हृदयाघातका कारण म्याराडोनाको निधन: शोक, श्रद्धा र सम्झना

तस्बिर स्रोत, Getty Images
फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो।
उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए।
आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, "तिमी सधैँ हाम्रो हृदयमा रहनेछौँ।"
उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।
तीन दिनको शोक
आर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।
राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले भनेका छन्, "तिमिले हामीलाई विश्वको उच्च तहमा पुर्यायौ, हामीलाई निकै खुशी दियौ। हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ।"

तस्बिर स्रोत, Mark Leech/Offside
म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए।
आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।
आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिनको लतमा परेर सङ्घर्ष गर्नु पर्यो। सन् १९९१ मा परीक्षणमा लागु पदार्थ पुष्टि भएपछि १५ महिना प्रतिबन्धमा परे।
व्यावसायिक फुटबलबाट उनले सन् १९९७ मा अवकाश लिएका थिए।
पेलेद्वारा भावुक श्रद्धाञ्जली
सन् २००८ मा उनी आर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक नियुक्त भए तर जर्मनीद्वारा क्वाटर फाइनलमा पराजित भएपछि सन् २०१० को विश्व कपपछि उनले त्यो जिम्मेवारी छाडदिए।
उनको निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ।

तस्बिर स्रोत, Reuters
ब्रजिलका ख्यातिप्राप्त खेलाडी पेलेले ट्वीटरमा लेखेका छन्, "कस्तो दुखद खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ।"
"भन्नुपर्ने धेरै छ, तर अहिलेलाई ईश्वरले परिवारका सदस्यलाई शक्ति प्रदान गरून्, मलाई आशा छ-एक दिन आकाशमा सँगै बल खेल्ने छौँ।"
श्रद्धा र प्रशंसा
विश्व फुटबलबाट म्याराडोनाको निधनमा शोक प्रकट गरिनुका साथै उनको प्रशंसा भइरहेको छ।
आर्जेन्टिनाका लियोनल मेस्सीले म्याराडोना सर्वकालिक रहेको टिप्पणी गरेका छन्।
क्रिस्टियानो रोनाल्डोले उनलाई फुटबलका अद्वितीय जादुगरको संज्ञा दिए।
आर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप जिताउन सघाउने महान् खेलाडीको हृदयाघातपछि मृत्यु
३४ गोलआर्जेन्टिनाका लागि ९१ खेलमा
२ चोटिआर्जेन्टिनाको कप्तानका रूपमा विश्वकप फाइनलसम्म
४ वटाविश्वकप फुटबलमा सहभागी
२ चोटिनापोलीलाई सिरी ए उपाधि
इटलीमा म्याराडोनाले आफ्नो उत्कृष्ट क्लब फुटबल खेलेका नापोलीका प्रशंसकहरूले पनि सडकमा उत्रिएर श्रद्धा व्यक्त गरिरहेका छन्।
रोममा पोप फ्रान्सिसले म्याराडोनालाई देशवासी सरह स्नेहपूर्व सम्झना गर्ने बताएका छन्।
सडकमा शोक
आर्जेन्टिनाका जनता आफ्ना सम्भवत: सबैभन्दा प्रख्यात छोरा महान फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनको शोकमा परेका छन्।
आफ्नो विशिष्ट प्रदर्शनका कारण सन् १९८६ को विश्वकपमा देशको जीत सुनिश्चित गरिदिएका ती नक्षत्र गुमाउनु पर्दाको शोक प्रकट गर्न मानिसहरू सडकमा उत्रिएका छन्।
राजधानी बेनोस आइरिजको केन्द्रभाग र म्यारोडोनाले खेलेको रङ्गशाला आसपासमा मानिसहरूको भीड छ।
उनलाई इतिहासमा महान फुटबल खेलाडीको रूपमा स्मरण गरिने बताउँदै बीबीसीका एकजना संवाददाता भन्छन्, "तर उनी त्योभन्दा धेरै थिए, लागु औषधको प्रयोग, थुप्रै कान्डहरू र तानाशाह राजनीतिज्ञहरूसँगको मित्रताका कारण उनी देव र दैत्य दुवै थिए।"
आफ्नो खेल जीवनभरी उनले विभिन्न आरोप र पछिल्लो जीवनकालमा शारीरिक अस्वस्थतासँग जुध्नु परेको थियो।








