएनन् तर इरानको फार्स न्यूज एजेन्सीलाई त्यहाँ कसैको पनि मृत्यु नभएको र चुहावट पनि नभएको बताए।

line

पछि सरकारी टेलिभिजनले एउटा वक्तव्य पढेको थियो। त्यसमा एईओआईका प्रमुख अली अकबर सालेहीले उक्त घटनालाई "तोडफोड" र "परमाणु आतङ्कवाद" भनेका छन्।

अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी (आईएईए) ले उक्त घटनाबारे आफू जानकार रहेको तर त्यसबारे केही प्रतिक्रिया नदिने बताएको छ।

इजरेलको भूमिका

इजरेली सार्वजनिक प्रसारक कानले उक्त घटना इजरेली साइबर हमला हुनसक्ने अनुमान गरिएको बताएको छ।

उसले सन् २०१० को एउटा कम्प्युटर भाइरसको उदाहरण दिँदै त्यस्तो दाबी गरेको हो।

त्यसबेला अमेरिका र इजरेल मिलेर उक्त भाइरस बनाएको विश्वास गरिएको थियो।

त्यसलाई नाटान्जको सेन्ट्रिफ्यूज नष्ट गर्न प्रयोग गरिएको थियो।