नेपालमा रेलमार्ग: विस्तार र विकासका अप्ठेरा के, सम्भावना कति
नेपालमा पछिल्ला केही वर्षहरूमा रेलमार्ग विस्तार र रेल सञ्चालन सम्बन्धी विषयबारे चर्चा चुलिए पनि अपेक्षा अनुसार काम हुन नसकेको एक पूर्वाधारविद्ले बताएका छन्।
रेलमार्गको औचित्य भए पनि विभिन्न विषयमा सरकार आँफै स्पष्ट हुन नसक्दा मुलुकको ठूलो स्रोत जोखिममा पर्न सक्ने पूर्वाधारविद् सूर्यराज आचार्यले बीबीसी नेपाली सेवालाई बताए।
तर रेल विभागबाट हालसालै सेवा निवृत्त भएका पूर्व महानिर्देशक बलराम मिश्र नेपालका लागि रेल नयाँ प्रविधि भएकाले यसबारे क्रमिक रूपमा काम भइरहेको बताउँछन्।
नेपालमा हाल पूर्व-पश्चिम रेलमार्गदेखि, भारत र चीनसँग जोडिने रेलमार्गसम्मका परियोजनाबारे चर्चा चुलिएको छ।
त्यसबाहेक विभिन्न स्थानमा मेट्रो रेलदेखि मोनो रेल चलाउने भन्दै राजनीतिक दलहरूले चुनावी घोषणापत्रमै उल्लेख गरेपछि जनअपेक्षा पनि चुलिएको छ।
समस्या के हो?
तर लामो अन्तरालपछि केही समयअघि भारतबाट खरिद गरिएको रेल नेपालमा भित्रिए पनि आवश्यक कानुनी तथा भौतिक पूर्वाधारको कमीका कारण त्यसलाई पाल ओढाएर राख्नु परेको छ।

तस्बिर स्रोत, DEPARTMENT OF RAIL
आचार्यका अनुसार नेपालमा रेलमार्ग निर्माण र रेल सञ्चालनका विषयमा केही आधारभूत समस्या देखिन्छ।
त्यसलाई सल्टाउनका लागि तत्काल राजनीतिक तहमा रेलको औचित्यदेखि गेज, गति अनि प्रविधि लगायतका विषयमा छलफल गरेर स्पष्ट खाका तयार पार्न जरुरी छ।
"प्राविधिक तहमा हाम्रो रेल सञ्जालको योजनाबारेनै गम्भीर गृहकार्य भएको छैन। रेल, सडक र हवाई मार्गको एकीकृत गुरुयोजना तयार पार्न आवश्यक छ," उनले भने।
रेलको विकास सहरको विकाससँग नजोडिएसम्म प्रभावकारी हुन नसक्ने मत राख्ने उनी जनशक्ति र संस्थागत विकासमा पनि ध्यान दिइनुपर्ने ठान्छन्।
अपेक्षा बढी
उनले भने, "हामीले यदि चीन र भारतले रेल बनाइदेलान् र चालकदेखि मर्मत सम्भार समेत उतैबाट आउने भन्ने आशा गर्यौँ भने त्यो हामीले धान्न सक्दैनौँ, यो प्रविधिमा हामी नजाऔँ।"

तस्बिर स्रोत, PRADEEP BASHYAL/BBC
तर रेल विभागबाट सेवानिवृत मिश्र नेपाल रेलमार्ग विकास अनि प्रविधिका विषयमा बामे सर्ने क्रममा रहेको हुँदा सबै कुरा अहिले नै भइहाल्नुपर्छ भन्ने किसिमले सोच्न नहुने बताउँछन्।
रेलमार्गबारे राष्ट्रिय बहस गर्ने र एकीकृत गुरुयोजना तयार पार्ने विषयमा उनको विमति छैन। तर विभिन्न क्षेत्रमा क्रमिक रूपमा काम भइरहेको जनाउँदै उनी निकट भविष्यमा रेलको राम्रो पद्धति स्थापित गरेर विकासको बाटोमा लग्न सकिने गरेर काम भइरहेको बताउँछन्।
उनी भन्छन्, "रेल विभागले अहिलेको आवश्यकता अनुसार गुरुयोजना बनाएको छ र त्यसै अनुसार अध्ययन भइरहेको छ। जनशक्ति तयार पार्नेदेखि विभिन्न विषयमा तयारी भइरहेको छ।"
भारतबाट खरिद गरिएको रेल पालले छोपेको विषयलाई लिएर सरकारको तीव्र आलोचना भइरहेको छ। तर मिश्रले भने, "कोभिडका कारण थोरै तयारी गर्न सकिएन। कानुनी कारणले गर्दा रेल ल्याइहाल्नुपर्ने अवस्था थियो। छ महिनादेखि त्यो सीमा नजिकै राखिएको थियो।"
तर आचार्य एक दशकअघि सम्झौता भएको रेल छ महिनाअघिबाट सुरु भएको महामारीका कारण रोकियो भन्नुको औचित्य माथि प्रश्न गर्छन्।
नयाँ चीज भएकाले विज्ञहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने अवस्था भए पनि झन् नकारात्मक प्रचार गरिएकोमा मिश्रको विमति छ।
मिश्र र आचार्यबीचको बहस सुन्न माथिको तस्बिरमा रहेको प्ले बटन थिच्नुहोस्।