नासा अन्तरिक्ष अभियानः चार अन्तरिक्षयात्री लिएर गएको ड्र्यागन क्याप्स्यूल स्पेस स्टेशनसँग जोडियो

अन्तरिक्षयात्री

तस्बिर स्रोत, NASA

पृथ्वीबाट सोमवार उडेका चार अन्तरिक्षयात्रीहरू अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएस पुगेका छन्।

उनीहरू चढेको स्पेसएक्स ड्र्यागन क्याप्स्यूल उक्त केन्द्रको अग्र भागसँग चरणबद्ध रूपमा जोडिएको थियो।

माइक हप्किन्स, श्यानन वाकर, भिक्टर ग्लोभर र सोइची नोगुची अबको छ महिना अन्तरिक्षमा बस्नेछन्।

आईएसएसमा पहिला नै तीन अन्तरिक्षयात्रीहरू केट र्‍युबिन्स, सेर्गेइ रिजिकोभ र सेर्गेइ कुड-स्वेर्च्कोभ थिए।

अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सात व्यक्ति त्यहाँ हुँदा सूक्ष्मगुरुत्व विज्ञानको काम तीनगुना बढी गर्न सकिन्छ।

आईएसएस पृथ्वीबाट ४१० किलोमिटर माथि अन्तरिक्षमा छ।

ड्र्यागन र आईएसएसबीच भएका ढोकाहरू खोल्नुअघि आगन्तुक समूहले सील परीक्षण र चाप समानीकरणका लागि केही समय कुर्नुपर्नेछ।

त्यसपछि उनीहरूलाई त्यहाँ स्वागत गरिनेछ अनि उनीहरूले पृथ्वीमा सञ्चारमाध्यमसँग कुराकानी गर्नेछन्।

अन्तरिक्षयात्री

तस्बिर स्रोत, NASA

अनुभूति

त्यहाँ पुग्नुअघि चार अन्तरिक्षयात्रीले आफ्नो क्याप्स्यूलबाट भिडिओ देखाउँदै विभिन्न भागको वर्णन गरेका थिए।

“यो अविश्वसनीय अनुभव हो। अहिलेसम्म गज्जब लागिरहेको छ,” टोली नेता हप्किन्सले भने।

“हामी छ महिना लामो अभियानको २१ घण्टामा छौँ। त्यसैले हामी उत्साहित छौँ।”

कुनै प्रमाणित र व्यावसायिक मानव यातायात प्रणालीबाट आईएसएसमा आलोपालो गर्न गएका अन्तरिक्षयात्रीहरूको यो पहिलो समूह हो।

अन्तरिक्षयात्री

तस्बिर स्रोत, NASA

नासाको ध्यान

उनीहरू फ्याल्कन रकेट र ड्र्यागन क्याप्स्यूलको प्रयोग गरेर पृथ्वीबाट अन्तरिक्षमा गएका हुन्। क्यालिफोर्नियास्थित स्पेसएक्स कम्पनीले नासालाई उक्त सेवा उपलब्ध गराउँछ।

यसपछि उक्त कम्पनीले नासाका थप पाँचवटा टोलीलाई आईएसएसमा आलोपालो गर्न लग्नेछ।

अन्तरिक्षयात्रीलाई पठाउन नासाले पहिला आफ्नै साधन प्रयोग गर्थ्यो। अहिले उसले बाह्य संस्थाबाट शुल्क तिरेर सेवा लिन थालेको छ।

तत्कालका लागि सशुल्क सेवा लिएको नासाको ध्यान चन्द्रमामा फेरि मानव पठाउने रकेट निर्माणमा केन्द्रित छ।

आईएसएस

तस्बिर स्रोत, NASA

योजना

हप्किन्सको टोलीसँग अन्तरिक्षमा विभिन्न अनुसन्धान गर्ने योजना छ।

त्यसैअन्तर्गत मानव अङ्गको आकृति र कामको नक्कल गर्ने तन्तुयुक्त चिपको परीक्षण गरी माइक्रोग्र्याभिटी वा सूक्ष्मगुरुत्वको मानव स्वास्थ्य र रोगमा कस्तो प्रभाव पर्छ भनेर अध्ययन पनि गरिनेछ।

उक्त टोली आईएसएसबाट कम्तीमा चार पटक बाहिर निस्किनेछ।

आईएसएसमा छ महिना बस्दा ती अन्तरिक्षयात्रीहरूले धेरै अन्तरिक्षयानहरू आएको र गएको देख्नेछन्।

तीमध्ये बोइङ एरोस्पेस कर्पोरेशनको स्टारलाइनर क्याप्स्यूल पनि हुनेछ।

स्पेसएक्स ड्र्यागनजस्तै स्टारलाइनर पनि नासा र उससँग सहकार्य गरिरहेका निकायहरूलाई व्यावसायिक रूपमा अन्तरिक्षयात्रीहरू ल्याउन र लैजान प्रयोग गरिएको सेवा हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरिन्छ अन्तरिक्षमा शौच