अमेरिकी निर्वाचन २०२०: डोनल्ड ट्रम्पद्वारा 'व्यवस्थित ढङ्गले' सत्ता हस्तान्तरणको वाचा

तस्बिर स्रोत, White House via Twitter
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'व्यवस्थित ढङ्गले' शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन्।
उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यसो भनेका छन्।
ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै 'जघन्य हमला' बताएका थिए।
आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन्।
उनको उक्त अभिव्यक्तिलाई नोभेम्बरमा चुनाव हारेपछिको पहिलो सार्वजनिक स्विकारोक्तिका रूपमा हेरिएको छ।
नोभेम्बरमा उनले राष्ट्रपति-निर्वाचित जो बाइडनप्रति लक्षित ट्वीट गर्दै हार अस्वीकार गरेका थिए।
उनले लेखेका थिए: "चुनावमा धाँधली भएका कारण उनले जिते।"
ट्र्म्पले के भने?
भिडिओ सन्देशमा ट्रम्पले 'कङ्ग्रेसले नतिजालाई प्रमाणिकरण गरिसकेकाले २० ज्यानुअरीमा नयाँ प्रशासनले काम थाल्ने' बताएका छन्।
"मेरो प्राथमिकता अब सहज, व्यवस्थित र निर्वाध रूपमा सत्ता हस्तान्तरणमा हुनेछ। यो अवस्थाले निदान र मेलमिलाप खोजेको छ। "
उनले आफ्ना 'गज्जबका समर्थकहरू'को समेत प्रशंसा गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
उनले 'हाम्रो अविश्वसनीय यात्रा एउटा सुरुवात मात्र भएको' बताएका छन्।
छोटो उक्त भिडिओ फूटेजमा ट्रम्पले बुधवारको दङ्गा उक्साउनेगरी यसअघिका चुनावी धाँधली सम्बन्धी आफ्ना आधारहीन दाबीका बिषय उल्लेख गरेनन्।
पृष्ठभूमि
अमेरिकी कङ्ग्रेसका वरिष्ठ डेमोक्र्याटिक नेताहरूले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५औँ संशोधन लागु गर्न आह्वान गरेका छन्।
उक्त संशोधनमा राष्ट्रपतिलाई काम गर्न असक्षम भन्दै हटाउन सक्ने व्यवस्था छ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यदि त्यसो नभए उनले राष्ट्रपतिलाई महाअभियोग पनि लगाउनसक्ने बताइन्।
सिनेटमा डेमोक्र्याटिक नेता चक सुमरले अवस्था 'माथिल्लो स्तरको सङ्कट' भएको बताए।
बाइडनले गरे आलोचना
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले बुधबार क्यापिटल हिलमा भएको विद्रोहका लागि ट्रम्पलाई जिम्मेवार ठहर्याउँदै उनीमाथि शाब्दिक हमला गरेका छन्।

तस्बिर स्रोत, Getty Images
उनले बुधवार अमेरिकी इतिहासकै अध्यारो दिन भएको बताउँदै राष्ट्रपति ट्रम्पले 'गएका चार वर्ष प्रजातन्त्र र कानुनी शासनको मानमर्दन गर्नमा बिताएको' बताए।
उप-राष्ट्रपति माइक पेन्ससहित केही नेतृत्वदायी रिपब्लिकनहरू ट्रम्पबाट टाढिएका बेला बाइडनको यस्तो प्रतिक्रिया आएको हो।









