चिनियाँ सेनाको प्रचारात्मक भिडिओमा 'हलीवुड चलचित्रका दृश्य'

भिडिओ सप्ताहान्तमा सार्वजनिक गरिएको थियो

तस्बिर स्रोत, PLA AIRFORCE ONLINE

तस्बिरको क्याप्शन, भिडिओ सप्ताहान्तमा सार्वजनिक गरिएको थियो

बम हमलाको अनुकरण गरिएको चिनियाँ सेनाको एउटा प्रचारात्मक भिडिओमा 'ट्रान्सफर्मर्स' र 'द रक'जस्ता प्रख्यात हलीवुड चलचित्रका दृश्य प्रयोग गरिएको विवरणहरू सार्वजनिक भएका छन्।

उक्त भिडिओमा प्रशान्त क्षेत्रमा अवस्थित अमेरिकी भूभाग गुआममा रहेको एउटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरिएको नक्कल देखाइएको छ।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्ममा उक्त भिडिओ करिब ५० लाख पटक हेरिएको छ।

तर हलीवुड चलचित्रको दृश्य प्रयोग गरिएको भन्दै कैयौँ प्रयोगकर्ताहरूले त्यसको उपहास गरेका छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया

"यो सौभाग्यको कुरा हो कि चीनमा प्रतिलिपि अधिकारको विषयमा समस्या छैन," एक जनाले कटाक्ष गर्दै लेखेका छन्।

"अर्को अमेरिकी चलचित्रबाट चोरी? म मात्र ... हाहा," अर्का प्रयोगकर्ताले लेखेका छन्।

गड्स अफ वार - अट्याक भनिएको दुई मिनेट लामो भिडिओ चीनको वायुसेनाले शनिवार सार्वजनिक गरेको थियो।

नाटकीय सङ्गीत भएको उक्त भिडिओमा एच-६ विमानले अमेरिकी सैन्य अड्डामा आक्रमण गरिरहेको देखाइएको छ।

"हामी मातृभूमिको हवाई रक्षक हौँ, हामीसँग सधैँ मातृभूमिको आकाशको सुरक्षा गर्ने सक्ने आत्मविश्वास र क्षमता छ," एअर फोर्सले भिडिओसँगै लेखेको छ।

तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त भिडिओमा प्रयोग भएका नाटकीय दृश्यहरू ट्रान्सफर्मर: रिभेन्ज अफ द फलन, द रक र हर्ट लकर आदि चलचित्रबाट झिकिएको पत्ता लगाए।

चिनियाँ सेनाको भनाइ के छ

चिनियाँ सेनाले भने ती दाबीबारे सार्वजनिक रूपमा प्रतिक्रिया जनाएको छैन।

तर सेनानिकट एउटा स्रोतले द साउथ चाइना मोर्निङ पोस्ट पत्रिकालाई सेनाको प्रचार विभागमा हलीवुड चलचित्रबाट "साभार गर्नु" सामान्य अभ्यास रहेको बताएका छन्।

"विभागका सबैजसो अधिकारीहरू हलीवुड चलचित्र हेर्दै हुर्किएका छन्। त्यस कारण अमेरिकी चलचित्रहरूमा सबैभन्दा लोभलाग्दो दृश्य हुन्छन् भन्ने उनीहरूको मस्तिष्कमा छ," उक्त स्रोतले भनेको बताइएको छ।

एक अमेरिकी उच्च अधिकारीले ताइवान भ्रमण गरेसँगै तनाव चुलिएका बेला सेनाले त्यस्तो भिडिओ सार्वजनिक गरेको हो।

चिनियाँ सेनाले ताइवाननजिकै सैन्य अभ्यास समेत गरेको थियो। चीनले ताइवानलाई आफ्नै भूमि मान्छ।

सिङ्गापुरको इन्स्टिट्यूट अफ डिफेन्सका एन्ड स्ट्रटीजिक रिसर्च फेलो कोलिन कोले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार उक्त भिडिओ अमेरिकीहरूलाई चेतावनी दिनका लागि प्रयोग गरिएको हो।

उनका अनुसार ताइवान होस् वा दक्षिण चिनियाँ सागर उक्त क्षेत्रमा तनाव उत्कर्षमा पुगे सुरक्षित मानिएको गुआमजस्तो क्षेत्र पनि खतरामा पर्न सक्ने सङ्केत गरिएको छ।