के भारतका ब्याङ्कहरूले जनविश्वास गुमाउँदै छन्?

लक्ष्मी विलास ब्याङ्क खराब कर्जाका कारण सङ्कटग्रस्त बनेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लक्ष्मी विलास ब्याङ्क खराब कर्जाका कारण सङ्कटग्रस्त बनेको छ

बितेको १५ महिनामा धेरै खराब कर्जाका कारण भारतका तीन ठूला ब्याङ्कहरू सङ्कटग्रस्त बनेपछि विज्ञहरूले समग्र भारतीय ब्याङ्किङ् प्रणालीको वित्तीय स्वास्थ्यबारे प्रश्न उठाएका छन्।

बीबीसी सम्वाददाता आकृती थापरको एक रिपोर्ट:

“हाम्रो व्यापारलाई शुरुमा कोभिड-१९ ले थला पार्‍यो। दुई महिनासम्म केही आम्दानी भएन। अनि हालसालै हाम्रो ब्याङ्कसमेत समस्यामा परेपछि हाम्रा बचत रकम पनि हामीले चलाउन पाएका छैनौँ र हाम्रा दैनिक कारोबार हुन सकेको छैन। कसरी कर्मचारीलाई पैसा दिने थाहा छैन,” लक्ष्मी विलास ब्याङ्कका बचतकर्ता ५० वर्षीय मङ्गीलाल परीहारले दुखेसो पोखे।

मुम्बई शहरको बाहिरी भागमा उनको सानो किराना स्टोर छ।

प्राय: भारतीयहरूले कुनै ब्याङ्क रोज्नुपर्दा दुईवटा कुरामा ध्यान दिने गरेको पाइन्छ। एक, तिनले बचतमा दिने ब्याजदर र अर्को ती घरभन्दा कति नजिक छन्।

परीहारले पनि यिनै कुरामा भर परेर उक्त निजी ब्याङ्क रोजेका थिए।

तर भारतको केन्द्रीय रिजर्भ ब्याङ्क अफ इण्डिया आरबीआईले गत महिना ९४ वर्ष अगाडि स्थापित उक्त ब्याङ्कको वित्तीय स्वास्थ्य सङ्कटग्रस्त भएको भन्दै उसको कारोबारमा अङ्कुश लगायो। जसअनुसार बचतकर्ताहरूले एक महिनामा अब केवल भारु २५,००० सम्म मात्र झिक्ने पाउनेछन्।

पारीहारले यस्तो दु:ख पाएको यो पहिलोपटक भने होइन। आठ वर्ष अगाडि एउटा स्थानीय सहकारी ब्याङ्क सङ्कटग्रस्त हुँदा उनले आफ्नो बचत दुई वर्षसम्म झिक्न पाएनन्।

एकपछि अर्को

बितेको १५ महिना यसरी सङ्कटग्रस्त बनेको लक्ष्मी विलास तेस्रो ब्याङ्क हो।

सन् २०१९ को सेप्टेम्बरमा पञ्जाब एण्ड महाराष्ट्र कोअपरेटिभ ब्याङ्क पीएमसी सङ्कटमा परेको थियो। करिब ६० करोड डलरको धोकाधडीपूर्ण कर्जा दिएको आरोपमा उक्त ब्याङ्कमाथि अनुसन्धान भइरहेको छ।

यही वर्षको मार्च महिनामा भारतको पाँचौँ ठूलो निजी ब्याङ्क पीएमसीको कारोबारमा निषेधहरू लगाइएको थियो जब उसले आफ्नो खराब कर्जा मेट्न आवश्यक पुँजी जुटाउन सकेन।

आरबीआईबाट निकै द्रुत गतिमा लक्ष्मी विलास र पीएमसी ब्याङ्कको सहायताका लागि कदमहरू चालेको छ। लक्ष्मी विलास ब्याङ्कलाई उसले सिङ्गापुरको सबभन्दा ठूलो ब्याङ्क डीबीएसमा गाभ्न सघायो भने यस ब्याङ्कमा चाहिँ पुँजी सेचन गरिदियो।

तर पीएमसी ब्याङ्कका बचतकर्ताहरू अझै राहतको पर्खाइमा छन्।

विरोध

तस्बिर स्रोत, Getty Images

तिनैमध्येकी एक हुन् ५३ वर्षीया विद्या मेर्वाड। उक्त ब्याङ्क सङ्कटमा परेको १४ महिनापश्चात् उनी अझै आफ्नी वृद्ध आमाले दिएको सापटीबाट घर चलाउन बाध्य छिन्। छोरोलाई जर्मनीमा पढाउने अनि छोराको बिहे गरिदिने उनका योजना स्थगित गर्नुपरेको छ।

“हाम्रो जीवनभरिको बचत एकैचोटीमा सखाप भयो। अब हामी कसरी बाँच्ने?”

हुन त आरबीआइले विस्तारै उक्त ब्याङ्कबाट बचतकर्ताले झिक्ने मिल्ने रकमको सीमा बढाइरहेको छ। तर मेर्वाड भन्छिन् उनीहरूको आवश्यकताभन्दा त्यो निकै कम छ।

भारतीय ब्याङ्क किन सङ्कटमा?

पछिल्ला कैयौँ वर्षहरूदेखि भारतीय ब्याङ्कहरू ठूलो मात्राको कर्पोरेट खराब कर्जाको मारमा परिरहेको छिपेको छैन। उनीहरूले दशौँ अर्ब डलर बराबर त्यस्ता खराब कर्जा गुमाइसकेका छन्।

कतिपय अर्थविद्हरू यसलाई ब्याङ्कहरूको ‘खराब कर्जाको विरासतको समस्या’ भन्ने गर्छन्। व्यापारहरूलाई गरिएका उदार कर्जा वितरणका कारण यस्ता खराब कर्जा बढ्दै गएको उनीहरू बताउँछन्।

आरबीआईका पूर्व गभर्नर रघुराम राजनले यस्ता खराब कर्जाको मुख्य कारण ब्याङ्कहरूमा देखिएको ‘अत्यधिक आशावाद र नाजायज उत्साह’ लाई मानेका छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, देशकै मुद्रा चलनचल्तीमा ल्याउन कति चुनौतीपूर्ण

भारतको सबभन्दा ठूलो सरकारी स्वामित्वको स्टेट ब्याङ्क अफ इण्डिया एसबीआईकी पूर्वप्रमुख अर्थविद् वृन्दा जागिरदार भन्छिन् वर्तमान कोभिड समस्याले भारतीय अर्थतन्त्र सुस्ताएको सन्दर्भमा यी पछिल्ला घटनालाई हेर्नुपर्छ।

“खराब कर्जाका अन्य कारणमा कमजोर कर्पोरेट शासन, अव्यवस्था तथा ब्याङ्कहरूभित्र कमजोर निगरानी प्रणाली रहेका छन्। यसलाई हरेक तहमा जबाफदेहीता बढाएर समाधान गर्न सकिन्छ,” उनले भनिन्।

यी घटनाका बाबजुद भारतीय ब्याङ्किङ प्रणाली स्वस्थ्य धरातलमा रहेको उनले बताइन्। सन् २०१६ मा भारतले ऋणदाताहरूलाई कर्जा फिर्ता लिन सघाउन ल्याइएको टाट पल्टनेसम्बन्धी पहिलो कानुन पारित गरेको थियो।

तर त्यसले बचतकर्ताहरूमा रहेका त्रास घटेको छैन।

एकजना व्यापार कार्यकारी जलजा मेहताले हालसालै दुईवटा धक्का बेहोर्नुपर्‍यो। उनले बचत गर्ने गरेको दुईवटै ब्याङ्क – पीएमसी र लक्ष्मी विकास – एकपछि अर्को गरी थला परे।

“अब त मलाई के लाग्छ भने ब्याङ्कमा खाली थोरै रकममात्र राख्नुपर्छ र बचतको ठूलो हिस्सा घरमै आफूसँगै राख्नुपर्छ,” मेहताले भनिन्।