पूर्व सहकर्मी नेताको नजरमा प्रचण्डको दल: ‘कम्युनिस्ट वा वामपन्थी होइन, कांग्रेस सरह’

मोहन वैद्यको नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का एकजना प्रमुख नेताले नेकपाको विभाजन आफ्नो निम्ति 'हर्ष न बिस्मात'को विषय भएको टिप्पणी गरेका छन्।
त्यस्तो टिप्पणी गर्ने नेता सीपी गजुरेल सशस्त्र सङ्घर्षका बेला तत्कालीन माओवादीका प्रमुख नेतामध्ये एक थिए।
उनले बीबीसीसँग भने, "नेकपाको विभाजनप्रति हामीलाई न हर्ष छ, न विस्मात।"
तर उनका भनाइमा 'विचार र सिद्धान्तको समानताका आधारमा थोरै पार्टी हुनु राम्रो' हो। त्यसका साथै नेकपाको विभाजनले राष्ट्रिय राजनीतिमा पनि असर गर्नेछ।
पूर्व एमालेभित्रको फाटो
नेकपा फुटेपछि बन्ने केपी शर्मा ओली र प्रचण्डको नेतृत्वका दुई वामपन्थी दलसँग अन्य साना वामपन्थी पार्टीहरूको एकता हुने सम्भावना बढ्ने कतिपयको ठम्याइ पाइन्छ।
त्यसमा पनि धेरैलाई चासो प्रचण्ड नेतृत्वको दलले पूर्व माओवादीलाई सङ्गठित गर्न सक्छ कि सक्दैन भन्नेमा चासो पाइन्छ।
प्रचण्डमाथि 'क्रान्तिलाई धोका दिएर एमालेसँग मिसिएको' आरोप उनका पूर्ववर्ती माओवादीले लगाउने गरेका छन्।
तर नेकपा विभाजनको बेला कतिपय पूर्व माओवादीका नेताले ओलीलाई साथ दिएको देखिए पनि उनले पूर्व एमालेभित्र ठूलै फाटो ल्याएर उच्च नेताहरूलाई आफ्नो पक्षमा पारेको देखिन्छ।
पूर्वएमालेलाई प्रचण्डले ताने कि तानिए?
यसलाई प्रचण्डले पूर्व एमालेको ठूलो हिस्सालाई आफ्नो 'राजनीतिक पथ'मा तान्न सफल भएको अर्थ लगाउन मिल्दैन?
नेता सीपी गजुरेलले हाँस्दै प्रश्न गरे, "प्रचण्डले तान्नु भएको हो कि तानिनु भएको हो?"

तस्बिर स्रोत, cmprachanda.com
उनले प्रचण्ड नेतृत्वको पार्टीलाई नेपाली कांग्रेसभन्दा फरक रूपमा हेरेका छैनन्।
उनी भन्छन्, "उहाँको दल पनि कांग्रेस जस्तै हो, उहाँहरूले भनेको समाजवाद पनि एउटै हो, दुवै पुँजीपतिको पार्टी हो। उहाँहरूको दललाई हामीले कम्युनिस्ट वा वामपन्थी पार्टी नै मान्दैनौँ।"
त्यसैले प्रचण्डको नेतृत्वको दलसँग आफ्नो पार्टीको एकताको सम्भावना नरहेको उनले बताए।
तर लिम्पियाधुरासम्मको भूमि फिर्ता लिन ओलीले अग्रसरता नदेखाएको भन्दै उनले एमसीसीको विषयमा पनि प्रचण्ड पक्षको अडान उचित रहेको मूल्याङ्कन सुनाए।
प्रचण्डको दलबाट छुट्टिएर मोहन वैद्यको नेतृत्वमा बनेको दलमा रामबहादुर थापा लगायतका नेताहरू पनि थिए।
तर उनीहरू पछि प्रचण्डको पार्टीसँग एकता गरे तर वैद्यलाई छाडेका नेत्रविक्रम चन्द अझै अलग छन्।










