बेइरुत विस्फोट: बन्दरगाहका अधिकारीहरू नजरबन्दमा; उद्धार कार्य जारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, बेइरुतको डरलाग्दो विस्फोट: दर्जनौँको मृत्यु, हजारौँ घाइते

बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ।

मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ।

राष्ट्रपति मीसेल आउनले असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन्।

कारण

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर "त्यस्तो नभएको" बताएका छन्।

"विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ," उनले भने।

विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ।

बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।

लेबनन

तस्बिर स्रोत, EPA

यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन्।

उनीहरूले पछिल्लो घटना 'नि:सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक' बताएका छन्।

अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

लेबनन

तस्बिर स्रोत, EPA

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए।

बन्दरगाहका महाप्रबन्धकले अदालतले उक्त रसायन गोदाममा भण्डारण गर्न आदेश दिँदा आफूहरूलाई त्यो खतरनाक हुन सक्छ भन्ने थाहा भएको तर "यति विधि खतरा होला भन्ने भने नठानेको" ओटीभीलाई बताए।