नेकपा विवाद: ओलीलाई हटाएर नेपाललाई अध्यक्ष, पहिलो अध्यक्ष प्रचण्ड कि नेपाल?

ओली र प्रचण्ड

तस्बिर स्रोत, RSS

Published

प्रचण्ड नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ।

केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार ओलीलाई अध्यक्षबाट निस्कासन गर्ने निर्णय भएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि भएको नेता वर्षमान पुनले जानकारी दिए।

प्रधानमन्त्री ओलीले संसद्को तल्लो सदन विघटन गर्न सिफारिस गरेपछि बसेको स्थायी कमिटी बैठकले उनलाई कारबाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने निर्णय गरेको थियो।

नेता पुनका अनुसार दुवै अध्यक्षको हैसियत समान रहने छ। माधव नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले पनि दुवैको बराबर हैसियत रहने जानकारी दिए।

प्रचण्डले यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए।

तर यसअघि आजै भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्ड लगायत सबैलाई यथावत राखेर कमिटी बिस्तार गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिएको थियो।