अमेरिका निर्वाचन मतगणना परिणाम: नेपालीलाई किन चासो, नेपालले के सिक्ने

बाइडन र ट्रम्प

तस्बिर स्रोत, GETTY/EPA

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

अमेरिकी राष्ट्रपतीय निर्वाचनबारे पूरा विश्वमा जस्तै नेपाल र नेपालीको चासो पनि बढेको पाइन्छ।

अमेरिकामा रहेका नेपाली मूलका मतदाताहरू प्रत्यक्ष रूपमा चुनावमा संलग्न हुने गरेका छन्। उनीहरूले अमेरिकी राजनीतिमा आफ्नो सरोकार देखाउने गरेका छन्।

अमेरिकाको उचारचढावपूर्ण सम्बन्ध रहेको चीनसँग नेपालको सीमा जोडिएको र भूराजनीतिक अवस्थाले गर्दा उक्त चुनावप्रति कूटनीतिक सरोकार पनि राख्ने गरेको पाइन्छ।

अनि नेपाल जस्तो देशले अमेरिकामा हुने गरेको चुनावी प्रक्रिया र त्यसमा प्रयोग हुने प्रविधिबाट शिक्षा लिनुपर्ने मत राख्नेहरू पनि छन्।

प्रविधिको प्रयोग: 'महँगो चुनावको विकल्प'

पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती सन् २०१२ को अमेरिकी चुनावमा पर्यवेक्षक थिए। त्यहाँ अपनाइने प्रक्रिया, विधि र प्रविधिले उनलाई लोभ्याएको छ। उनको विचार:

लोकतन्त्रको लोकतान्त्रिकीकरण गर्ने सन्दर्भमा ती तीन कुरा अन्त्यन्त महत्त्वपूर्ण छन्। त्यहाँ प्रहरी देखिँदैन। मतदाताको लाइन पनि भिडभाड हुँदैन। मारामार नहुने, शान्त वातावरणमा चुनाव हुन्छ। धेरै मानिसले पहिले नै भोट हालिसक्छन्।

व्यवस्थापनमा धेरै खर्च र चुनौती बेहोर्नुपर्ने हामीले त्यो व्यवस्थापन सिक्नुपर्छ। अमेरिकामा पनि कतिपय भूगोल त्यति सहज छैन। यातायातको साधन कम भएको र असजिलो अवस्था रहेको ठाउँ भएका देशमा प्रविधिको प्रयोग निकै लाभप्रद हुन्छ। विदेशमा बस्नेलाई पनि मताधिकार दिन सकिन्छ।

जहाँसुकैबाट आफ्नो क्षेत्रको निम्ति भोट दिन सक्ने अवस्था हुनसक्छ। जस्तो जुम्लाको मान्छेले काठमाण्डूमा रहेर जुम्लाको निम्ति भोट हाल्न सक्ने परिस्थिति सिर्जना भएको छ। त्यस्तै अमेरिकामा निर्वाचन आयोगले चुनावको व्यवस्थापन गर्दैन। सरकारले चुनाव गराउँछ।

तर आयोगले चुनावमा पार्टी वा उम्मेदवारले खर्च ठिकसँग गर्‍यो कि गरेन वा बदमासी भयो कि भएन भन्ने हेर्छ। उम्मेदवार र पार्टीले गर्ने खर्चका साथै आयोगले चुनाव व्यवस्थापन गर्दा हुने खर्च निकै महँगो हुँदैछ। यस्तो स्थितिमा नेपालमा लोकतान्त्रिक विधि नै धान्न गाह्रो हुन लागेका बेला अमेरिकी चुनावबाट त्यो सिक्न उत्तिकै महत्त्वपूर्ण छ।

मतदाता

तस्बिर स्रोत, EPA

तिब्बतबारे अमेरिकी मन्त्रीको चासो

अमेरिकाका लागि पूर्वराजदूत सुरेश चालिसेका विचारमा विश्वकै ठूलो अर्थतन्त्र र सैन्यशक्तिराष्ट्र भएकाले अमेरिकी चुनावप्रति नेपालको पनि चासो रहनु स्वाभाविक हो। किन त? उनको अनुभव र दृष्टिकोण:

विगतको चुनावपछि संसारलाई प्रभाव पार्ने कुरा भए। जलवायु परिवर्तन, राष्ट्रसङ्घीय मानवअधिकार परिषद् र विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका पछि हट्यो। त्यसले साना ठूला सबैलाई असर गर्छ तर सानालाई बढी गर्छ। नेपाल जस्ता देशहरूले जलवायु परिवर्तनदेखि क्षेत्रीय र विश्वस्तरका तनावलाई मत्थर पा र्ने र आर्थिक समृद्धिलाई सहयोग पुर्‍याउन सक्ने नेतृत्व आओस् भन्ने इच्छा राख्नु स्वाभाविक हो।

अमेरिका र चीनको प्रतिस्पर्धा वा मनमुटावले नेपाल वा यस क्षेत्रमा प्रभाव नपरोस् भन्ने चाहना पनि रहन्छ। तर उनीहरूको नीतिले त्यसमा खासै फरक पार्छ जस्तो लाग्दैन। नेपालको कम्युनिस्ट पार्टीको सरकार अलिकति चीनप्रति ढल्केको छ भन्ने विश्व मान्यता पाइन्छ। तैपनि नेपाल विशेषको लागि ट्रम्प सरकारले समेत नराम्रो असर गर्ने केही गरेको छैन। हामी सवधानीपूर्व अघि बढ्नुपर्ने खाँचो भने छ।

एउटा उदाहरण: गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार थियो, म अमेरिकामा राजदूत थिएँ। नेपालमा तिब्बत पक्षीय आन्दोलन भयो। आत्मदाहको कुरा पनि आएको थियो। मलाई मानवअधिकार मामिला हेर्ने मन्त्रीले बोलाउनुभयो। नेपाल प्रहरी तिब्बतीहरूप्रति कठोर भयो भन्ने उहाँहरूको भनाइ थियो।

मैले भनेः हामीले त्यस्तो हुन दिँदैनौँ, रोकथामका उपायहरू अपनाउँछौँ तर चीनसँगको नेपालको सम्बन्धको संवेदशीलता बुझ्नुपर्छ भन्दा मन्त्रीले सहमति जनाउनुभएको थियो। त्यसैले अमेरिकी मन्त्री, सरकार वा प्रशासन रिपब्लिकन होस् वा डेमोक्र्याट जो आए पनि हाम्रो सीमा बुझेका छन्।

धेरै ठाउँमा भोटिङ मशीनबाट मतदान भएको थियो

तस्बिर स्रोत, Getty Images

अमेरिकामा रहेका नेपालीको चासो किन?

अमेरिकामा रहेका नेपाली र त्यहाँका मतदाता भइसकेका गैरआवासीय नेपाली दुवैमा यसपटकको चुनावमा चासो बढेको त्यहाँस्थित पत्रकार अनिल अधिकारी (इकागज डट कमसँग सम्बद्ध) बताउँछन्। कारणबारे उनको बुझाइ:

जो बाइडनले चुनाव जितेपछि आप्रवासीका निम्ति सहज नीति ल्याउँछन् भन्ने बुझाइका कारण नेपालीहरूको चासो यो चुनावमा बढेको हुनुपर्छ।

अमेरिकाको स्थायी बासिन्दाको मान्यता पाउन प्रक्रिया थालेकाहरू र ग्रीन कार्ड पाइसकेकाहरूमा पनि चुनावप्रति सरोकार देखिन्छ। किनकि ट्रम्पको तुलनामा बाइडनको जितपछि त्यसमा नरम नीति लिने अनुमान गरेको पाइन्छ।

त्यो किन पनि भने पछिल्लो पटक राष्ट्रपति ट्रम्पले डीभी रोक्ने लगायतका कार्यक्रम ल्याउने नीति अघि सारेका बेला डेमोक्र्याटिक पार्टीले भने आप्रवासी नीतिप्रति लचिलो दृष्टिकोण राखेर कार्यक्रम गरेको देखिएको छ।