कोरोना भाइरस अमेरिका: क्रिसमसपछि कोभिडको नयाँ लहर आउनसक्ने विज्ञ एन्थोनी फाउचीको चेतावनी

फाउची

तस्बिर स्रोत, Reuters

अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन्।

अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ।

उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन्।

अमेरिकाको अवस्था

अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ।

अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन्।

न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन्।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन्।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन्।

"यो लामो विदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ।"

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, "यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ"

अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढ्ता सङ्क्रमणका घटना पुष्टि भएका छन् भने २ लाख ८२ हजार पाँच सयको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार यी दुवै सङ्ख्या विश्वकै उच्च हुन्।

डा. फाउचीले के भने?

अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा. फाउचीले ज्यानुअरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

फाउचीले क्रिसमसका लागि आफ्नो चासो थ्याङ्सगिभिङका लागिजस्तै रहेको बताएका छन्।

सीएनएनसँग कुरा गर्दै उनले भने: "यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ।"

फाउचीलाई राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन्।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ

कसैले पनि बिदाको यामलाई बन्द गर्न वा बदल्न नचाहेको बताउँदै फाउचीले भने: "तर हामी निकै जटिल समयमा छौँ… हामी तथ्य र विवरणहरूबाट भाग्न सक्दैनौँ। यो सबैका लागि कठिन समय हो।"

थ्याङ्सगिभिङका बेला यात्रा नगर्न विज्ञहरूले गरेको आग्रहलाई दशौँ लाखले टेरेका थिएनन्।

कोभिडको प्रभाव अझै चर्को देखिँदा समेत उक्त बिदा पछिको आइतवार मार्च महिना यताकै सबैभन्दा धेरै हवाई यात्रु देखा परेका थिए।

'मृत्यु चार लाख पुग्नसक्छ'

आइतवार अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीएका पूर्वआयुक्त स्कट गोटलिबले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नजिक पुग्न सक्ने बताए।

उनले थपे: "अहिले जेजस्तो खराब अवस्था छ त्यसले अवस्था झन् धेरै बिग्रने देखिन्छ।"

अमेरिकामा बिहीवार फाइजरको खोपलाई स्वीकृति दिने ठानिएको छ।

र ट्रम्प प्रशासनले ज्यानुअरी महिनाको मध्यसम्ममा २ करोड ४० लाखलाई खोप दिने सोचेको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, र ट्रम्प प्रशासनले ज्यानुअरी महिनाको मध्यसम्ममा २ करोड ४० लाखलाई खोप दिने सोचेको छ।

र, ट्रम्प प्रशासनले ज्यानुअरी महिनाको मध्यसम्ममा २ करोड ४० लाखलाई खोप दिने सोचेको छ।

तर कसलाई पहिले दिने भन्नेमा भने प्राथमिकताहरू निर्धारण गरिनेछ।

यसैबीच न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले 'खोपहरू अन्य देशलाई पठाउनुअघि अमेरिकी नागरिकलाई प्राथमिकता दिने अवस्थाको सुनिश्चित गर्न' एउटा कार्यकारी आदेश जारी गर्ने योजनामा छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको खोप कहिले तयार हुन्छ?